काठमाडौं । बच्चाका लागि बुवाआमाभन्दा नजिकको संरक्षक को होला र ? तर धनुषामा भएको घटनाले भने यो कुरालाई गलत साबित गर्न खोजेको छ । सात वर्षीय बालक आफ्नै बुवा र मामाबाट अपहरणपछि मुक्त भएका छन् ।

प्रहरीले अपहरित बालकको ७ घण्टाभित्र सकुशल उद्धार गरेको हो । अपहरणमा संलग्न बालकका बुवा र मामासहित तीन जना पक्राउ परेका छन् ।

धनुषाको नगइराइन नगरपालिका–६ जटहीबाट शनिबार बिहान अपहरणमा परेका ७ वर्षीय बालकको जनकपुरधामस्थित एक होटलबाट शनिबारै राति उद्धार गरिएको प्रहरीले जनाएको छ ।

जटहीका रमेश दासका ७ वर्षीय छोरा चन्दन शनिबार दिउँसो १ बजेबाट हराएका थिए । साँझमा उनको घरमा बच्चालाई अपहरण गरिएको भन्दै एक करोड फिरौती मागिएको थियो ।

‘फिरौती माग गरिएपछि बच्चा अपहरणमा परेको जानकारीमा आएको र लगत्तै खटिएको प्रहरी टोलीले बच्चालाई जनकपुरधाममा फेला पारेर उद्धार गरिएको प्रदेश प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले बताए ।

बच्चालाई जनकपुरधामको माछा बजार नजिकै राखिएको अवस्थामा उद्धार गरिएको छ । बच्चाको अपहरणमा संलग्न भएका उनका दुई जना मामा पक्राउ परेका छन् । लक्ष्मेश्वर दास र अर्का एक जनाको नाम खुल्न सकेको छैन् ।

प्रहरीले अपहरित बालकका पिता रमेशलाई पनि पक्राउ गरेको छ । बच्चा अपहरणमा उनको पनि संलग्नता भएको आशंकामा उनलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाबारे अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बालकको अपहरण भएको सम्बन्धमा थप जानकारी दिन प्रहरीले आइतबार जिल्ला प्रहरी कार्यालय, धनुषामा पत्रकार सम्मेलन गर्दैछ ।

तपाईको प्रतिक्रिया