काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज (सोमबार) सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जाँदैछन् । दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न प्रधानमन्त्री ओली कञ्चनपुर जान लागेका हुन् ।

प्रधानमन्त्री ओलीले बिहान साढे ११ बजे औद्योगिक क्षेत्र शिलान्यास गर्ने कार्यक्रम रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले जानकारी दिए ।

सरकारले यसै साता चार औद्योगिक क्षेत्रको शिलान्यास गर्ने कार्यक्रम तय गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले ११ गते बाँकेमा नौबस्ता औद्योगिक क्षेत्रको शिलान्यास गर्ने कार्यक्रम तय गरिएको छ ।

प्रतिनिधि सभा भंग गरेयता यसअघि प्रधानमन्त्री ओली पुस २५ गते नेकपा ओली समूह सुदूरपश्चिम प्रदेश कमिटीले धनगढीमा आयोजना गरेकोे आमसभालाई सम्बोधन गर्न गएका थिए ।

यसैगरी अर्थमन्त्री विष्णु पौडेलले १३ गते रुपन्देहीमा मोतीपुर औद्योगिक क्षेत्र र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले नै १७ गते मकवानपुरमा मयुरधाप औद्योगिक क्षेत्रको शिलान्यास गर्ने कार्यक्रम छ । यसैगरी प्रधानमन्त्री ओलीले गृहजिल्ला झापाको दमकमा चीन–नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यास कार्यक्रम तय गरिएको छ ।

तपाईको प्रतिक्रिया