दाङ। दाङ देउखुरीको राप्ती नदीमा प्रधानमन्त्री केपी शर्मा ओलीले गएको माघ १२ गते नेपालको दोस्रो लामो पक्की पुलको उद्घाटन गर्दा राखिएको शिलालेख तोडफोड भएको छ । सिसहनिया–महादेवा जोड्ने पक्की पुलको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले शिलालेख अनावरणसमेत गरेका थिए ।

पुल उद्घाटन भएको एक महिना नपुग्दै शिलालेख तोडफोड भएको छ । कसले र किन शिलालेख तोडफोड गर्यो भन्ने बारेमा आधिकारीक जानकारी नभएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख राजकुमार भट्टले शिलालेख तोडफोड गरेको बारेमा अनुसन्धान सुरु भएको बताए ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ साल मंसिर २२ गते शिलान्यास गरेका थिए। झण्डै एक अर्ब रुपैयाँको लागतमा बनेको यो पुल चार वर्षभित्र बनाइसक्ने सम्झौता भएको थियो ।

तर, पुल पूर्वनिर्धारित समयभन्दा चार महिना अगाडि नै निर्माण सम्पन्न भएको थियो । यो पुलको लम्बाइ ८६० मिटर र चौडाइ साढे १० मिटर छ । शिलालेखमा लेखिएको विवरणमा त्रुटि भएको विषयमा उद्घाटनको दिन महादेवा क्षेत्रका स्थानीयबासिन्दाले सुझाव दिएका थिए । पुल महादेवाको क्षेत्रमा बनेको तर, पुलको नाम शिलालेखमा सिसहनिया पुल लेखिएको भन्दै गुनासो आएको थियो ।

 

तपाईको प्रतिक्रिया