कञ्चनपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायालयप्रति आफ्नो पूर्ण विश्वास र सम्मान रहेको बताएका छन् । दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न आज कञ्चनपुर पुगेका ओलीले अदालतलाई सधैँ सम्मान गर्ने दोहोर्‍याए ।

शनिबार विराटनगरमा गरेको सम्बोधनलाई लिएर केहीले हौवा फिँजाएको भन्दै ओलीले सर्वोच्चले संसद् पुनःस्थापना गरे आन्दोलन गर्ने भनेर आफूले नभनेको पनि प्रस्ट पारे । आफूले त्यो विषयमा कसैलाई धम्की नदिएको भन्दै ओलीले अदालतलाई धम्की दिने बानी आफ्नो नभएको बताए । उनले भने, ‘हामी न्यायालयमा विश्वास गर्छौं ।’

आफूले लोकतन्त्र बलियो पार्ने र देश बनाउने आन्दोलन गर्ने भनेको तर ढुंगामुढा र नाराजुलुश गर्ने आन्दोलनका रूपमा अफवाह फैलाइएको प्रष्ट्याए ।

भागबण्डाको राजनीति र अस्थिरताको खेल शुरू गर्न पाइन्छ भनेर केही संसद पुनस्स्थापनाको खेलमा लागेको प्रधानमन्त्रीले बताएका छन् । ‘अब देश चुनावतिर गइसकेको छ । तपाईंहरू सबै चुनावको तयारीमा लाग्नुस्’, ओलीको भनाइ थियो ।

भागरथी भट्टको हत्यामा संलग्नलाई चाँडै पक्राउ गरेर देखाएको प्रहरी बहादुरीप्रति उनले प्रशंसा गरे । ओलीले भने, ‘अब निर्मला पन्तको हत्यारालाई पनि चाँडै कानुनी दायरामा ल्याइनेछ ।’

 

तपाईको प्रतिक्रिया