काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सर्वाेच्च अदालतको फैसला कार्यान्वयन गर्दै अघि बढ्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा आज बसेको स्थायी कमिटी बैठक बैठकले अदालतको फैसला कार्यान्वयन गर्ने निर्णय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

‘संसद अधिवेशन निर्धारित समयमै आह्वान गर्ने निर्णय बैठकले गरेको छ, सर्वाेच्चको फैसलाले दिएको समयसीमाभित्रै बैठक बस्छ,’ बैठकको निर्णय सार्वजनिक गर्दै परराष्ट्रमन्त्रीसमेत रहेका प्रवक्ता ज्ञवालीले भने ।

सर्वाेच्च अदालतको संबैधानिक इजलाशले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय मंगलबार बदर गर्दै १३ दिनभित्र प्रतिनिधि सभा बैठक बोलाउन आदेश दिएको थियो । नेकपा शक्ति पृथकिकरण, लोकतन्त्रका आधारभूत मूल्य मान्यता र विधिको शासनमा विश्वास गर्ने पार्टी भएकोले अदालतको फैसला कार्यान्वयन गर्न ज्ञवालीले जानकारी दिए ।

‘हामीले बनाएको संविधानको अन्तिम व्याख्याताको रुपमा सर्वोच्च अदालतलाई स्थापित गरेको छ, हिजो सर्वोच्च अदालतले गरेको फैसलालाई कार्यान्वयन गर्ने, सम्मान गर्ने निर्णय गरेका छौं,’ प्रवक्ता ज्ञवालीले भने । फैसला अपेक्षित नै हुन्छन् भन्ने नभएको र गरिएका फैसलाले सधैभरी वाञ्छित परिणाम दिन्छन् भन्ने नभएको पनि उनले स्पष्ट पारे ।

‘जनताको चाहना–स्थायी सरकार स्थायी नीतिहरु र मुलुकमा वर्गीय राजनीतिक स्थायित्व, यी कुरालाई अदालतको फैसलाले बल पुर्याउँछ वा मुलुक अस्थीरतातर्फ जान्छ भन्ने हाम्रो चिन्ता हो,’ बैठकको निर्णय सुनाउँदै ज्ञवालीले भने ।

बैठकले पार्टी केन्द्रीय कमिटी र नेकपा संसदीय दलको बैठक बोलाउने निर्णय पनि गरेको छ । संसदीय दलको नेता भएको हैसियतले प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठक नै आधिकारिक हुने जानकारी पनि उनले दिए ।

तपाईको प्रतिक्रिया