काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकता सम्बन्धी मुद्दाको अन्तिम फैसला यही फागुन २० गते हुने भएको छ । ऋषि कट्टेलले दायर गरेको रिटमाथिको सुनुवाई आज सकिएको छ ।

न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा सुनुवाईपछि निर्णय सुनुवाईको मिति तोकिएको हो । कट्टेल २०७५ मंसिरमा नेकपा आफ्नो नाममा दर्ता रहेको भन्दै निर्वाचन आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको पार्टीलाई आधिकारिकता दिएको विरोधमा रिट दायर गरेका थिए ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी बनेको थियो । सोही नामको पार्टी त्यसअघि नै निर्वाचन आयोगमा ऋषि कट्टेल अध्यक्ष रहेको दर्ता रहेकाले पछि ब्राकेटमा नेकपा राखिएको थियो ।

ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपाको दर्ता खारेज गर्न माग गर्दै कट्टेलले निर्वाचन आयोगमा उजुरी दिएकोमा आयोगले उनको दाबी खारेज गरेपछि कट्टेल अदालत गएका थिए । अदालतमा पटक पटक सुनुवाई स्थगित हुँदै आएकोमा दुई वर्षपछि अब फैसला हुने भएको छ ।

अदालतले कट्टेलको पार्टीलाई आधिकारिकता दियो भने हाल राजनीतिक रुपमा विभाजित तर कानूनी रुपमा एकै रहेको नेकपाको भविष्य के हुन्छ ? यो प्रश्न पनि उठेको छ ।

तपाईको प्रतिक्रिया