उत्तरपूर्वी मोरङको पथरीशनिश्चरे नगर हरियाली तरेलीबीचको रमणीय स्थल हो । जहाँ आफैँमा सृजनशीलताको उर्जा दिने पर्यावरणीय वातावरण छ । वन तथा सिमसारयुक्त पर्यटनको प्रचुर सम्भावनाबीच सृजनशीलताका गतिविधिमा पनि यो सक्रिय छ । साविक पथरी, शनिश्चरे र हसन्दह गाउँ विकास समिति मिलेर बनेको कृषिमा आधारित नगरपालिका सृजनाको क्षेत्रमा पनि मलिलो छ । अर्थात् भाषा, कला, साहित्य र संस्कृतिमा कम धनी छैन ।

निगुरो र सिमसाग पाइने ठाउँको चिनारी मात्र छैन यहाँ पञ्चायती व्यवस्था विरुद्धको संघर्षमा सर्जकहरू अग्रसर बनेको अवस्थाबाट यस क्षेत्रको सृजनशील गतिविधिले जरा गाड्न थाल्यो । त्यो बेला वीरध्वज शिवा, खेम नेपाली, महेश वुढाथोकी, नविन सुवेदीहरू गाउँवस्तीमा जनता व्यूँझाउने गीत गाउँदै हिँड्थे । त्यस बेला जनगायक जेबी टुहुरे, लव प्रधान, कुन्दन राईहरू पथरीशनिश्चरे क्षेत्रमा आएर सृजनाको गतिविधि गर्थे ।

तात्कालीन शनिश्चरेमा जनक बस्नेतको अगुवाईमा गञ्जमान राई सहितबाट जागरणका रुपमा गीत, नृत्य र नाटिका हुने गरेका थिए । त्यस खाले गतिविधिले गायन र नृत्यमा यो क्षेत्र अगाडि आएको इतिहास छ ।

गीतसंगीत –

प्रजातन्त्रको पुनस्थापनापछि उत्साहित बनेका सृजनशील यवाहरूले २०४७ सालमा तात्कालीन पथरी—२ मा कोपिला जनसाँस्कृतिक मञ्च गठन गरे । केही समयपछि टेकबहादुर राईलाई अध्यक्ष चुन्दै त्यसको नाम नवप्रतिभा जनसांस्कृतिक मञ्चमा बदलियो ।

सोही समयमा नरेन्द्र राई, पृथ राई सहितको नेतृत्वमा पथरी—७ मा प्रगतिशील जनसाँस्कृतिक मञ्च क्रियाशील थियो । यी संस्थाहरूले चेतनासँगै साँस्कृतिक कार्यक्रमको माहौल ल्याए ।

शक्तिवल राई, विक्रम राई, कोषराज श्रेष्ठ, अमीर राई, राजकुमारी राई, जय राई, अशोककुमार राई, तारामान राई, पर्वत विश्वकर्मा, समीता राई, यानु श्रेष्ठ, राधिका घिमिरे, लक्ष्मी श्रेष्ठ, हर्क राई, टीकाराम राई, पृथ राईहरूको समूहले त्यो बेला पूर्वाञ्चल नै तताउँथ्यो । यो समूहले विराटनगर हुँदै इलाम, झापा, सुनसरीमा कार्यक्रम भ्यायो ।

राष्ट्रिय जनसाँस्कृतिक मञ्चका कार्यक्रम यहीँ केन्द्रित हुन्थे । बुद्धचोकमा जन्मिएको प्रोग्रेसिभ युथ क्लबले पनि कलासँगै साहित्यका गतिविधि अघि बढायो । तात्कालिन पथरी—७ मा सृजनशील समूहमार्फत गणेश वाछनाहरूले गतिविधि अघि बढाएका थिए ।

पुराना लोकगायक वीरध्वज शिवा हुँदै महेश बुढाथोकी, शक्तिवल राई, विक्रम राई, अमीर राई, रविन कन्दङ्वा, पुष्प बराल, दिपराज नियोङहाङ, देव गुरुङ, नन्दु गुरूङ, अर्जुन सेन्चुरी, समीर विक, गौरव दर्पण, विकेश साउदेन, विनोद राई, निर्मला विश्वकर्मा, जगत राई, विजुला विश्वकर्मा, सुधाश्रेया दवाडी, दीपक बराइली, सम्झना राई, गंगाप्रसाद घिमिरेहरू निरन्तर सक्रिय छन् ।

विनोद राई त तेस्रो नेपाली ताराको सातौं स्थानसम्म आफुलाई उकाल्न सफल भएका गायक हुन् । राज लोहारहरू गीत संगीतमा राम्रो सम्भावना बोकेर उदाएका छन् । पुराना सारंगी वादक गायक नेत्र दवाडीको छुट्टै पहिचान छ । राम थापा नगरका पहिलो लोकदोहोरी गायक हुन् । पथरीका पूर्व प्रधानपञ्च कर्णबहादुर राईले पनि पञ्चायतकालमै ४ वटा गीत रेडियो नेपालमा रेकर्ड गराएका थिए ।

वीरध्वज शिवा नगरमा एल्बम निकाल्ने पहिलो गायक हुन् । उनले ०४५ सालमा ‘मै परें जालैमा’ लोकाधुनिक एल्बम सार्वजनिक गरे । त्यसअघि सो एल्बममा समेत समेटिएको ‘जाग उठ हे वीर तन्नेरी हो’ रेडियो नेपालमा रेकर्ड भएको थियो ।

अमीर राईको ‘सप्रेम’, रविन कन्दंगवाको ‘दिलहिरा’ देव गुरूङको ‘जमर्को’, शक्तिवल राईको ‘फूलै सिमल’, सन्तोष ओगेघा राईको ‘मेमोरी’ विनोद राईको ‘पारा’, नन्दु गुरूङको ‘जमाना’, समीर विश्वकर्माको मोनालिसा, गौरव दर्पणको पूर्वै रमाइलो एल्बम आएको छ । मोनासिलाले इमेज अवार्ड जितेको थियो ।

टोनी तामांग, मञ्जित राई, खड्ग राई र सुवास खड्काहरूले ‘सोल्टीनी कान्छी’ एल्बम ल्याएका थिए । अन्तर विद्यालय सिंगिंग स्टार मार्फत् ०६७ ‘पहिलो पाइला’ बाल गीती संग्रह आयो । ओजस्वी कला केन्द्रका सोम याम्फू, लालिमा श्रेष्ठमार्फत् सोपान, कसम हजूरको एल्बम निस्कियो । विकेश साउदेनको एकल संगीतमा सुमन राई, नगेश काफ्लेहरूको गजल समेटेर निर्माण भएको नगरको पहिलो गजल एल्बम ‘जिविविषा’ हो ।

अन्य दर्जनौं एल्बम आएका छन् । गायिका अञ्जु गौतम पनि यहीँको गीत संगीतको सिकाईबाट देशभर चिनिन पुगेकी छिन् । अर्जुन सेन्चुरी, कुलदिप घले, मञ्जित मगर, सुवास मगर, सावन मगरले ‘युग व्याण्ड’ बनाएका थिए । शनिश्चरेमा नेमलेस ब्याण्ड थियो । यलम्वर चोकका युवाहरूले सांगीतिक समूह बनाएर सक्रियता झल्काएका छन् । देव गुरूङ, गणेश वाछना, गोपाल काफ्ले र रोस्मन राईले ‘हाम्रो पथरी राम्रो पथरी’ डकुमेन्ट्री निर्माण गरेका थिए ।

जय राई, अवोध पन्धाकहरुले सृजना कलाकेन्द्रमार्फत् लोकदोहोरी प्रतियोगिता गरेका थिए । सोम याम्फुहरूले ओजस्वी कलाकेन्द्र सञ्चालन गरेर कला क्षेत्रको विकासमा योगदान पुरयाए । नृत्य सिकाउनमा पथरी डान्स सेन्टरमार्फत राम विश्वकर्मा, अविनाश विश्वकर्मा, द डान्स ग्यालरीमार्फत् अभिषेक मगर सक्रिय छन् ।

शनिश्चरेमा नटराज कलाकेन्द्र छ । जातीय कला साहित्य र संस्कृतिमा पनि नगर सक्रिय छ । विष्णु गुरूङ, अगम गुरूङको नेतृत्वको ‘तमु रोधी सांस्कृतिक परिवार’ सांस्कृतिक रूपमा क्रियाशील संस्था थियो । भूवनेश्वर पोखरेल, रेनुका काफ्लेहरू बालन र संगीनीको मौलिकता जोगाउन लागि परेका छन् । यही नगरमा वसोवास गरेका नेपाली मुलका भूटानीहरू पनि सृजनामा क्रियाशील छन् ।

साहित्य –

गीत संगीतसँगै साहित्यिक गतिविधिको इतिहास केलाउँदा तात्कालिन पथरी—१ मा गठित क्षितिज एकता मञ्च ०५० को दशकमा कला, साहित्य र सामाजिक गतिविधिमा सक्रियो थियो ।

देउमान सम्वाहाम्फे, धनकुमार तामाङ, प्रदीपकुमार राईहरूको सक्रियतामा मञ्चको आफ्नै भवन थियो । त्यसबाट विमला तुम्वेखा, भूपेन्द्र तिम्सिना, रोहित पराई, सुमन राई, भरत भट्टराइहरूको सम्पादनमा हवाई पत्रिका ‘क्षितिज’ समेत प्रकाशित भयो ।
०५१ सालमा सोमनाथ निरौला, जीवन शर्मा पुरुषोत्तम मिश्र, सीएम कन्दङ्वा, चन्द्र सुब्बाहरूको अगुवाईमा पथरीमा साहित्यिक गतिविधि अघि बढ्यो ।

साँझ साँझमा भेला भएर रचना सुन्ने सुनाउने कामको योजनामा ०५१ मा खडा भएको ‘उद्घोष साँझ’ मा भर्खर लेख्न थालेका बिमला तुम्खेवा, भूपेन्द्र तिम्सिना, चन्द्र खनाल, मेनुका राई, रोहित पराई, सुमन राई, कोषराज श्रेष्ठ, भरत भट्टराई, कृष्ण पौडेल, दिनेश ढकाल ‘बैरागी काइँलो’, बसन्ता बराल, धनपति तिम्सिना, अम्विका तिम्सिना सहित सहभागि हुने गर्थे ।

उद्घोषले धेरैवटा कार्यक्रम गरेर पूर्वका सर्जकहरूको ध्यान केन्द्रित गर्न सफल भएको थियो । स्व डा नरेन्द्र चापागाईं, स्व अनिरुद्र तिम्सिनाहरू विराटनगरदेखि यस क्षेत्रको सृजना प्रोत्साहनका लागि लड्दै पड्दै आउँथे । पथरी, देवीगञ्ज र वीरेन्द्रनगर आइतवारेमा कार्यक्रमका गतिविधि भए । कृष्णप्रसाद अधिकारी, देवीप्रसाद घिमिरेहरू लेखनमा अघि बढेका थिए ।

उद्घोषको ‘साँझ’लाई हटाएर रोहित पराईको अगुवाईमा ०६८ मा ‘उद्घोष साहित्य समाज’ बनाइए पनि त्यति सक्रिय भने हुन सकेन । यसबेला दिवंगत भइसकेका इश्वर आँशु मगरको अगुवाईमा बनेको ‘यात्रा प्रतिष्ठान’ र रोहित पराईको अगुवाईमा बनेको गाउँघर सात्यिक समूह पनि त्यस्तै भयो ।

केही हवाई र भित्ते पत्रिकाहरू पनि प्रकाशित भए । गणेश वाछनाले हवाई पत्रिका ‘अनुपम’ द्धैमासिक, नगेश काफ्ले र राम तामांग ओझेलहरूको ‘बाछिटा’, खेम श्रेष्ठ, निर्मल निरौला, अवोध पन्धाक, सूर्यविक्रम याख्खाहरूको ‘सुनौलो पालुवा’, फिपराज वेघाहरूको ‘सहारा’ द्धैमासिक साहित्यिक पत्रिका प्रकाशन भएर साहित्यको उचाईमा इँटा थप्ने काम गरे ।

हवाई पत्रिकाको संगठनले नगरमा पहिलो पटक चौतारी काब्य क्यालेण्डर ०६१ प्रकाशन गरेको थियो । कोषराज श्रेष्ठ, रोहित पराई, निर्मल निरौला मितज्यूको सक्रियतामा प्रकाशित क्यालेण्डरको सम्पादन गणेश वाछनाले गरेका थिए । नवनिहारिका प्रकाशनको ‘नवनिहारिका’ साहित्यिक पत्रिकाले यहाँको सृजना प्रकाशनको क्षेत्रमा महत्वपूर्ण इतिहास बनाएको छ ।
अशोक साम्पाङ राइ ,विद्रोही कान्छा, गणेश वाछना राई सहितको सक्रियतामा साप्ताहिक रचना वाचनको कार्यक्रम ‘कवि कुना’ खडा गरेर ०६९ भदौ ६ गतेदेखि प्रत्येक शनिबार बेलुका सृजना भलाकुसारी १ वर्षसम्म अघि बढ्यो ।

पथरीतर्फको साहित्यको माहोल सृजना भइरहेको बेला शनिश्चरे चोक र आसपासका साहित्यानुरागीहरूले ०५४ मा ‘एकता पुस्तकालय’ स्थापना गरे । ऋषि पौडेल, घनेन्द्र ओझा, कृष्णप्रसाद निरौला, बद्री ओझा, भद्रमान विश्वकर्माहरू त्यसमा सक्रिय थिए । त्यसपछि चेतन जंगली पौडेल घनेन्द्र ओझाहरूले सृजना हाँके । त्यहाँका लेखप्रसाद निरौलाले साहित्यमा पीएचडी गरेर सृजनाको क्षेत्रमा आफ्नो उचाई बढाए ।

जिरिखिम्तीका युवाहरूले ‘सूर्योदय’ नामक भित्ते पत्रिका प्रकाशित गरेका थिए । लामाटोलमा पनि धनपति तिम्सिना, अम्विका तिम्सिनाहरूले भित्ते पत्रिका प्रकाशन गरेर साहित्यको उर्जा बढाउँथे । मोहन सुब्बाले पनि हवाइ पत्रिका प्रकाशित गर्थे । हसन्दहमा उमानाथ अधिकारी, पुरुषोत्तम मिश्रहरूले सृजनाका माहौल सृजना गर्थे । प्रगति युवा क्लब, सामाजिक युवा क्लब, कञ्चनजंघा युवा क्लब सहितका क्लब सक्रिय थिए ।

पुस्तक प्रकाशन –

यस क्षेत्रमा सबैभन्दा बढी पुस्तक प्रकाशन गरेर चिनारी बनाउनेमा गजलकार घनेन्द्र ओझा पर्छन् । उनले गजल, गजल सिद्धान्त सहितका ९ वटा कृति प्रकाशित छन् । स्व प्रेमप्रकाश उप्रेती पिडीतले आधा दर्जन बढी पुस्तक प्रकाशन गरेका थिए । सीएम कन्दङ्वाका ५ वटा कृति प्रकाशित छन् । पुस्तक प्रकाशनको सन्दर्भमा नगरमा गजल संग्रह प्रकाशित गर्नेमा अञ्जु अञ्जली पहिलो सर्जक हुन् ।

विमला तुम्खेवा, भूपेन्द्र तिम्सिना, घनेन्द्र ओझा, जय राई, कृष्णप्रसाद अधिकारी, दीपेन्द्र दहाल, रमेश सायन सहितले पुस्तक प्रकाशित गरेका छन् । नगरमा भूपेन्द्र तिम्सिना, रोहित पराई, सुमन राई, गणेश वाछना, अशोक साम्पाङ विद्रोही कान्छा, भवानीप्रसाद दुलाल, शम्भूराज घिमिरे, दिपक दियालो, राजेन्द्र विवश, गणेश आँशु, निश्चल सुवेदीहरू कविता र गजलमा सक्रिय छन् । साहित्यकार पत्रकार रामप्रसाद खरेलको साहित्यिक कखरा यहीँबाट सुरु भएको हो । पं धरणिधर न्यौपाने यस क्षेत्रका सवैभन्दा पुराना विद्धान तथा साहित्य सर्जक हुन् । उनले छन्दोवद्ध कविता कृति प्रकाशित गरेका छन् ।
साहित्य, कला र संस्कृतिको समीश्रित अभियान अघि बढाउने काममा एभरेष्ट आर्ट फ्यूजन सक्रिय छ । ०६६ सालमा चित्रकार सरोजा खड्गीको अगुवाईमा गठित कला र साहित्यको समिश्रण बोकेको संस्था एभरेष्ट आर्ट फ्यूजनले प्रत्येक महिनाको पहिलो शुक्रबार ‘सृजना चौतारी’ नामक कार्यक्रम ०७४ फागुन ४ गतेबाट अगाडि बढायो ।

त्यसको समेत प्रभावले ०७५ भदौ २६ गते नगरपालिका अन्तर्गतको उपसमितिका रुपमा अगुवा गायक वीरध्वज शिवाको अगुवाईमा ‘कला साहित्य प्रवर्द्धन समिति’ गठन भयो । त्यस अन्तर्गत साहित्य, गीतसंगीत, नाट्य र चित्रकला मूर्तिकला गरी ४ विभाग समेत गठन भएर सक्रिय छ ।

यही समितिमार्फत ०७६ जेठ १८ र १९ गते ‘प्रथम पथरी शनिश्चरे बृहत कला उत्सव’ आयोजना भयो । वडा नम्वर ८ सोमवारको प्रभात सामुदायिक युवा क्लब यस बेला सृजना क्षेत्रमा पनि लागि परेको छ ।

नाट्य –

नाट्य गतिविधिको संस्थागत इतिहास केलाउँदा तात्कालीन पथरी ८ मा रहेको सगरमाथा नाट्य समूहको देन निकै महत्वपूर्ण छ । ०४८ मा विक्रम फागो वनेमको अगुवाईमा रमेश फागो, तीर्थ आचार्य, बाबुराम पोखरेल भाञ्जाबाबु, दुर्गा पोखरेलहरूले नाटकको माहौल बनाएका थिए ।

संयोग वियोग, क्रान्तिले बलि चाहन्छ, आँसुले मुछिएको भाइटीका जस्ता प्रभावकारी नाटक टिकटमा पूर्वमा हल हलमा देखाइएको थियो । त्यसबेला यस क्षेत्रबाट सवैभन्दा पहिले रेडियो नेपालको क्षेत्रीय प्रशारण केन्द्र धनकुटामा नाटक रेकर्ड गर्ने समूह सगरमाथा नै हो ।

०४७ मा भोजकुमार राईको अगुवाईमा तात्कालीन शनिश्चरेको सिंहवाहिनी माविमा ‘रातो तारा चम्केपछि’ नाटक मञ्चन भएको थियो । तात्कालिन पथरी—१ मा ०४४, ०४५ सालताका मेनुका राईको अगुवाईमा युवराज वास्कोटाहरूले आमा, टुहुरो कथा सहितका नाटक प्रस्तुत गरेका थिए ।

संस्थागत नाट्य गतिविधिमा धेरै नाटक गर्ने र हालसम्म पनि निरन्तर सक्रिय रहनेमा तात्कालीन शनिश्चरेमा खडा भएको कञ्चनजंघा नाट्य समूह र त्यसका कलाकारहरू आउँछन् । तात्कालीन पथरी र शनिश्चरेका नाटककार मिलेर ०५७ मा नाट्य समूह खडा भयो ।

त्यस अघि भूपेन्द्र तिम्सिना, सुमन राई, युवराज तामाङहरूले नाटक गर्थे । दिननाथ पोखरेल ‘अभय’ अध्यक्ष रहेको कञ्चनजंघाले त ०६० सालमा शान्तिको आव्हान गर्दै मेचीदेखि महाकालीका १४ स्थानमा नाटक ‘शान्ति’ प्रदर्शन गरेर प्रशंसा बटुलेको थियो ।

उसले नेपालका ३ सय बढी स्थानमा विशेषगरी सडक नाटक प्रस्तुत गरिसकेको छ । त्यसमा स्व। मनोज घिमिरे र गंगाबहादुर कटुवालको महत्वपूर्ण देन छ । भूपेन्द्र तिम्सिना, अभय पोखरेल, कमलराज भुजेल, ज्योति अधिकारी, भीष्म न्यौपाने, कमला घिमिरे, सुमन राई, मात्रिका पौडेल, दीपक खतिवडा, कल्पना थापा, बविता नियोङहाङ, भूमिप्रसाद पाठक, हरेन्द्र खत्री, दीपेन्द्र दहाल, लीला कुलुङ, मेनुका कुलुङ, सरोज तिम्सिना, प्रदीप आचार्य, लक्षणा राईहरू नाट्य क्षेत्रमा सक्रिय छन् ।

नाट्य समूह हुँदै एनपीएल मिडिया र पथरी मिडिया प्रालिमार्फत सो समूहले ०७१ मंसिर १३ बाट हाँस्य टेलिश्रृखला ‘दोबाटो’ सुरु गरेर देशभरि नै चिनिएको छ । नाटकको प्रसंगमा तात्कालीन पथरी—१ का स्व इश्वर आँशु मगर र भरत भट्टराईको व्यक्तिगत सक्रियताको अगुवाई ऐतिहासिक छ । यिनीहरूले १,१ दर्जन नाटक प्रदर्शन गरे । उनीहरूले हलहरूमा टिकटमा मञ्चन समेत गरेका थिए ।

नाट्य गतिविधिमा माहौल सिर्जना गर्नेमा अर्जुन सुवेदी, प्रकाश दर्नाल सहितको पनि उस्तै महत्वपूर्ण योगदान छ । अर्जुनले त चलचित्र निर्माणको विषयमा डिग्री हाँसिल गरेर अमेरिकामा त्यसै क्षेत्रमा काम गरिरहेका छन् ।

सब्बु सुवेदी, जीवनसाथी वस्नेत यही क्षेत्रबाट उदाएका चलचित्रकर्मी हुन् । पथरी—२ मा लालिगुरास युवा क्लबमार्फत ०५८ सालताका नाटकको गतिविधिमा जीवन वराल, मेनुका कुलुङ, पर्शुराम न्यौपाने, सरोज तिम्सिनाहरू सक्रिय थिए । लामाटोलका सञ्जय राई पनि नाटकमा थिए । हसन्दहमा श्रीराम रायामाझी नाट्य क्षेत्रका अगुवा हुन् ।

नाटक गर्दै आएका त्यहाँका उर्जाशील युवाहरूले ०७५ सालमा कल्पना मिश्रको अगुवाईमा हसन्दह नाट्य समूह गठन भयो । त्यहाँ कल्पनाको अगुवाईमा अनिता गौतमहरू नाटकमा छन् । शनिश्चरेका शंकर राई पनि नाटक लेख्ने र राम्रो अभिनय गर्ने गर्थे ।
माउन्ट एभरेष्ट इन्टरटेनमेन्टले पहिलो पटक ०७६ वैशाखमा ‘पहिलो मिस पथरीशनिश्चरे’ सम्पन्न गरेको छ । जसबाट रिजु भट्टराई विजेता बनिन् । नगरमा मोडलिङ क्षेत्रमा पनि सर्जकहरू उदाएका छन् । उद्घोषण कलामा चिनिएका भूवन सुवेदी पनि यही नगरका युवा उर्जा हुन् ।

चलचित्र –

यस क्षेत्रबाट सवैभन्दा पहिले चलचित्रमा अभिनय गर्ने अभिनेत्री सालु सुब्बा हुन् । अनि चलचित्र निर्देशनमा निरन्तर लागिरहनेमा वद्री आचार्य पर्छन् । ०५४ ताका गोपाल राईको निर्देशनमा छोटो चलचित्र ‘दोषी को ?’ बनेको थियो । इश्वर आँशु मगरले हरि रसाइलीहरूको साथमा ‘तालावन्द’ सुरू गरेपनि त्यो पूर्ण हुन सकेन । चलचित्र ‘देउमाईको किनारमा’ पथरी क्षेत्रका प्रतिभाहरूले समेत अभिनय गरेका थिए । जेएन तिम्सिना, अनिश खतिवडा, सन्तोष राईहरू चलचित्रमा लागिपरेका छन् । नगरकै ५ जना निर्माताले पहिलो पटक ‘पुरानो बुलेट’ नामक चलचित्र निर्माण गरी देशविदेश प्रदर्शन गरिरहेका छन् ।

चलचित्रमा मनोज विक, अनुप योञ्जनहरू उदाएका छन् । युवराज ओझा, मुहासिंह मगर, गोपाल काफ्ले, दिनेश कटुवालहरू चलचित्र तथा बृत्तचित्र सम्पादनमा छन् । जीपी जोडी हाँस्यव्यंग्य क्षेत्रमा सक्रिय छ ।

चित्रकला मूर्तिकला –

चित्रकला र मूर्तिकलातर्फ भरत राई, प्रेम राईहरूले दिवान कला केन्द्रमार्फत् कलाको व्यवसायिकता सुरू गरेका हुन् । प्रेम राईले त धरानको बुढासुब्बा गोल्डकपको लोगो बनाएका हुन् । लारिङ आर्ट सेन्टरको पनि पेन्टिङमा योगदान छ । त्यसपछि सरोजा खड्गीहरूको सक्रियतामा देशमै चिनिने अवसर मिल्यो ।

धनबहादुर लिम्बू, भरत तामाङ, बुद्धिमान धिमाल, डीबी राई, हुँदै चित्रकलाको समेत यहाँ विकास भएको छ । मूर्तिकलामा टीकाराम राई, कृष्ण गजमेर, दिलमान वेघाहरूको सक्रियता छ । सरोजाले ‘विष्णु मीना ललितकता पुरस्कार’ नै खडा गरेकी छन् । सर्जकको नाम धेरै छुटेको हुन सक्छ । विभिन्न विधाका सर्जकहरू सबैको नाम अटाउन यस लेखमा सम्भव पनि हुन सक्दैन ।

अन्त्यमा,
हालका नेपालकै ख्याति प्राप्त हाँस्यव्यंग्य कलाकार मनोज गजुरेलको कलाकारिताको विजारोपण यही नगरबाट भएको हो । काफल गेडी कुटुक्कैबाट नेपाली लोकगीतको उचाई बनाएका महेश बुढाथोकी, अर्का गायक वीरध्वज शिवा, नाटकबाट उचाई बनाएका जीवन वराल, मिलन नेपाली, विरेशबाबु शाही, गजल अभियन्ता घनेन्द्र ओझा, उदघोषण सहितको तालिमकलाको उचाई बनाएकी जेसीजकी मञ्जरी घिमिरे यही नगरका गहना हुन् ।

चित्रकलामा राष्ट्रिय अन्तरराष्ट्रिय पुरस्कार प्राप्त नगरको पहिलो प्राज्ञ नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी सदस्य सरोजा खड्गी, कवि विमला तुम्खेवा, रमेश सायन, पूर्वै रमाइलो गीतका गायक गौरव दर्पणले देश विदेशभरी नगरको उज्यालो छरेका छन् । सबैले सृजनाको उज्यालोमार्फत् सबैको मन उज्यायो बनाउन लागौं । मनले बाँच्ने समतामूलक समाजको निर्माणमा जुटौँ ।

लेखक पथरीशनिश्चरेका पत्रकार, साहित्यकार तथा कलाकार हुन् ।

तपाईको प्रतिक्रिया