२८ फेब्रुअरी २०२१ हङकङ । क्रान्ति सुब्बा ।

यस वर्षको वार्षिक बजेट अन्तर्गत सरकारले गत वर्ष जस्तो हङकङ डलर दस हजार वितरण गरेन । जसको सट्टामा सरकारले इलेक्ट्रोनिक माध्यमबाट खर्च गर्न मिल्ने हङकङ डलर पाँच हजार बराबरको भौचर मात्रै दिने निर्णय गर्‍यो ।

प्रत्येक १८ वर्ष  टेकेका र १८ वर्ष भन्दा माथिका हङकङका स्थाइ वासिन्दा र हङकङ भर्खरै प्रवेश गरेकाले हङकङ डलर पाँच हजार बराबरको इलेक्ट्रोनिक भौचर प्रति महीना एक हजारका दरले पाँच महिना सम्म पाउनेछ्न र प्रत्येक महिना पाउने १,००० रकम एउटा निश्चित समय भित्र खर्च गर्नुपर्ने शर्त रहेकोछ । संभवत यो रकमको वितरण जुलाईबाट हुनेछ र सेप्टेम्बर भित्र वितरण भैसक्नेछ।

हङकङमा अहिले ७% मानिस बेरोजगार भएको अवस्थामा   बेरोजगारलाई हङकङ डलर ८० हजार सम्म ग्यारेन्टी ॠण दिने प्रतिबद्धता पनि जाहेर गरेकोछ बजेटले ।

फेब्रुअरी २४ तारीख हङकङका अर्थ मन्त्री पल च्यानले बजेट बक्तव्य दिएको केहि समयपछि  नै प्रजातन्त्र समर्थक पार्टी तथा सर्वसाधारण  जनताको प्रतिनिधित्व गर्ने संस्थाबाट यो भौचर र ॠणले खाँचोमा परेको जनताको आवश्यकता पूरा गर्दैन भनेर आलोचना गरेका थिए ।

सरकारले बरु सिधै  आर्थिक सहयोग दिनु पर्थ्यो भन्दै सोसाइटी फर कम्युनिटी अर्गनाइजेसनकि पदाधिकारी चे लाई शानले आर्टिएचके रेडियोमा भनिन – ” यो बजेटबाट  हामी एकदम निराश भएका छौं, यसले हङकङका अभावग्रस्त समुहलाई सहयोग गर्दैन ।”

सरकारले सबैलाई बरु नगद हस्तान्तरण गर्नु पर्थ्यो ५ हजारको खर्च गर्ने भौचर किस्तामा दिनको सट्टामा – उनले भनिन।

त्यो भौचर पनि ठुला दोकानतिर चल्ने खाल्का जस्ता छ्न जबकि न्यून आय भएकाहरूले सरसामान किन्ने भनेको साना स्टोरबाट कित सडकका हकरबाट हो उनले थपिन।

कतिपय अरु नै किसिमको दोकानमा पनि  अक्टुपस  वा इ- पेमेन्ट सिस्टम नै नहुने भएकोले यो धेरै अब्यवहारिक भएको प्रतिक्रिया पनि आयो।

मन्त्री च्यानले ब्यापारी कम्पनीहरुलाई अक्टुपस पेमेन्ट सिस्टम जडान गर्नका निम्ति छुट्टै अनुदानको व्यवस्था गरिनेछ र त्यसकारण साह्रै चिन्ता गर्ने स्थिति छैन  भने।

सरकारले प्रस्तावित गरेको बेरोजगारले पाउने हङकङ डलर ८० हजार सम्मको ग्यारेन्टी ॠण पनि उपयोगी छैन । जागिर पाउन नसकेमा वा अगाडि नै ॠणमा परेको मान्छेलाई यो अफरको के अर्थ ? उनले थपिन।

“तिनीहरुसंग लोन एप्लाइ गर्ने सामर्थ्य छैन  । कतिपय मानिस पहिल्यैबाट बेरोजगार छ्न , वा उनिहरुको कुनै आयस्रोत छैन। त्यसमाथि अझ उनीहरूले भविस्यमा काम खोज्दा पाउने या नपाउने कुराको पनि टुंगो छैन।” उनले भनिन।

” कतिपयले त क्रेडिट कार्ड या त आफन्तबाट ॠण लिएकाछ्न। उनीहरू उल्टै पैसा तिर्नु पर्ने अवस्थामा छ्न ।यस्तो बेला त उनीहरूलाई आर्थिक सहयोग चाहिएकोछ ॠ ण होइन ।”

प्रो डिमोक्रेसी पार्टीका लिडरहरुले पनि  अर्थ मन्त्री पल च्यानले जनतालाई तत्काल नगद दिनु पर्थ्यो भनेर बजेटको आलोचना गरेका थिए ।

डेमोक्रेटिक पार्टीका अध्यक्ष लो किन हेइले त इलेक्ट्रोनिक भौचर वितरण योजना स्रोतसाधनको बर्बादी हो भनेकाछ्न।

” इलेक्ट्रोनिक भौचरको प्रयोग गर्न धेरै मानिसलाई कठिन पर्छ खास गरि बुढाबुढी  र तल्लो स्तरको हङकङको जनतालाई ।” भन्छ्न लो किन हेइ।

थप्छन् – “हङकङको जनताको गोजीमा जाने ठुलो रकम, सिस्टम सेट अप गर्दा लगानी हुनेछ र त्यो सेट अपमा लाग्ने मुल्य बेकारको खर्च हो।

बुढाबुढीको निम्ति भौचर परिवारका सदस्यले संकलन गर्न सहयोग गर्न सक्छ्न मन्त्री च्यानले भने ।

सिभिक पार्टीका उपाध्यक्ष जेरेमी टामले पनि उस्तै टिप्पणी गरेकाछ्न ।
“कतिपय मानिसले दुई तीन महिनादेखि घर भाडा तिर्न सकेका छैनन,र कतिपय मानिस ॠणमा डुबिसकेका छ्न। त्यसैले त्यो रकम नगदको रूपमा दिएको भए उत्तम हुन्थ्यो।” उनले भने।

प्रस्तावित पाँच हजार इलेक्ट्रोनिक भौचर वितरणबारे व्यापक आलोचना भएपछि २७ तारीख शनिबारको आर्टिएचके रेडियो प्रोग्राममा मन्त्री च्यानले यो प्रस्तावित योजनालाई आवश्यक संशोधन र सुधार  गर्न सकिने कुरा बताएकाछ्न।
“यस विषयमा उचित सुधार ल्याउन सकिने ठाउँ छ, तर कस्तो किसिमको सुधार ल्याउने हो , छ्लफल हुन जरुरी छ।” मन्त्री च्यानले भने।

बजेट भाषणको दुई दिन पश्चात् २६ फेब्रुअरी शुक्रबार भएको आरटिएचके रेडियो ३ को फोन इन कार्यक्रममा मन्त्री च्यानलाइ सरकारले दिने कर्जाबारे पनि जिज्ञासा राखिएको थियो ।

अहिलेको बजेट अन्तर्गत आएको कर्जा योजना अनुसार कुनै पनि व्यक्ति दुई महिना वा सो भन्दा बढी समयदेखि बेरोजगार रहेको अवस्था छ भने उसले आफ्नो अन्तिम तलबको छ गुना सम्म कर्जा प्राप्त गर्न सक्दछ।

तर कर्जाको अधिकतम  रकम हङकङ डलर ८०,००० नाघ्नु हुन्न। यो कर्जा रकम पाँच वर्ष भित्र तिर्नु पर्नेछ । यो कर्जा रकमको वार्षिक व्याज १% प्रतिशत मात्रै हो।  यो व्याज पनि पहिलो वर्षको  मात्र तिर्नु पर्नेछ । बाकी चार वर्षमा बाकी रहेको सावाँ मात्र तिर्नु पर्नेछ।

यो कर्जा योजना अन्तर्गत सरकारले २५०,००० जना भन्दा बढी काम नपाएर बसेका कामदारलाई लक्ष्यित गरि  १० अरब हङकङ डलर बजेट  छुट्याएको छ।

यो कर्जा योजनाको रक्षा गर्दै मन्त्रीले भने यो रकमको व्याज पहिलो वर्ष मात्र तिर्नु पर्छ। र यदि कर्जा लिनेले समयभित्र नै सबै रकम तिर्न सफल भयो भने उसले तिरेको सबै व्याज फिर्ता दिइनेछ।

“यदि कुनै व्यक्तिले वार्षिक व्याज एक प्रतिशतको हिसाबले हङकङ डलर ८० हजार कर्जा लियो भने उसले प्रति महिना ७० डलर भन्दा कम मात्र व्याज तिर्नु पर्छ।” च्यानले भने।

तपाईको प्रतिक्रिया