काठमाडौं । राष्ट्रिय सभाकी सांसद तथा गायिका कोमल वलीले रघुजी पन्तबाट आफ्नो चरित्रहत्या प्रयास भएको भन्दै न्यायका लागि अदालत जाने बताएकी छन् । उनले राजनीतिक नेतृत्वबाटै आफ्नो चरित्रहत्याको प्रयास भएको भन्दै प्रहरी र अदालतको ढोका ढक्ढकाउने जानकारी दिइन् ।

आफूले यो विषयमा सबैसँग सरसल्लाह गरिरहेको र सबैले कानूनी प्रक्रियामा जान सुझाव दिएको उनले बताइन् ।

माधव प्रचण्ड समूहका नेता पन्तको अभिव्यक्ति आफ्नो लागि मात्र नभएर सबै नेपाली महिलाहरुका लागि अपमानजनक रहेको वलीले बताइन् । राजनीतिमा लागेका महिलालाई हेर्ने दृष्टिकोण यसबाट प्रतिबिम्बित भएको उनको भनाइ छ ।

‘उहाँबाट मैले यस्तो निकृष्ट सोचको कल्पना नै गरेको थिइनँ’ वलीले भनिन्, ‘यसमा म चुप लागेर बसें भने भोलि अरु महिलाहरुले पनि यसैगरी आरोपित बन्नुपर्नेछ ।

केपी ओलीले टप्प टिपेर राष्ट्रियसभामा ल्याउनुभएको आरोप पूर्णरुपमा झूटो भएको र आफू तल्लो कमिटीदेखि सिफारिस भएर आएको दाबी वलीको छ । ‘पहिले जिल्ला कमिटीले सिफारिस गर्‍यो । त्यसलाई प्रदेश कमिटीले सदर गरेर एक नम्बरमा नाम राखेर पठायो । अनि, स्थायी कमिटीले पारित गरेपछि बल्ल म राष्ट्रियसभामा पुग्ने बाटो खुलेको हो । स्थायी समितिले मेरो निर्णय गर्दा रघुजी पन्तले किन रोक्नुभएन रु अहिले फरक पार्टी भयो भन्दैमा यसरी आरोपित गर्न मिल्छ रु’

आफूले कलाकारितामा दिएको योगदानका लागि पार्टीले सम्मान दिएको वली बताउँछिन् ।

‘विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिहरू छानेर लैजाने ठाउँ हो राष्ट्रियसभा । कलाकारितामा मेरो योगदान क्षमता हेरेर नै एमालेले मलाई प्रवेश गराएको हो । राष्ट्रियसभा गरिमा र कार्यक्षेत्र नै फरक छ । त्यहाँ मैले अनेकन् मुद्दाहरूमा आवाज उठाएर जिम्मेवारी निभाइरहेकी छु । जनताको पक्षमा बोलिरहेकी छु । सरकारलाई सहयोग पनि गरिरहेकी छु । सबैभन्दा बढी संशोधन प्रस्तावहरू राख्ने सांसदमा पर्छु । उहाँलाई मैले राष्ट्रियसभामा निभाएको भूमिका थाहा छैन होला’, उनले भनिन् ।

आफूले लड्ने कानूनी लडाईंमा प्रचण्ड(नेपाल पक्षका महिला नेतृहरूले पनि साथ दिनुपर्ने वलीको भनाइ छ ।

‘उहाँहरूले पनि आवाज उठाउनुपर्छ, किनभने भविष्यमा उहाँहरूले पनि यस्ता आरोप खेप्नुपर्ने हुन सक्छ’, वलीले भनिन् ।
नेता पन्तसँग आफ्नो पहिले राम्रो सम्बन्ध रहेको वलीले उल्लेख गरिन् ।

प्रधानमन्त्रीको प्रेस सल्लाहकार हुँदादेखि नै आफूले पन्तलाई चिनेको र उनलाई सम्मान गरेर दाइ भनेको स्मरण गर्दै वलीले आज पन्तका कारण आफूलाई एकदमै ठूलो चोट पुगेको बताइन् ।

तपाईको प्रतिक्रिया