काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाली भूमि र चासोविरुद्ध कुनै गतिविधि नगर्न छिमेकी मुलुकहरुलाई आग्रह गरेका छन् ।

विश्व मामिला परिषदको ७३ औं सभालाई सोमबार सम्बोधन गर्दै ज्ञवालीले नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता पनि व्यक्त गरे ।

‘छिमेकीविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने प्रतिबद्धतामा नेपाल अडिग छ’ ज्ञवालीले भने, ‘हामी पनि छिमेकीहरुबाट यस्तै सहकार्य र प्रतिबद्धताको अपेक्षा गर्दछौं ।’

छिमेकी र विश्वका अन्य मुलुकसँग द्धिपक्षीय तहमा मैत्रीपूर्ण सम्बन्ध कायम गर्न नेपाली प्रतिवद्ध रहेको समेत ज्ञवालीले बताए । भारत र नेपालबीचको उच्च तहमा भएको भेटवार्ताले नागरिक तहमा सम्पर्क, सांस्कृतिक सम्बन्ध र आर्थिक साझेदारीको विकास भएको उनले उल्लेख गरे ।

नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउँदै ज्ञवालीले चीनसँग विगतमा भएको हिमालपार पारवहन सम्झौताले नयाँ आर्थिक सम्भावनाको खोजी गर्ने विश्वास व्यक्त गरे ।

नेपालका प्रमुख श्रम बजार मुलुकहरुसँग श्रम बजार, ब्यापार, पर्यटन, लगानी र नागरिक स्तरमा हुने संवादलाई समेटेर बृहत आर्थिक सम्झौता गर्न नेपाल तयार रहेको समेत उनले बताए ।

सार्कको वर्तमान अध्यक्षको हैसियतले नेपाल सबै सदस्य राष्ट्रसंघ नियमित सम्पर्कमा रहेको उल्लेख गर्दै ज्ञवालीले सार्कलाई यसको उद्देश्य प्राप्तीका लागि नयाँ जोशका साथ अघि बढाउनुपर्ने खाँचो औंल्याए । उनले सार्क मुलुकबीच विश्वास स्थापना गर्नु जरुरी रहेको बताएका छन् ।

नेपाल सदस्यको रुपमा एसिया साझेदारी संवाद (एसीडी) र संवाद सदस्यको रुपमा सांघाइ कोअपरेसन अर्गनाइजेसनको सम्मेलनमा भाग लिन उत्साहित रहेको पनि परराष्ट्र मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

चाँडै आयोजना हुने सगरमाथा संवाद प्लेटफर्मको माध्यमबाट नेपालले जलवायु परिवर्तनविरुद्धको नीति निर्माणमा योगदान दिने समेत उनले जनाए । सन् २०५० सम्म नेपाल शुन्य कार्बन उत्सर्जनको लक्ष्य राखेर अघि बढेको समेत ज्ञवालीले उल्लेख गरे ।

१६८ देशसँग कुटनीतिक सम्बन्ध स्थापना भएको उल्लेख गर्दै ज्ञवालीले नेपालको निर्यात व्यापार, वैदेशिक लगानी, प्रविधि हस्तान्तरण, पर्यटन उद्योग र नेपाली श्रमिकको हितलाई ध्यानमा राखेर आर्थिक कुटनीति संचालन गर्ने समेत बताए ।

देश विकास र सांस्कृतिक सम्बन्ध आदानप्रदानमा गैरआवसिय नेपालीको भूमिकाको प्रशंसा गर्दै ज्ञवालीले विदेशमा रहेका नेपालीको ज्ञान र पुँजीको सदुपयोग गर्दै उनीहरुको हितमा काम गर्न सरकार प्रतिबद्ध रहेको समेत जनाएका छन् ।

राष्ट्रिय आवश्यकतालाई ख्यालमा राख्दै राष्ट्रिय चासोका विषयलाई संरक्षण गर्नु नेपाली परराष्ट्र नीतिको उद्देश्य रहेको समेत ज्ञवालीले बताएका छन् ।

तपाईको प्रतिक्रिया