२ मार्च २०२१ हङकङ । क्रान्ति सुब्बा ।

हङकङ स्वस्थ रक्षण केन्द्रको तर्फबाट डाक्टर च्वाङ सुक क्वानले  आज अपरान्ह  ४:३० बजेको नियमित प्रेस ब्रीफिङ मार्फत हङकङमा १३ वटा नयाँ कोरोना संक्रमित  केस पुष्टि भएको बताएकी छिन।

जसमा ६ आयातित ( २ जना इन्डोनेसियाबाट आएका डोमेस्टिक हेल्पर , २ जना दुबई र दुई जना पाकिस्तानबाट आएका यात्रु  ) र बाकी ७ जना  स्थानीय केस रहेकाछ्न।
पाकिस्तानबाट आएका यात्रु ( केस नंबर ११०२५)मा कोरोना भाइरसको नयाँ नश्ल N501Y देखिएको छ।

  स्थानीय केस मध्ये ३ केस पुर्व केससंग संबंधित रहेको  छ भने ४ केस स्रोत पहिल्याउन  नसकिने स्रोतबाट आएकाछ्न  । हङकङमा कुल कोरोना केस ११,०३३ पुगेकोछ।

आजका नयाँ दर्ता भएका केसमा   १८ वर्ष  देखि  ८३ वर्ष बीचका ५ जना पुरुष र ८ जना महिला परेकाछन। ३ केस कम्युनिटी टेस्टिङ सेन्टरबाट आएकाछ्न।

कोरोना भाइरसको उत्परिवर्तित स्वरुप  N501Y  भेरिएन्टबाट संक्रमित हुनेको संख्या ४९ पुगेकोछ। यो नयाँ प्रजाती भित्र २९ वटा बेलायती प्रजातिका केस , ४ वटा साउथ अफ्रिकी भेरिएन्ट केस  र तीन वटा ब्राजिलियन भेरिएन्ट केस परेकाछ्न भने बाकी रहेका १३ वटा N501Y भेरिएन्टको भेद छुट्याउनु बाकी नै छ।

आज १० जना भन्दा बढी  प्रारम्भिक पोजिटिभ केसहरु फेला परेकाछ्न।

चिम शा चुइ स्थित  K11 मुसिया क्लस्टरबाट आज ४ जना संक्रमित थपिए ।

कोभिड भ्याक्सिनबाट मृत्यु

कोभिड – १९ भ्याक्सिन लगाएपछि हङकङमा एकजना ६३ वर्षीय मधुमेह र ब्रोङ्काइटिस रोगबाट पहिल्यैदेखि पीडित पुरुष  रोगीको मृत्यु भएकोछ। बेजिङ उत्पादित साइनोभ्याक ज्याब उनले हङकङमा भ्याक्सिन वितरण भएकै दिन गत शुक्रबार जोर्डनको कुन चुङ स्पोर्ट्स सेन्टरमा लगाएका थिए ।

भ्याक्सिन लगाएको दुई दिन पछि सास फेर्न बहुत गाह्रो भएको थियो र त्यस्तो भएको केही क्षणमा नै उनको मृत्यु गत आइतबार भएको हो। तर हेल्थ अथरिटीले उनको मृत्यु भएको दुई दिन पछि आज मंगलबार बेलुकी उनको मृत्युबारे जानकारी दिएकोछ।

स्रोतले जनाए अनुसार आइतबार मध्यरातमा नै उनी एम्बुलेन्सबाट क्युइन एलिजाबेथ अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका थिए । भर्ना भएको केही क्षणमा नै ऊनी कोमामा गएपछि उनको मृत्यु भएको थियो ।

बिडम्बना अस्पतालमा भर्ना हुदा सम्म स्वास्थकर्मीलाई उनले कोभिड भ्याक्सिन लगाएका थिए भन्ने कुरा थाहा थिएन । उनिहरुले त कोरोना भाइरसको आक्रमणका कारण त्यस्तो भएको ठानेका थिए । तर पछि  क्लिनिकल म्यासेज सिस्टम चेक गरिसके पछि पो मृत्यु हुनु दुई दिन अगाडि कोरोनाको खोप लगाएको रहस्य  खोलियो।


हङकङ हस्पिटल अथरिटिले उनको मृत्यु कोभिड भ्याक्सिनले भएको हो कि होइन भन्ने तथ्यलाई छानबिन गर्न विशेषज्ञ समितिकहाँ यथाशीघ्र पठाउने भएकोछ।

उनको मृत्युलाई हङकङको मृत्यु समिक्षा अदालतमा पनि पेश गरिने भएको छ।
यदि उनको मृत्यु कोरोना भ्याक्सिनका कारण भएको प्रमाणित भएमा विधान सभाले गत शुक्रबार पारित गरेको १ अरब बराबरको भ्याक्सिन क्षतिपूर्ति बजेटबाट  उनले क्षतिपूर्ति पाउनेछ्न।


यदि भ्याक्सिनका कारणले ४० वर्ष पुगेका वा ४० वर्ष नागेका कुनै व्यक्तिको मृत्यु भएमा उनको परिवारले हङकङ  डलर २० लाख पाउनेछ र घाइते भएमा हङकङ डलर  २५ लाख पाउनेछ्न। ४० वर्ष मुनिका कुनै मानिसको मृत्यु भएमा उनको परिवारले २५ लाख पाउनेछ भने घाइते भएको अवस्थामा ३० लाख क्षतिपूर्ति पाउने प्राबधान रहेको छ।

स्मरण रहोस् आजको दिनमा  बेलुकी ८ बजे सम्मको रेकर्ड अनुसार  १३,००० जना भन्दा बढी मानिसले साइनोभ्याक भ्याक्सिनको प्रहिलो खुराक लगाएका छ्न। फेब्रुअरी २२ तारीख उप्रान्त हङकङमा कोरोना भ्याक्सिन लगाउनेको संख्या ४०,००० भन्दा बढी पुगेकोछ।

तपाईको प्रतिक्रिया