काठमाडौं । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको प्रतिबन्दित समूहबीच वार्ता हुने भएको छ । वार्ताका लागि दुवै पक्षले वार्ता टोली पनि गठन गरिसकेको जानकारी दिएका छन् ।

सरकारले नेत्रविक्रम चन्द, विप्लव समूहसँग वार्ता गर्न दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । सरकारका प्रवक्ता सञ्‍चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङका अनुसार वार्ता टोलीमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई सदस्य छन् ।

सरकारसँग वार्ताको लागि नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले पनि प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को नेतृत्वमा दुई सदस्य रहेको वार्ता टोली बनाएको छ ।

वार्ता टोलीका अर्का सदस्यमा उदय चलाउने ‘दीपक’ रहेको विज्ञप्तिमार्फत जानकारी दिइएको छ ।

‘विप्लव’ नेतृत्वको नेकपाले सरकारसँग वार्ताको लागि प्रकाण्डको नेतृत्वमा धर्मेन्द्र बास्तोला र चिरन पुन सदस्य रहेको तीन सदस्यीय कार्यदल बनाएको थियो । तर, धर्मेन्द्र हाल प्रहरी हिरासतमा रहेकाले वार्ता टोली सदस्यमा हेरफेर भएको हो ।

‘विप्लव’ नेतृत्वको नेकपाले वार्ताको लागि पार्टीमाथिको प्रतिबन्ध फुकुवा गर्नुपर्ने, पक्राउ परेका नेतारकार्यकर्ताको रिहाइ हुनुपर्नेलगायतका माग अघि सार्दै आएको छ ।

तपाईको प्रतिक्रिया