काठमाडौं । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहबीचको पहिलो चरणको वार्ता सकारात्मक भएको छ । औपचारिक रूपमा वार्ता टोली गठन गरेको भोलिपल्टै (आज) दुवै पक्ष वार्तामा बसेका थिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा सबै विषयमा एकसरो छलफल भएर दुवै पक्ष सकारात्मक बनेको वार्ता टोलीका एक सदस्यले बताए ।

सरकारी वार्ता टोलीका सदस्य डा.राजन भट्टराईले वार्ता सकारात्मक उन्मुख रहेको जानकारी दिए । वार्तामा भट्टराईसहित गृहमन्त्री रामबहादुर थापा र चन्द समूहका तर्फबाट खड्गबहादुर विश्वकर्मा र उदय चलाउने सहभागी थिए ।

आजको वार्तामा आगामी वार्ताका लागि मोडालिटीसम्बन्धी प्रारम्भिक छलफल भएको बताइएको छ । यससँगै नेपाल प्रहरी र महान्यायाधिवक्ताको कार्यालयसँग थुनामा रहेका चन्द समूहका नेता कार्यकर्ताको विस्तृत विवरण झिकाएर अर्को चरणमा थप छलफल गरिने बताइएको छ ।

चन्द समूहले म‌ंगलबार प्रवक्ता विश्वकर्माको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली सार्वजनिक गरेको थियो । चन्द समूहले जेलमा रहेका आफ्ना नेता–कार्यकर्ता रिहा र हतियारसम्बन्धी मुद्दा फिर्ता गर्नुपर्ने, पार्टीमाथिको प्रतिबन्ध फुकुवा हुनुपर्नेलगायत सर्त अघि सारेको छ ।

सरकारले पनि गृहमन्त्री थापाको संयोजकत्वमा दुई सदस्यीय समिति सार्वजनिक गरेको थियो । मंगलबार सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री पार्वत गुरुङले चन्द समूहले पनि वार्ता टोली गठन गरे चाँडै वार्ता हुने बताएका थिए । उनले हतियार मुद्दालगायत विषय वार्ताबाटै टुंगो लगाइने जानकारी दिएका थिए ।

तपाईको प्रतिक्रिया