काठमाडौं । तत्कालीन माओवादी केन्द्रबाट एमालेतर्फ लागेका नेताहरुलाई सम्मानजनक हैसियत दिने तयारी प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् । सर्वोच्च अदालतले २३ फागुनमा साविकका नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूँताइदिएपछि नेकपा खारेज भइसकेको अवस्थामा ओली माओवादी केन्द्रका नेताहरुलाई फकाउन लागेका हुन् ।

पुष्पकमल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र छाडेर आएका सबैभन्दा सिनियर नेता रामबहादुर थापा ’बादल’लाई ओलीले पार्टीमा उपाध्यक्षको जिम्मेवारी दिने तयारी गरेका छन् ।

बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साह, दावा लामा र गौरीशंकर चौधरीसहितका नेताहरुलाई एमालेमै राख्ने गरी ओलीले तयारी गरेका हुन् । जसअनुसार बादललाई उपाध्यक्षको जिम्मेवारी दिन लागिएको हो ।

त्यसैगरी एमालेले ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट र खानेपानी मन्त्री मणि थापालाई सम्मानजनक स्थानसहित स्थायी कमिटीमा लैजाने तयारी गरेको छ । अन्य नेताहरुलाई पनि उनीहरुको भूमिका र जिम्मेवारी अनुसार नेतृत्वमा लैजाने तयारी गरिएको हो ।

नेकपा एमालेको नवौँ महाधिवेशनबाट उपाध्यक्ष बनेकी विद्या भण्डारी अहिले राष्ट्रपति छन् । विद्या राष्ट्रपति भएपछि रिक्त उक्त स्थानमा बादललाई लाने तयारी गरिएको हो ।

 

तपाईको प्रतिक्रिया