१४ मार्च २०२१ हङकङ । क्रान्ति सुब्बा ।

हङकङ हस्पिटल अथोरिटीले सार्वजनिक गरेको रिपोर्ट अनुसार साइनोभ्याक भ्याक्सिन ग्रहण गरेको केही समयपछि एक जना ८० वर्षका पुरुष र एक जना  ६७ वर्षका पुरुषको निधन भएकोछ। दुबै जना हाइपरटेन्सन र डाइबिटिज लगायतका दीर्घ रोगबाट पीडित थिए ।

उक्त ८० वर्षका पुरुषको मृत्यु  स्केमिक बौल डिजिज ( आन्द्राको धमनीमा रक्तसञ्चार हुन रोकिनु) बाट प्रीन्सेस मार्गरेट अस्पतालमा भएको थियो । शुरुमा उनको भर्ना क्यारिटस मेडिकल सेन्टरमा गएको आइतबार भएको थियो । उनले कोरोनाभाइरसको खोप मार्च १ तारीख लगाएका थिए ।

६७ वर्षका पुरुषको मृत्यु  क्वङ वाह  अस्पतालमा भएको थियो । मार्च २ तारीख उनले खोप लगाएका थिए । हृदयघात भएर मंक कोक एमटिआर स्टेशनमा अचानक ढलेपछी गत बिहीबार उनी अस्पतालमा भर्ना भएका थिए ।

साइनोभ्याक भ्याक्सिन ग्रहण गरे पश्चात् निधन हुनेको संख्या ६ पुगेको छ। पहिलो र दोस्रो  मृत्यु प्रकरणमा  साइनोभ्याक भ्याक्सिनको प्रत्यक्ष सम्बन्ध नरहेको कुरा  छानबिन  आयोगले गरेको छ भने बाँकी केस छानबिन कै क्रममा छ।

आइतबार सम्मको आँकडा अनुसार हङकङमा भ्याक्सिन लिनेको संख्या करिब १७७,००० पुगेकोछ।  जस अन्तर्गत साइनोभ्याक भ्याक्सिनको पहिलो डोज लिनेको संख्या करिब १४९,२०० रहेकोछ भने  बायोएन्टेक अर्थात कोमिनार्टी भ्याक्सिन लिनेको संख्या २७, ८०० पुगेको छ।

तपाईको प्रतिक्रिया