विगत एक दशक देखि कविता लेख्दै आएका केरुङ हाङ्सेम आफ्नो लेखनमा स्पष्ट कवि हुन् । पहिचानको मुद्धा नेपाली साहित्यको केन्द्रमा बहस हुनुपर्छ भन्ने जिकिर गर्दै आएका यी कवि आफ्नो कविताहरुमा पनि त्यतिकै धारिला छन् प्रस्तुत छ साताको तीन कविता ।

अनुहारको स्केच

छिटो छिटो पाईला चालिरहेछ प्रलय घडी
प्राचीन बस्तीको छातिमा निवस्त्र सुतिरहेछ
कामुक रात,

सम्भोग गर्न खोजी रहेछ समय

घाटतिर राँके भुतहरु
एक दुई तीन हुँदै हराउदै खेलिरहेका छन्
सिंहदरबारको ढोकानेर रातो बत्ती
झ्याप्प झ्याप्प बलिरहेछ
आँधी कुरिरहेको चोकले गाइरहेछ आदर्शको गीत ।

निद पर पर शुन्यतातिर भागिरहेछ
बल्लबल्ल लामो ऐठनपछि व्युँझिए
घामको पहिलो प्रहर मै
काँधभरी बोकेर हार्नेहरुको ईतिहास
सडक ,चोक ,गल्लितिर दगुरुँ झैं लागि रहेछ

आङमा ईतिहासको सातो चडेको छ कि त अचेल
बर्बराउन थालेको छु निद्रामा,
आधारातमा गन्जी मै गल्लितिर दौडिउ झैं लाग्छ
हरेक सपनामा जुलुस पच्छ्याई रहेको हुन्छु।

चेतनाको रापले जब जल्न थाल्छ
भ्रमित कथाका ठेलिहरु
हस्तक्षेपको भंगालोले बगर बनाउन सुरु गर्नेछन्
मेरो नामको बस्तीहरुमा

महाभ्रमको आविष्कार गर्न लालायित हुनेछन् अभिसप्त महाशयहरु
चेतनाको फक्ताङलुङु सेसेन्तरलाई मन्साएको जिवात भन्नेछन्
यसरी म कहाँ उभिरहन सक्छु युगको तिखोधार टेकेर सधैं भरी
एक दिन आयु दाउमा राखेर उधुम्मै विस्फोट हुनेछु।

देश बोकेर लामबद्द हिडिरहेका आदिम यात्रीहरु
नाङ्गो सडकमा आफ्नै अनुहार खोजिरहेका छन्
आफैसित टाट पल्टिसकेका शासकहरु
निधारमा डडाउदै पसीना

समयलाई ह्याक गर्न खोजिरहेका छन।

स्वाभिमानलाई बन्धक राखेर
मुटुलाई झिरमा बोकि पराजित यात्रा गर्न सक्दैनन् सुदुर यात्रीहरु
झन्डाको रातो रङ्गले पोतिएर अनुहार
अपरिचित भइ सकेछन् कि त देशको आँखामा
किन बुझ्नै बुझ्दैनन् सडकको भाषा महाशयहरु?

कति बेगलको अनुभूति भिरेर घाँटीभरी
सडकको किनारमा तल माथी वरपर हिडीबस्नु घण्टाघरको काँटा झैँ ?
कसरी उभ्नु टेकेर भासिने देशको छाती?
कति गाउनु सुर न तालको राष्ट्रिय गीत ?
ईतिहासको किनारामा मिल्काईएको पुर्खाौली दस्तावेज
समयको कठघरामा उभेर वयान दिन तयार छ ।

देशको करङ भित्र हस्ताक्षरको नेलले जब बाँधियो स्वभिमान
अँध्यारोले निल्दै लग्यो आफ्नै नाम
उहिल्यै उहिल्यैको एकफोक्टा खेतको निम्ति अजम्बरी मान्छेको जब तोकियो आयु
सभ्यताको पुरानो पहाडले आकास थामी रहयो
युगको सिङ्गो भुभागमा
पाईतलाको लाहाछाप ठोकेर पुर्खालाई साँची राख्दै
उस्ले दावी गर्यो यो देशको नक्शा बनिनु शताब्दिऔं पहिले
यो माटोको क्यानभासमा कोरिएको थियो मेरो अनुहारको स्केच ।

देउरालीमा तिम्रो नाम

गाउँ उस्तै रहेछ
खुइयामारी लाउदै भारी बिसाउने चौतारी उस्तै रहेछ।
पातसंग सुसेल्दै भन्ज्याङ धाउने गोरेटो उस्तै रहेछ।
खै ! कसो कसो
तिम्रो मन बद्लियो कि ?
तिमी हिड्ने बाटो फेरियो ?
तिम्रो कथा सुनसान छ अचेल मायाको वस्तिमा।

जुन उदाएको रात
मन भरी पालाम बुन्दै
सृष्टिको सुन्दर फुल जब वर्णन गर्थ्यौ
शुन्यरातले एक तमासले सुनिरहेको हुन्थ्यो
सुमधुर मायावी स्वरले निशब्द हुन्थे पहाड
आफ्नै तालमा ताली बजाई रहेका हुन्थे पातहरु।

मेरै लागि भनेर झानेको तिनपाने
भुटेको किनिमाको अचार
कसैले नदेखी लुकाएर ल्याउथ्यौ
रातभर पालामको बिसौनीमा
छोच्चो गरेर खान्थ्यौं
तेहि बेला एउटा सभ्यता पछ्याउँदै
मायाका पान्डुलिपी दस्तावेज निर्माण गरिरहेका थियौं
जिवनका सादा पानाहरुमा ।

मुलबाटो हुँदै आउथ्यौं देउराली भन्ज्याङ्गमा
रात एक तमासले सुसेली रहेको हुन्थ्यो।
मुटु भरी मायाँ साचेर
माइतिराजालाई साँची राख्दै
जिवनका लय मिलाउदै
बुन्न थाल्थ्यौ पालाम शब्दका धागोमा ।

माया मुन्धुमी फुललाई उमार्दै ओइल्याउदै
जिवन्त बैंसका आख्यान जन्मिरहेको हुन्थ्यो
मायावी रातलाई देखेर
सल्लाका अग्लो रुखले मौन जुलुस लगाई रहेका हुन्थे
कयौं रातलाई यसरी जितेर
प्रेमिल स्तम्भ उभेको थियो समयको छातिमा ।

एक दिन,
जिवनका रङ्ग बदलुँ भनेर
जिवनका सागर सँगै तरुँ भनेर
विन्ती विसाउन पुगेँ सुर्के पुङ राखेर
तुम्मेहाङको मुन्धुम पछि
जब मैले बैनायाङ बाँधी दिएँ
अचानक तिमी मुस्कुराउनुले
जिवनको लय फरक सौर्न्दर्यमा बग्न थालेको थियो।

एक रात,
आँधी चलिरहेको थियो
पानी परिरहेको थियो
कानमा मिक्चिरी फुल सिउरेर
तिमी जमिन छोडेर माथी माथी
कुहिरोको गाउँमा गई रहेको थियौ
हेर्दा हेर्दै बादल जस्तै टुक्राटुक्रा फाटेर
समुन्द्रको बिचमा खस्यौ
छालको तरङ्गमा बिस्तारै विलिन भएर गयौ
म ,बिउझदा
तिम्रो मेरो समय विच्छेदित भएर
मायाको चोरुलुङ ढलिसकेको रहेछ।
एउटा मायावी युगको अन्त्य भइ सकेको रहेछ।

त्यही समय देखि खोजी रहेछु
त्यही दिन देखि पर्खी रहेछु
लिम्बुनी माछा भएर तम्मर उकालो ओरालो
पालाम गाउदै बग्दै छौ कि?
सेमेक्वा भएर लेक बेसि मलाई खोज्दै छौ कि?
भिर पहरामा अम्लारी फुल भएर फुल्दै पो छौ कि?

समयको अन्तरालमा
मुटु भरी माया बोकेर
आई पुगेको छु आदिम देउरालीमा
तिमी जतिकै अग्लो ढुङ्गा गाडेर
तिम्रो नाम लेखी छोड्नेछु
जहाँ प्रेमिल जोडिहरु फुल चडाउदै
भाक्नेछन् अमर मायाको नाममा युग युग सम्म ।

ज्युदो – सातोको – बोधता

फेदाङमा,
काँसको थालमाथी दियो कलस राखेर मुन्धुम फलाक्दै
युगको साम उठाई रहेछ
पोरोम‘
पोरोम‘
पोरोम‘

सबै भन्दा उकुसमुकुस खुला हिरासतमा हुदो रहेछ
श्वास पनि उस्को आदेशमा फेर्नु पर्छ
स्वतन्त्रताको तिर्खाले घाँटी सुके पछि
पिउनु पर्दो रहेछ आफ्नै रगत ।

सकसक लाग्दो पीडा कुनै बाँधले नछेक्दो रहेछ
एकदिन टोर्नाडो भएर जमिन माथी यात्रा गर्ने नै छ
आफ्नै बोधताको पहाड चडेर
पुरै आकाश थाम्ने मन छ
टाउको निचोर कि छाती चिथोर
मलाई झिरमा टांगेर ताराक हान
तर म आफ्नै बोधता बोकेर
बाँची रहेको हुनेछु बुक्की फुल जस्तै

गिदिको तुरुङमा चेतनालाई बाँधेर
कति पनि नियन्त्रण नहुदो रहेछ समय
युगको कठघरामा उभेर
सत्यताको वयान दिनु छ
ताकी अब हार्नेहरुको पनि ईतिहास लेखिनेछ।

चोकहरुमा
सडकहरुमा
शहरहरुमा
पहाडहरुमा
एक दिन आगो लाग्ने छ,
सलाई बोकेर समयको काँध माथि उभिरहेको छु

ईतिहासको माङ्गेन्ना उठाउदै
आदिम ओछ्यानबाट ब्युँझिएर
तमोर ओकालो बग्नु छ आफ्नै ज्युदो सातो लिएर
कि म अझै साम्माङ भइ सकेको छुईन,
म जाग्ने छु
उधुम मच्चाएर जाग्ने छु
जमिन टेकेर आकाश थाम्दै
माटो जप्नेछु
ढुङ्गा जप्नेछु
विद्रोहको विशाल पहाड बोकेर
एकदिन आईपुग्नेछु सिंहदरबारको ढोकानेर ।

तपाईको प्रतिक्रिया