काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी दुई दिने राजकीय भ्रमणका क्रममा बंगलादेशको राजधानी ढाका पुगेकी छन् । उनलाई विमानस्थलमा रेड कार्पेटमा स्वागत गरिएको छ ।

राष्ट्रपति भण्डारीलाई बंगलादेशी समकक्षी अब्दुल हमिदले विमानस्थलमा स्वागत गरेका थिए । राष्ट्रपति भण्डारीको स्वागतमा बंगलादेशका विदेशमन्त्री ए के अब्दुल मोमेन, स्वास्थ्यमन्त्री जाहिद मालिकी, रेलमन्त्री नुरुल इस्लाम सुजोन, विदेश राज्यमन्त्री मोहम्मद शाहरिरार आलमलगायत पनि उपस्थित भएका थिए । त्यस क्रममा राष्ट्रपति भण्डारीको सम्मानमा बंगलादेशी सेनाले गार्ड अफ अनरसहित २१ तोपको सलामी दिएको थियो ।

May be an image of one or more people, people standing and outdoors

राष्ट्रपति भण्डारी सोमबार बिहान नेपाल एयरलाइन्सको उडान नम्बर आर ए ००१ मार्फत ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकी थिइन् । विमानस्थलबाट राष्ट्रपति भण्डारी बंगलादेशको स्वतन्त्रता संग्रामका सहिदहरूको शालिकमा माल्यार्पण गर्न पुगेकी छन् ।

नेपालको राष्ट्राध्यक्षबाट ४२ वर्षपछि बंगलादेशको राजकीय भ्रमण भएको हो । तत्कालीन राजा वीरेन्द्र शाहले सन् १९७८ मा बंगलादेशको द्विपक्षीय भ्रमण गरेपछि राष्ट्राध्यक्षका रूपमा नेपालबाट भ्रमण भएको थिएन ।

राष्ट्रपतिको भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसहित ५४ सदस्य छन् ।

यस्तो छ दुई दिनको कार्यक्रम

– सोमबार बिहान राष्ट्रपति भण्डारीलाई ढाका विमानस्थलमा बंगलादेशका राष्ट्रपति अब्दुल हमिदले स्वागत गर्ने

– विमानस्थलबाट राष्ट्रपति भण्डारी बंगलादेशका सहिदहरूलाई श्रद्धाञ्जली दिन र माल्यार्पण गर्न जाने

– त्यसपछि होटलमा फर्कने र आराम गर्ने

– होटलमा पहिला बंगलादेशका विदेशमन्त्री शिष्टाचार भेटका लागि आउने

– त्यसपछि प्रधानमन्त्री सेख हसिनाले राष्ट्रपति भण्डारीसँग होटलमै शिष्टाचार भेट गर्ने

– बेलुकी राष्ट्रपति भवन बंगमा राष्ट्रपति हमिदसँग भेटवार्ता

– सोही भेटमा दुई पक्षीय सम्झौताहरू हुने

– त्यसपछि राष्ट्रपति होटलमा फर्कने

– मंगलबार बिहान ढाकास्थित नेपाली राजदूतावासमा आयोजित कार्यक्रम र दिवाभोजमा सहभागी हुने

– त्यसपछि मंगलबार दिउँसो काठमाडौं आउने

तपाईको प्रतिक्रिया