कथा
कोइली चरी बाठी हुन्छ भन्छन । मानिसले देख्दा कोइली बाठी देखिन्छे । किन कि उ सबै चराहरुलाई झुक्काएर उनीहरुको फुल चोरेर खाएपछि त्यस गुडमा उसले फुलेर छाडी दिन्छे ।

पछि त्यस चराले आफ्नै फुल सम्झेर कोराल्छ । अनि कोइली को बचेरा निस्किन्छ । सामान्य कोइलीकै जत्रै चराले कोराल्यो भने त त्यसलाई स्यहार सुसार चारो ख्वाउन सजिलो पर्ने हुन्छ । तर फिस्टा चराहरुको गुँडमा परयो भने माउ भन्दा बचेरा ठुलो भएपछि चारो बोकेर ल्याएर स्नेह पूर्वक ख्वाउदा माउको टाउकोनै निली दिन्छ ।

बचेराले न त माउलाई डल्लै निल्न सक्छ न त माउले बचेराको मुखदेखि टाउको नै झिक्न सक्छ । आखिर दुबैले ज्यान नै गुमाउनु परेको देखेकी थिएँ । म सानो छदाँ कहिलेकाही घाँस काटन जाँदा या गोठाला जाँदा त्यस्तो दृश्य भेटिन्थ्यो । र खुशी भएर माउ बचेरा नै समातेर घर लिएर आउने गर्थे ।

यसै गरि घाँस दाउरा गर्दै पहाडकै स्कुलबाट प्रेवेशिका मात्रै दिएकी थिएँ । माथिल्लो गाउँको बिर्खे म भन्दा उमेरले चार पाँच वर्ष जेठो बेलायती सेनामा भर्ति भएर एक छुट्टी आयो । मलाई माग्न आयो र आमा बाबुले मुख खोले । मेरो पनि त्यही चाहना थियो ।

मलाई थाहा भएसम्म बेलायती सेनामा जागीर गर्नेलाई मलायाको लाहुरे भनिन्थ्यो । गाउँमा मलायाको लाहुरेलाई खुबै चिज मानिन्थ्यो । पाकिस्तानको लाहोरमा सबै भन्दा पहिला गोर्खाहरुले नै सेवा गरे, र लाहुरे बने । जुनबेला हिन्दुस्तान र पाकिस्तान छुट्टिएको थिएन ।

महाभारत भनिन्थ्यो । सन् १९४७ मा ब्रिटिस साम्राज्यबाट भारत स्वतन्त्र भएपछि बेलायतले मलायामा अथवा अहिलेको मलेसियामा आफ्नो सेना राखेकोले मलायाको लाहुरे भनियो ।

मलाया पनि छाडेर हङकङ्ग आउँदा हङकङ्गको लाहुरे नभनेर मालायाको लाहुरे नै भनिन्थ्यो । अहिले त बेलायत र ब्रुनाइको लाहुरे भइसकेका छन गोर्खालीहरु ।

जब मेरो श्रीमान बिर्खे दास्रो छुट्टी आयो उसले फ्यामिली पर्मिसन लिएर आयो र म फ्यामिली बनेर श्रीमानसँग हङकङ्ग गए । सन् १९९७ पछि बेलायतले चिनलाई हङकङ्ग हस्तान्तरण पश्चात सबै गोर्खालीहरुले हङकङ्ग छाडनु परयो र दुइबर्ष पश्चात नेपाल फर्कियौं ।

तीन महिनाको छुट्टी मनाएर श्रीमान बेलायतमा हाजिर भए । दुइबर्ष पछि श्रीमानको पल्टन बेलायतबाट ब्रुनाइ फर्किएपछि म दोस्रोपटक फ्यामिली बनेर ब्रुनाई गएँ । ब्रुनाइमा पनि दुइबर्षको बसाई पछि फेरी श्रीमानको पल्टन बेलायत नै जाने भयो ।

त्यत्तिञ्जेलसम्म हाम्रा एक छोरा र एक छोरी जन्मिसकेका थिए र सपरिवार हामी फेरी नेपाल नै फर्कियौं । श्रीमान फेरी बेलायत फर्किए । हङकङ्ग छदा पो कहिले बेलायत, कहिले ब्रुनाई त कहिले हङकङ्ग, गोर्खा रेजिमेन्टहरु पालैपालो गर्ने गर्थे । हङकङ्ग टुटेपछि, बेलायत र ब्रुनाई मात्रै हुनेभो ।

श्रीमान तीनबर्ष बेलायत बसेर सन् २००४ मा पेन्सन निस्किए । श्रीमानको बेलायती सेनामा आर्जन गरेको पैसाले ललितपुरको नखिपोटमा घर बनाएका थियौं । बैंक ब्यालेन्स थियो । मधेस खेती थियो । खाना लाउनको लागि पर्याप्त नै थियो ।
श्रीमान पेन्सन आएको तीनमहिना नबित्दै अप्रत्यासित रुपमा सन् १९९७ पछि अवकाश हुने गोर्खाहरुको लागि आवासिय भिसा दिने भनेर तत्कालीन प्रधानमन्त्री टोनी ब्लेरको सरकारले घोषणा गरयो ।

घोषणा हुनुबित्तिकै यति हर्षोत्कर्षमा पुगेँ कि सायद त्यसबेलाको जस्तो जिन्दगीमा हर्षले गदगद कहिल्यै भएकी थिइन होला म । श्रीमान लगायत सबै चिनेजानेका आफन्तजनहरु पनि त्यसरी नै हर्षको चरम सीमामा थिए ।

श्रीमानको पेन्सन सोझाएर बेलायत हिडने तरखरमा लागेँ । म पनि बेलायत जानको लागि पूर्ब तयारीमा लागेँ। गोरुखाने भाषा सिकेर खर्लप्प बेलायत खाने दिवा सपना बुन्न थालेँ । र ल्याङ्ग्वेज इन्स्टीच्युटमा भर्ना भएर अङ्ग्रेजी भाषा सिक्न थालेँ ।

श्रीमान बेलायत गएको एकबर्ष बित्न आँटिसकेको थियो मेरो भाषाको प्रगति भने यथास्थिति मै रहयो । खिया परेको दिमागले एउटा टिप्न सके त मरिजाउ ! एकबर्ष पछि हाम्रो काठमाण्डौको घर भाडामा लगाएर हामी सपरिवार बेलायत बसाई सरयौं ।

हुन त बेलायत मेरो पहिलो पटक होइन । ६ महिना बेलायत भ्रमणका लागि सैनिकबाट अवकाश हुन अगावै श्रीमानले बोलाएका थिए । त्यसबेला भ्रमणमा आएकी थिएँ भने अहिले बेलायत निल्ने जोस जाँगर बोकेर नेपाल छाडेर आएकी छु ।

बेलायतमा जागीर गर्दा सर जोनमुर सैनिक छाउनी फोक्स्टनमा भएकोले श्रीमानले फोक्स्टनमै व्यवस्था गरेका रहेछन । एकबर्षको फोकस्टन केन्टको बसाई पछि श्रीमानको कामको राम्रो अवसर लण्डनमा मिल्यो र मेरो लागि पनि जागिर मिल्ने भयो र लण्डन नै सरयौं । हुन त फोक्स्टनमा हुँदा पनि काम गरेको थिए ।

अलिक टाढा भएपनि केन्टाब्ररी र अक्स्फोर्डको फलफुल प्यकिङ्गमा हप्तामा दुइदिन र फोक्स्टनमै शौचालय सरसफाई गर्ने क्लिनरको काम हप्तामा ६ घण्टामात्र हुन्थ्यो । बढी काम गर्छु भन्दा पनि नपाइने ।

हे दैब के यस्तो बिजोग ! नेपालमा खाना बनाउने, लुगा धुने, सरसफाई गर्ने र जुठोभाँडो गर्नको लागि पहाड गाउँबाट काम गर्ने सानी फुच्ची ल्याएकी थिएँ । सबै त्यसले गर्थी। आफुलाई हाइसुखै थियो । पूर्बजन्ममा कसको ऋण खाइएको थियो र त्यही चुक्ता गर्नका लागि आइएको रहेछ भन्ने बल्ल बेलायत आएपछि मात्र थाहा भयो ।

जेहोस लण्डन आएपछि अफिस सरसफाई गर्ने आठ घण्टाको काम पाएँ । यो काम पाउँदा म खुशी हुनु स्वभाविक थियो । बेलायत आएका नेपालीहरुले यतिको काम पाउनु अहोभाग्य नै मान्नु पर्छ । बेलायत आएपछि विभिन्न अवरोध नै अवरोधका पहाडहरु मात्रै ।

प्रथममा त भाषिक अवरोध हुने भइहाल्यो । त्यत्रो पैसा खर्च गरेर नेपालमा अङ्ग्रेजी सिकेको केही काम लागेन । नेपालको अङ्ग्रेजी प्रशिक्षकको उच्चारण ठयाक्कै ईन्डियन टङ्गमा । गुडड मोर्ररर्निङ्ग कलास हाउ आर्ररर यू ? भनेर नेपालमा सिकाउथ्यो । यहाँ त गुड मोनिन क्लास हाउ अ… यू ? नेपालमा “र” लाई बेस्कन ओकलेर बोल्नु पर्ने । बेलायतमा “र” लाई ढीडो निले जस्तो सुलुत्त निलेर बोल्नु पर्ने कहाँ मिल्थ्यो र भाषिक तालमेल ।

तैपनि धन्य लण्डनमा सरसफाई गर्ने भएपनि आठ घण्टे काम त मिल्यो । प्रथम दिन काममा गएँ । मेरो सुपरभाइजर अफ्रिकन मूलको नीट श्यामबर्णको करिव ३० बर्षको केटो रहेछ । उसको हुलियाको विवरण दिनु जरुरी नपर्ला सायद तपाइँको मन मस्तिष्कमा छाइसक्यो होला । किरिङमिरिङ केस राम्ररी नपलाएको र साँढे गोरुको जस्तो गर्धन यस्तै यस्तै ।

उसले म्यानेजरकोमा लिएर गयो । म्यानेजर चाही सु डेभिस भन्ने बेलायती महिला नै थिइन । म्यानेजरले नै मलाई ईन्डक्सन गरायो । जसमा हेल्थ एण्ड सेफ्टी बारे जानकारी गराइन्छ । बेलायतको काम गर्नु भन्दा पहिला जसरी पनि नयाँ कामदारलाई ईन्डक्सन नगराई काम गराइदैन । बेलायत आएरै थाहा भयो यो अति जरुरी पनि रहेछ ।

काम गरिरहेको अवस्थामा कुनै दुर्घटना भएमा त्यहाँबाट बच्ने उपायहरु सिकाइन्छ । जस्तै आगलगी भएमा भागेर निस्कने ढोकाहरु कता र कुन दिशामा छन । कुनै साथीलाई चोटपटक लागेमा के गर्ने र काम गर्दा आफुले के के कुरा गर्न हुन्छ र नगर्ने कुराहरु के के हुन भनेर चेतावनीका साथ सबै कुराको जानकारी गराइन्छ ।

ईन्डक्सन सिद्धएपछि काम आरम्भ भयो । विशाल अफिसमा शौचालय नै चार–पाच वटा सफा गर्नुपर्ने । त्यस दिन मेरो सुपरभाइजरले मद्दत गरयो । प्रथम दिन नै गाह्रो परिरहेको बेला अलिकति गुन लगायो । त्यसदिन उसको रुपप्रती घृणा लागेपनि उसले गरेको सहयोगमा कृतज्ञ नै थिएँ ।

आज भोली भन्दै मेरो काम पनि ६ महिना जति बितिसकेको थियो । मेरो सुपरभाइजरले म सँग कुराकानी गर्न खूब मनपराउँथ्यो । उसको अफ्रिकन टङ्गको अंग्रेजीमा भन्ने गर्थ्यो – आई फोगोअट योआर कन्त्रीज नेम । मैले उत्तर दिने गर्थे – माई कन्ट्री इज नेपाल । ओ….आई रिमेम्बर नेपल भनेर हाँस्ने गर्थ्यो ऊ ।

लण्डनको सार्बजनिक शौचालय देखि लिएर जताततै सरसफाइ गर्ने यिनै अफ्रिकन मूलका काला जातीहरु नै देखेकी थिएँ । म काम गर्नेमा पनि तिनी हरु नै थिए । महिलाहरुमा म मात्र नेपाली र अरु सबै कालाजातीका थिए । म एउटा नेपालीलाई उनीहरुकै रङ्को मान्छे सुपरभाइजरले मद्दत गरेको देखेर उनीहरुले ईष्र्याको दृष्टिकोणले पनि हेर्न थालेका थिए ।

म पनि उसले सहयोग नगरोस भन्ने चाहन्थे । आफ्नो काम गर्न सक्षम हुनु पर्छ र आफ्नो पसिनाको कमाई खानु पर्छ भन्ने मलाई पनि लागेकै हो । फेरी अचानक म्यानेजरको नजरमा परे भने म कामबाट स्याक हुन्छु भन्ने डरपनि थियो ।

तर उसले सबै नै गर्थ्यो र अलिअलि मात्रै मैले गर्नु पर्थ्यो । बिस्तारै बिस्तारै ऊ मेरो नजरमा ह्याण्डसम लाग्न थालीरहेको थियो । काम गर्दै जाँदा समय बित्दै गयो । र त्यही काम अस्थाइबाट स्थाइ भएपछि काम निरन्तर गर्दै गएँ ।

श्रीमानको र मेरो कामको समय फरक थियो । ऊ रातभरि सेक्युरिटी गरेर र बिहान घर फर्किन्थ्यो । ऊ फर्किनु अगावै म दिनको काममा जाने गर्थे फेरी म फर्किने बेला उसको काममा जानेबेला हुन्थ्यो । कहिले काहिँ दैवसंयोगले छुट्टी मिल्थ्यो । नभए शनिबार, आइतबार मेरो सधै बिदा हुन्थ्यो भने श्रीमानको शनिबार आइतबार पनि काम हुने गर्थ्यो ।

यसरी श्रीमान श्रीमतीको भेट नै हुन गाह्रो, साथी भाई आफन्तजन भेटन त ज्योतिषीलाई साइत हेराउँदा पनि साइत जुराउनु नै गाह्रो हुने प्रकारको ब्यस्तताले गाँजेको थियो बेलायती जिन्दगीलाई । यति विशाल बेलायतमा आफन्तहरु थुप्रै छन ।

जेठी दिदीको परिवार लण्डन हेजमा बस्ने गर्छन । माइली दिदीको पनि परिवार लण्डन नर्थहल्टमै छन । उनीहरुसँग नजिक भएकोले कहिलेकाही भेटने गथ्यौं । लण्डनकै ग्रेज र फेल्टहमका साथीहरु सँगपनि भेट भई नै रहन्थ्यो । मेडस्टोन, स्विण्डन, अल्डरसट, बेजिङस्टक, रेडिङ्ग, फार्नब्रो, क्याम्बर्ली, प्लमस्टेड, वेम्वलीका साथीहरुसँग पनि कहिलेकाही भेट हुने गर्थ्यो ।

अन्य टाढामा रहेकाहरुमा दाई भाउजु वेल्सको न्युपोर्टमा हुनुहुन्छ । माइली छेमा र सानबा वेल्सकै कार्डिफमा र कान्छी छेमा र सानबा डनकास्टरमा बस्नुहुन्छ । जेठी फुपु र फुपा परिवार स्कटल्याण्ड अवर्डिनमा हुनुहुन्छ । र कान्छी फुपु, फुपा र परिवार स्वाञ्जीको क्लेनेथ्लीमा हुनुहुन्छ । बर्मिङ्गहाम, नटिङ्गहाम, पिटरब्रो र ननिटनमा पहिला पल्टनमा सँगै फ्यामिली बसेका साथीहरु बस्ने गर्छन ।

श्रीमानको बिदा र मेरो बिदा नमिल्ने भएकोले म कहिलेकाहिँ एक्लै नेशनल एक्सप्रेस बसमा टाढाका आफन्तहरुलाई भेटन जान्थे । यो बस बेलायतभरि जाने गर्छ र आरामदायी र सुबिधाजनक छ । हवाइजहाजको जस्तै सिटको पेटी बाँधेर सामानहरु पनि सुरक्षितसाथ हवाइजहाजमा जस्तै राख्ने ठाउँ भएकोले आनन्द साथ यात्रा गर्न पाइन्छ ।

त्यही बस यात्रामा दुइ फरक तर उस्तै उस्तै विषयको दृश्यावलोकन गर्ने अवसर पाएकी छु । कान्छी छेमा र सानबालाई डन्कास्टर भेटन जाँदा एउटी श्यामबर्णकी केटीले निख्खर स्वेतबर्णको नानी लिएको देखे । एक छिन सम्म त विश्वास गर्नै सकिन । त्यो नानी प्लास्टीकको गुडिया किनेर बोकेकी हो कि जस्तो ।

अलिकति केही भएर च्याँ गरेर रोएपनि सरि डार्लिङ्ग भनेर यति माया गरिरहेकी थिइन वर्णन गरेर साध्य छैन । एडोप्टेड अथवा सरोगेटेड हो भनौ भने ब्रेस्ट फिडिङ्ग गरेर देखाई कस्तो असुहाउँदिलो लागेको थियो ।

केही महिना पछि फेरी माईली छेमालाई भेटन जाने निधो गरेर लण्डन भिक्टोरियाबाट वेल्स कार्डिफ जाने नेशनल एक्सप्रेस बसमा चढे । मेरो सुटकेशहरु ड्राइभरलाई राख्न दिएर सिटमा गएर पेटी बाँध्न लागे । त्यहीबेला एउटी गोरी केटी काखमा नानी च्यापेर मेरो सिधै दाहिने पट्टिको सिटमा बसिन ।

त्यो श्वेतबर्णकी केटीले श्यामबर्णको केटाको नासो भिरेकी रहेछिन । स्निग्ध सेतो हिमालझै चम्किरहेको ति आइमाइको अङ्गालो भित्र डढेलोको ठुटाजस्तो शिशु मातृबात्साल्यताको सागरमा पौडिरहेको थियो । त्यो बालकको ठुलो लोब्रिएको बाक्ला ओठहरु बाएर खाने कुरा मागी रहेको थियो ।

उनले स्नेहपूर्बक चिप्सको पोका फोरेर निकालेर दुइपिस हातमा थमाई दिन्छ, एकगाँस मै सिद्धाएर फेरी माग्ने गर्थ्यो । गर्दागर्दै एकै छिनमा एकपोको पोट्याटो चिप्सको पोको खाली बनायो । अर्को पोको चिप्स फोरेर ख्वाउन थाली । त्यो पनि सकियो ।

त्यसपछि स्याण्डविचको पोको निकाली र आधापिस आफुले खाई र आधापिस बच्चाको हातमा दिई त्यो सक्न पनि पाँच मिनेट पनि लागेन । अझै वाक्य नफुटेको आवाजमा चिच्चाएर मुख बाएर खाने कुरा माग्नथाल्यो ।

फेरी झोला छामी र बच्चाले खाने फलफुलबाट तयार गरिएको लिटो, तुथपेस्ट जस्तो प्याक तर अलिकति ठुलो प्याकमा निकाली । मुखमा निचोरेर लगाई दिई सरसर्ती गोहरोले कमिला निलेसरी एउटा प्याकपनि खाली बनायो ।

लण्डन भिक्टोरिया देखि कार्डिफ आउन साढे तीनघण्टाको अवधिमा निरन्तर खाइरहेकै थियो । फेरि जुस निकालेर पिलाई जुसको बट्टापनि रित्तियो । फेरि अर्को पेस्ट निकालेर आधा ख्वाउँदै गर्दा कार्डिफ आइपुग्यो । म तिनछक्क परें । र उहिले म सानो छदा कोइलीको बच्चा फिस्टाले कोरलेर मुख बाएको बचेरालाई चारो ख्वाउँदा माउँ फिस्टाकै टाउको निलेर भत्राक भत्राक गरेको सम्झनालाई पुनर्ताजगी गराइदियो ।

मैले आफ्नो पेटलाई छामे र पेटभित्रको भ्रुण पनि त्यस्तै श्यामबर्णको भएको झलझली आँखामा खेल्न थाल्यो । अब यो भ्रुणले पनि जन्मिएपछि मलाई यसरी नै सताउने छ । अहिले पेट भित्रै त मेरो श्रीमान बिर्खे आफनै रगत हो भनेर मख्ख छ ।

भरखरै एकहप्ता पनि भएको थिएन उसका साथीहरुले ओ…. नम्बरी बुढेसकालमा जोस गरेकै हो भनेर मेरो बढदो पेटलाई संकेत गर्दै ठट्टौली प्रश्न गरेका थिए ।

मेरो श्रीमानले गौरवकासाथ, साथी हो बेलायत आएपछि एउटा डाइरेक्ट रातो पासपोर्टको लागि बल गर्नु परयो नि ! भनेको आवाज मेरो कानमा प्रतिध्वनित हुनथाल्यो । छाती भतभती पोल्न थाल्यो । पसिना चिट चिट बग्नथाल्यो ।
मनमनै सोचे जब अस्पातालमा शिशुको जन्म दिन्छु किरिमिरिङ् केस र श्यामबर्ण जन्मिएपछि बिर्खेको मन मर्नेछ र उनी फर्केर जानेछन र सदाको लागि मेरो अनुहार हेर्न फर्किने छैनन।

मैले कसरी बालकलाई उसको रगत भनेर दाबी गर्न सकुँ! उसको रङ्गले नै स्पष्ट छुटिनेछ । किन चाहियो र डिएनए परीक्षण नै ? बेलायत आउने बित्तिकै एकादेशको राजकुमारीको कथा झै सुनेकी थिएँ ।

कसैले लाहुरेकै श्रीमती हुन भन्थे भने कतिले हङकङ्ग आइडीबाट आएका भाञ्जाकी श्रीमती हुन भन्थे । सपना झै लाग्ने गरि कुरा गर्थे । उनले अस्पतालमा शिशुलाई जन्म दिइन । श्रीमान खुशीकासाथ सुप बनाएर अस्पताल जाँदा त श्रीमतीको काखमा त निग्रो बालक । श्रीमानले लगेको सुप पनि ढवाँगमा हालेर टाप ठोकेपछि कहिल्यै फर्किएर आएनन श्रीमती लाई हेर्न ।

यो दन्त्यकथा जस्तो सुनेको घटना वास्तविक हो । र अहिले मेरो जिन्दगीमा चक्कर मारेर आयो । पृथ्बी गोलो छ भने जस्तै । मेरो दशा अब के होला ? त्यो कालेले मलाई स्वीकारयो भने त जसोतसो जीवन धान्न पर्ला । स्वीकारेन भने मेरो के हालत हुन्छ ?

मलाई मेरो श्रीमान बिर्खेको पनि ज्यादै माया लाग्छ । ऊ इनोसेन्ट छ इमान्दार छ । मैले काम गर्न जाँदा ईण्डक्सनमा मिलेर हेल्थ एण्ड सेफ्टीको नियमलाई अप्लाई गरे । तर कन्ट्रासेप्सनलाई चाही किन अप्लाई गरिन थुइक्क बुद्दु ।

कोइली चरीको फुल कोरेलेको फिस्टा चरी झै एउटा निग्रो नानी काख च्यापेर बाँकी जीवन बिताउन बाध्य हुनेछु । म आफै कोइली चरी झै बाठी हुन चाहन्थे तर म त काग जस्तो मात्रै बन्न सकेछु । किन कि काग बाठो भयो भने गुहु खान्छ भन्ने उखान सुनेकी थिएँ र त मैले गु….।

१. हेल्थ एण्ड सेफ्टीः काम गर्ने स्थलमा कुनैपनि आकास्मिक घटना भएमा पालना गर्नु पर्ने नियमहरु
२. इन्डक्सनः काम आरम्भ भन्दा पहिला त्यहाँ हुने सम्भावित खतराको जानकारीका लागि प्रशिक्षण दिने तालिम
३.हङकङको भाञ्जाः बाबु बेलायती गोर्खा सैनिक सेवामा हुँदा हङकङमा जन्मिएको ब्यक्ति

तपाईको प्रतिक्रिया