काठमाडौं । कैलालीको टीकापुर घटनामा मुख्य दोषी ठहर भएर जेल सजाय भोगिरहेका रेशम चौधरीको रिहाइबारे वार्ता गर्न उनकै संयोजकत्वमा वार्ता टोली गठन गरिएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले उनको रिहाइका लागि वार्ता टोली बनाएर आउन हिजो आग्रह गरेका थिए ।

कैलालीको हसुलियामा थारुवान-थारुहट राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुको नेतृत्वमा बसेको बैठकले छ सदस्यीय वार्ता टोली गठन गरेको हो । समितिको संयोजकमा रेशम चौधरीलाई नै राखिएको छ भने सदस्यमा लक्ष्मण थारु, रामप्रसाद थारु, चुनिराम थारु, बिना चौधरी र यमुना चौधरी रहेका छन् । टीकापुर घटना मुद्दा फिर्ताका लागि पहल गरिरहेका सबैलाई बन्दी परिवारले धन्यवाद पनि दिएका छन् ।

थारुवान-थारुहट राष्ट्रिय मोर्चाका कैलाली संयोजक माधव चौधरीले सरकारले वार्ताको वातावरण बनाएपछि वार्ता टोली गठन गरेको बताए । रेशम चौधरीलाई बाहिर ल्याएर मात्रै वार्ता हुने उनको भनाइ छ ।

२०७२ भदौ ७ गते टीकापुर घटना भएको थियो । घटनामा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित नौ जनाको मृत्यु भएको थियो । घटनाको योजनाकार भएको भन्दै जिल्ला अदालत कैलालीले चौधरीलाई जन्मकैदको सजाय सुनाएको थियो, जसलाई उच्च अदालत दिपायलले सदर गरेको छ ।

टीकापुर घटनामा चौधरीसहित ७ जनाले जेल सजाय भोगिरहेका छन् । लक्ष्मण थारुसहित १८ जनालाई उच्च अदालतको फैसलाले दोषी करार ठहर गरेको छ ।

बैठकले १ महिनाभित्र टीकापुर घटनालाई राजनीतिक समाधान नगरे सशक्त आन्दोलन गर्नेसमेत निर्णय गरिएको थारुवान-थारुहट राष्ट्रिय मोर्चाका कैलाली संयोजक चौधरीले बताए ।

हिजो बिहीबार एमाले केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य महेश बस्नेतले पनि रेशम चौधरीसँग डिल्लीबजार कारागारमै पुगेर भेटेका थिए ।

तपाईको प्रतिक्रिया