काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकारलाई दिएको समर्थन केही दिनभित्रै फिर्ता लिने प्रस्ट पारेका छन् । राजनीतिक गतिरोधबारे बृहत् नागरिक आन्दोलनले शनिबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै दाहालले प्रतिगामी भनेको सरकारलाई दिएको समर्थन अब धेरै दिन नरहने बताएका हुन् ।

प्रधानमन्त्री केपी ओलीले असंवैधानिक र अलोकतान्त्रिक रुपमा प्रतिनिधिसभा विघटनको कदमलाई लिएर आन्दोलनमा उत्रिएका दल र शक्तिले हत्त न पत्त समर्थन नलिन दबाब दिएको भन्दै उनले अब धेरै दिन कुर्न नसक्ने बताए ।

अध्यक्ष दाहालले ओलीका कदमविरुद्ध सडकमा गएका राजनीतिक दलहरुबीच सहमति गर्ने कोसिसले समर्थन फिर्ता लिने विषय ढिला भएको प्रस्ट्याए । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले पनि माओवादी केन्द्रले सरकारलाई समर्थन गरिरहेर दोष आफूहरुमाथि थोपरेको टिप्पणी गरे ।

जवाफमा दाहालले अलोकतान्त्रिक र असंवैधानिक कदम चाल्ने मधेसविरोधी ओली प्रवृत्तिविरुद्ध रहेकाहरुको सरकार बनाउन सहयोग गर्न ठाकुरलाई आग्रह गरे ।

प्रचण्डले सर्वोच्चले संसद विघटन उल्टाएपछि आफूहरुले रिल्याक्स महसुस गरेको बताए । ‘त्यसलाई ठूलो युद्ध जितेको ठानेर हामीले रिल्याक्स गरेकै हो, त्यो गल्ति भयो,’ प्रचण्डले भने ।

तपाईको प्रतिक्रिया