काठमाडौं । काठमाडौं उपत्यकामा हावाको प्रदूषण बढेको छ ।

हावाको प्रदूषण मापन सूचक (एक्यूआई) दुई सयभन्दा माथि जानु स्वास्थ्यका लागि घातक मानिनेमा अहिले काठमाडौंका भक्तपुर, कीर्तिपुर, भैँसेपाटीलगायतका ठाउँमा भएका प्रदूषण मापन केन्द्रहरूले एक्यूआई दुई सयभन्दा बढी देखाएका छन् ।

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हावाको प्रदूषण बढेको वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीले जानकारी दिए। अहिले सिमराको एक्यूआई दुई सय ६० पुगेको छ । प्रि-मनसुनको समयमा औसतभन्दा निकै कम पानी पर्नु तथा डढेलो र औद्योगिक गतिविधिका कारण वायु प्रदूषण बढेको प्रवक्ता जोशीले बताए ।

उनका अनुसार केही दिनयता काठमाडौं, भक्तपुर, ललितपुरसहित हेटौँडा, विराटनगर, सिमरा, जनकपुर, धनगढीलगायतका ठाउँमा हावाको प्रदूषण बढेको छ । शुक्रबार उपत्यकामा बाक्लो तुवाँलो पनि देखिएकोले समस्या थपिएको भन्दै जोशीले सकभर घरबाहिर ननिस्कन आग्रह गरेका छन् ।

शनिबार र आइतबार सार्वजनिक बिदा रहेकाले वायु प्रदूषण केही घट्ने अपेक्षा गरेको र पर्सीसम्म नघटेमा वायु प्रदूषण बारेको चेतावनी सहित विज्ञप्ति निकाल्ने उनले बताए । तत्काल वायुमा रहेको धुलोको कण सफा गर्ने गरी पानी पर्ने वा त्यसलाई बढार्ने गरी हावा नचले समस्या अझै बढ्ने जोशीको भनाइ छ ।

यद्यपि तत्काल पानी पर्ने सम्भावना भने नरहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले बताए । तराईसहित विभिन्न ठाउँका जङ्गलमा लागेको डढेलोको धुवाँ हावामा मिसिँदा वायु प्रदूषण बढेको उनले बताए । काठमाडौं कचौरा आकारको भएकाले हावा बाहिर बहने ठाउँ नभएकाले धुम्मिएको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया