काठमाडौं । महोत्तरीको भंगहा नगरपालिका ८ धरमपुरका सात बालिका–किशोरी बेपत्ता भएका छन् । मंगलबार बिहान घाँस काट्न एकसाथ खेततिर गएका ५ बालिका र २ किशोरी अहिलेसम्म सम्पर्कमा आएका छैनन् ।

बेपत्ता हुनेमा ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सीमा पासवान, १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योती पासवान, १३ वर्षीया रिया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान रहेका छन् ।

भंगहाका नगरपालिका प्रमुख सन्जीव साहका अनुसार उनीहरु हिजो बिहान करिव ११ बजेदेखि घाँस काट्न गाउँ नजिकै खेततिर गएका थिए । अहिलेसम्म नफर्किएको र हिजो साँझदेखि नै स्थानीय प्रतिनिधिसहितको टोली खोजी कार्यमा लागेको मेयर साहले बताए ।

बालिका तथा किशोरी बेपत्ताको खबरले धरमपुरमा हलचल मच्चिएको साहले बताए ।

महोत्तरीका प्रहरी प्रमुख एसपी दिनेश आचार्यले जानकारी आएलगत्तै उनीहरुलाई खोज्न प्रहरी परिचालन गरिएको बताए । उनले एकैपटक सात बालिका-किशोरी सम्पर्कबिहीन हुनु गम्भीर भएको जनाए ।

तपाईको प्रतिक्रिया