चन्द्रागिरि नगरपालिका वडा नं ४ थानकोट , काठमाण्डौ स्थायी ठेगाना, खास नाम श्याम बलामी तर नेपाली साहित्यमा “मौन आवाज”को नामले परिचित उनका कविताहरु अत्यन्तै शसक्त छन् । प्रस्तुत छ साताको तीन कविता ।

एकदिन मान्छे आफ्नै घर आइपुग्नेछ

जसरी
तिव्र गतिमा समय फर्केर
उही समयमा आइपुग्नेछ !

ध्वनि फर्केर जसरी
उही मौनतामा आइपुग्नेछ !

जसरी
अस्ताएको घाम फर्केर
उही दिशामा आइपुग्नेछ !

जसरी
बतास फर्केर
उही ध्यानमग्न गुफामा आइपुग्नेछ !

जसरी
दुर्गम क्षितिजको एक चोक्टा आकाश
समीप आइपुग्नेछ !

जसरी
निर्वासित चरा फर्केर
उही गुँडमा आइपुग्नेछ !

जसरी
बगेर गएको आदिम नदी फर्केर
उही प्राचीन पहाडमा आइपुग्नेछ !

जसरी
विघटित यात्राबाट फर्केर बाटो
उही बाटोमा आइपुग्नेछ !

ठीक त्यसरी नै –

पटक पटक आफैबाट चोइटिएर गएको
आफैबाट खण्डित भएर गएको
आफैबाट टाढिएर गएको
एउटा सनातन मान्छे
फर्केर फेरि आफ्नै घर आइपुग्नेछ !

स्मृतिको छायाँ पछ्याउँदै पछ्याउँदै
एकदिन मान्छे आफ्नै घर आइपुग्नेछ !

अनुभूति

मैले जुन रातलाई
गहिरो अन्धकार भनेको थिएँ
मानिसहरुले त्यही रातलाई पूर्णिमा भनेका छन् !

मैले छोएका सारा यथार्थहरुलाई
मानिसहरुले वर्जित विषय मानेका छन् ।

आगोको स्नान
हिउँ पहिरोको कठ्याङ्ग्रिदो स्पर्श हो भनेको थिएँ
मानिसहरुले पत्याएका छैनन् ।

पानीको आवश्यकता सम्भोग भन्दा ज्यादा आवश्यक छ
त्यसपछि सुतौँला भनेको थिएँ मानिसहरु निदाइसकेछन् ।

रातो रंग
रंग होइन रगत हो भनेको थिएँ
मानिसहरुले विश्वास गरेका छैनन् ।

घाँस उखेल्नुपूर्व
मस्तिष्कमा नैतिक सफाई जरुरी छ भनेको थिएँ
मानिसहरु हाँसिरहेका छन् ।

सपनाको अर्थ जीवनको सम्झौता होइन भनेको थिएँ
मानिसहरु कता हो कता पुगिसकेछन् !

संसारलाई आँखिझ्यालबाट होइन
हृदयको कोमलताबाट हेर्नुपर्छ भनेको थिएँ
मानिसहरु मुन्टो बटारिरहेका छन् ।

लज्जा यौनाङ्ग छोप्नु होइन
निर्लज्जता नग्नता होइन भनेको थिएँ
मानिसहरुले प्रतिवाद गरेका छन् !

ईश्वर केवल एउटा अवधारणा हो भनेको थिएँ
मानिसहरुले एकसाथ मलाई हमला गरेका छन् ।

अस्तित्व झुट हो
सत्यको सार्वकालिक महत्व हुँदैन भनेको थिएँ
मानिसहरुले मलाई लखेटेका छन् ।

सीमा र र बन्धनहरु अमर्यादित नियमहरु हुन्
तिनलाई नाघेर सीमान्त छुन जाऊ भनेको थिएँ
मानिसहरुले मलाई निर्घात कुटेका छन् ।

प्रेम र संवेदना मायावी खेलौना हो भनेको थिएँ
मानिसहरुले मलाई पागल भनेका छन् ।

हिड्नु र नहिँड्नुले यात्रा निर्माण गर्दैन
लड्नु र उठ्नुले जीवन निर्माण गर्दैन ।

केवल चेतनाले रुझेको मन मन हुन्छ
केवल विचारले भिजेको शरीर शरीर हुन्छ भनेको थिएँ
मानिसहरु मलाई उपहास गरिरहेका छन् ।

शून्य र चैतन्य एउटै रुप हो
नहुनु तर र भेटिनु अनुभूति हो भनेको थिएँ
मलाई मानिसहरुले सुनिरहेका छैनन् !

दोबाटोको गहिरो शुन्यता

जंगलबाट फर्किरहेका चराहरुका गीतहरुलाई
दोबाटोमा भेटें !

सुकेका पातका मैला जड्यौरी ओडेर
सहरतिर
आफन्तहरु खोज्न हिंडेका
आदिवासी रुखका जराहरुलाई पनि –
दोबाटोमा भेटें !

गाउँकी फुलमायाको बैंश सापटी मागेर
बेतोड कुदिरहेको हुरीलाई पनि –
दोबाटोमै भेटें !

दीर्घ रोगको उपचार गर्न हिंडेको पहाडलाई
सुत्केरी नदीलाई
कुपोषणग्रस्त गाउँ –बस्तीहरुलाई
दोबाटोमै भेटें !

युगभरीका अनगिन्ती विधवा आइमाईहरुलाई
अनाथ बालबालिकाहरुलाई
वृद्ध ÷ वृदाहरुलाई –
दोबाटोमा भेटें !

परलोकबाट घर खोज्दै आएका
मृत आत्माहरुलाई पनि –
दोबाटोमा भेटें !

आकाशतिर हेर्दै बसेका घामकिरीहरुका स – साना आँखाहरु
र ÷ तिनका साहासी उडानहरु
वर्षातमा हिलाम्य दहहरुबाट पुच्छर हल्लाइरहेका
चेपागाँडाहरु
अनौठो रसायन बाल्दै रात–रातभर घिस्रीरहेका जंगली गड्यौलाहरु
गर्भवती मृग
र ÷ भोको बाघलाई पनि दोबाटोमा भेटें !

अर्काकी स्वास्नी झ्यालबाट भगाएर
केहिक्षण –
स्खलित हुन आएका सज्जन पुरुषहरु
रोगी लोग्नेलाई कोठामा थुनेर
गुप्तांग कन्याउँन निस्केका भद्र महिलाहरुलाई पनि –
दोबाटोमै भेटें !

कुखुरा चोरहरुलाई –
रंगेहात प्वाँख सहित

गँजेडीहरुलाई –
एकपोका गाँजा सहित

खुँखार लुटेराहरुलाई –
पेस्तोल सहित

प्रेमीहरुलाई –
अनन्त प्रेम सहित
दोबाटोमै भेटें !

लास जलाएर फर्केका मलामीहरुलाई
नाच्दै हिंडेका –जन्तीहरुलाई
दोबाटोमै भेटें !

पुजारी
र ÷ नामुद वेश्यालाई पनि –
दोबाटोमै भेटें !

मुद्दा मामिलाहरुबाट फर्केका तनावग्रस्त मान्छेहरू
कामबाट फर्केका मजदुरहरु
कमिसन खाइ आएका दलालहरु
चामल बोकि आएका गृहिणीहरु
स्कुलबाट फर्कंदै गरेका विद्यार्थीहरु
र – देश बेचेर आएका नेताहरुलाई पनि –
दोबाटोमै भेटें !

ईश्वर जस्तो – हिंसा
अक्षर जस्तो –रगत
विचार जस्तो –हतियार

चुपचाप –
जीवनको गहिरो शुन्यता बोकेर हिंडेका
जो र जति भेटें दोबाटोमा –
ती सबै मेरै अनुहारहरु थिए !

बिल्कुल –दिशाहिन
बिल्कुल –भ्रमित
बिल्कुल –शाश्वत !

मैले –
आफैलाई दोबाटोमा भेटें !

तपाईको प्रतिक्रिया