काठमाण्डौं ।
पछिल्लो २४ घण्टामा थप ३ सय ३७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । हिजो २ सय ८८ जनामा सङ्क्रमण पुष्टि भएकोमा आज सो संख्या बढेर ३ सय ३७ जना पुगेको हो । यसअघि अस्ति बिहिबार ३३२ जनामा सङ्क्रमण पुष्टि भएको थियो । छिमेकी देश भारतमा कोरोनाले भयावह रुप लिँदै गर्दा नेपालमा पनि त्यसको असर देखिएको छ भने पछिल्लो समय सङ्क्रमितको संख्या बढ्दै गएको हो । सङ्क्रमण बढ्दै गएपछि सरकारले स्वास्थ्य मापदण्ड पालनामा जोड दिँदै आएपछि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ३२ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ३७ जनामा सङ्क्रमण पुष्टि भएको हो । यो बीचमा १ जनाको मृत्यु भएको छ भने १ सय ५१ जना निको भएको पनि मन्त्रालयले जनाएको छ । देशभर कोरोना सङ्क्रमितको संख्या २ लाख ७९ हजार ७२५ पुगेको छ । निको हुनेको संख्या २ लाख ७३ हजार ८ सय ८६ पुगेको छ । देशभर सक्रिय सङ्क्रमित २८ सय छन् ।
यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं, पोखरा, नेपालगञ्ज, विराटनगर, वीरगञ्ज लगायतका ठूला सहरका विद्यालयमा अनलाइन कक्षा सञ्चालन गर्ने प्रस्ताव तयार गरेको छ । आज कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको बैठकमा मन्त्रालयले सो प्रस्ताव तयार पारेको हो । भारतमा कोभिड सङ्क्रमण बढिरहेको र त्यसको प्रभाव नेपालमा समेत देखिएकाले मन्त्रालयले सजगता अपनाउन यस्तो प्रस्ताव गरिएको जनाएको छ । कोभिडको दोस्रो लहर आएसँगै हिजो मन्त्रालयले भिडभाड कम गर्न र २५ जनाभन्दा बढीको भेला नहुन आग्रह गरेको थियो ।

तपाईको प्रतिक्रिया