१३ अप्रिल २०२१ हङकङ । क्रान्ति सुब्बा ।

अप्रिल ८ तारीख बिहीबार बेलायती सरकारले ४ करोड ३० लाख पाउन्ड ( सरदर ४० करोड ६० लाख हङकङ डलर ) रकम बृटिस नेशनल ओभरसिज (BNO) भिसा मार्फत बेलायत गएका हङकङका वासिन्दाको लागि छुट्याएको थियो । नवागंतुकको रूपमा गएका हङकङ वासिन्दालाई स्थानीय रूपमा घुलमिल हुन सहज होस भनेर जिविकोपार्जनको लागि रोजगार सिर्जना गर्न, आवास तथा स्कुल आदिको व्यवस्थापन गर्न उल्लिखित रकम खर्च गर्ने घोषणा सरकारले गरेको थियो ।

“हङकङ बिएनओ इन्टिग्रेसन प्रोग्राम ” शिर्षकमा विन्योजन भएको यो रकम मध्ये ५० लाख पाउण्ड ( सरदर ५ करोड ३० लाख हङकङ डलर) देशव्यापी १२ वटा “वेलकम हब” ( स्वागत केन्द्र ) स्थापना गर्न लगानी हुने भएको छ। यी स्वागत केन्द्रले हङकङबाट आएका परिवार र व्यक्तिलाई आवास , शिक्षा , रोजगारी सम्बन्धि समस्या सुल्झाउन सहयोग गर्नेछ।

यसका अलावा नवागंतुकलाई  घरभाडा व्यवस्थापन गर्न , अंग्रेजी  सिक्न आदि कुरामा सहयोग गर्नको लागि स्थानीय काउन्सिलहरु स्थापना गरिने भएको छ। यो काउन्सिलले नवागंतुक विद्यार्थीलाई युके र हङकङको ऐतिहासिक सम्बन्धमा शिक्षा दिने काम समेत गर्दछ।

यो कार्यक्रम बास्तबमा एउटा अर्को कोषेढुंगा हो बेलायतको तर्फबाट जसले नवागंतुकलाई स्थानीय तहमा घुलमिल हुन सहयोग गर्दछ बेलायती परराष्ट्र मन्त्री डोमिनिक रावले भने। यो कदमले बेलायत कति धेरै हङकङेली जनता र युकेमा नयाँ जीवन शुरु गर्न चाहने प्रति समर्पित छ भन्ने कुरालाई दर्साउदछ उनले थपे।

चीनलाई भने बेलायतको यो कदम पटक्कै उचित लागेन  । पश्चिमाहरुले हङकङ प्रति गरेको यो कार्य गलत सूचनाले भरिएको छ। उनिहरुको साम्राज्यवादी धंगधंगी अझै हटेको छैन भन्दै चीनले रुष्टता प्रकट गरेको थियो ।

तपाईको प्रतिक्रिया