काठमाडौं । साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित ‘नेपाली जनजातीय संस्कार र संस्कृति’ नामक पुस्तक लोकार्पण गरेको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नुवाकोटका साहित्यकार श्रेष्ठद्वारा लिखित खोजमूलक सांस्कृतिक ग्रन्थको आइतबार आफ्नै निजी निवास बुढानीलकण्ठमा लोकार्पण गरेका हुन् ।

सभापति देउवाले पुस्तकका लेखक श्रेष्ठलाई बधाई शुभकामना दिँदै संस्कृति सम्बन्धी श्रेष्ठको पुस्तक शोध कार्यका लागि महत्त्वपूर्ण, पठनीय र संग्रहणीय भएको बताए । उनले नेपाल विभिन्न जातजातिको फूलबारीको रूपमा रहेको र सांस्कृतिक मिलापले एकताबद्ध रहेको र एक जातिले अर्को जाति र धर्मको सहअस्तित्वलाई स्वीकारेको बताए ।

फरक प्रसङ्गमा सभापति देउवाले माओवादी केन्द्रले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार गठनको सम्भावना नभएको बताएका छन् । उनले अहिलेको राजनीति एकदमै तरल अवस्थामा रहेकाले भोलि जे पनि हुनसक्ने समेत बताए । नयाँ सरकार गठनका लागि माओवादी केन्द्रले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने बताउँदै उनले भने, ‘सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र अलग भएका छन् । ओली र प्रचण्डबिच द्वन्द्व देखिएको छ । तर, अहिलेसम्म माओवादीले किन समर्थन फिर्ता लिएको छैन रु यसमा शङ्का छ । ओली अहिले पनि सुविधाजनक बहुमतमै छन् । अल्पमतमा छैनन् । माओवादीले अविश्वासको प्रस्ताव लिएमा काँग्रेस सरकार गठन गर्न अग्रसरता लिन्छ ।’

कार्यक्रममा नेपाली काँग्रेसका सहमहामन्त्री डा। प्रकाशशरण महतले लेखक श्रेष्ठको व्यक्तित्व र कृतित्वको चर्चा गर्दै नेपाल सांस्कृतिक हिसाबले विविधतापूर्ण र सम्पन्न देश भएकाले यहाँ रहेको सांस्कृतिक पक्षको खोजरअनुसन्धान अझै गरिनुपर्नेमा जोड दिए । महतले भने, ‘यस किसिमका अनुसन्धानले नेपालको सांस्कृतिक समृद्धिमा जोड पुग्नेछ । यस्ता खोज अनुसन्धानहरूलाई नेपाली काँग्रेसले पनि उच्च प्राथमिकतामा राखेको छ , यस किसिमका खोजरअनुसन्धान गर्नेलाई उचित मूल्याङ्कन समेत पार्टीले गर्नेमा विश्वस्त छु ।’

संघीय सांसद बहादुरसिंह लामाले विविधतापूर्ण समाजको विविध संस्कृतिलाई एकै ठाउँमा उतार्नु भनेको चानचुने कुरा नभएको बताउँदै भने, ‘यस्तो महत्त्वपूर्ण ग्रन्थलाई विश्वविद्यालयको कोर्समै स्थान दिनुपर्छ त्यसको लागि सबै तर्फबाट पहलकदमी आवश्यक छ ।’

२० वटा जातजातिको संस्कार र संस्कृतिको विषयमा लेखिएको खोजमूलक ग्रन्थबारे साहित्यकार पुष्कर लोहनीले टिप्पणीका साथै चर्चा गरेका थिए ।

पुस्तकमा आठपहरिया राई, कुमाल, गुरुङ, चेपाङ, तामाङ, थारु, दनुवार, दराई, धिमाल, पहरी, बराम, बलामी, मगर, माझी, मेचे, राउटे, राजवंशी, शेर्पा, सतार र हायु जातिका संस्कार र संस्कृतिका विषयमा अनुसन्धान मूलक लेखहरू रहेका छन् । ५१२ पृष्ठको उक्त पुस्तकलाई आकृति प्रकृति प्रकाशनले बजारमा ल्याएको हो ।

 

 

तपाईको प्रतिक्रिया