२०४५ सालबाट नेपाली समसामयीक कलामा सकृय कलाकार सुनिता राणा नेपाली कलाको क्षेत्रमा चुपचाप कलाकर्ममा सकृय शालीन व्यतित्वको नाम हो । आधा दर्जन भन्दा बढी एकल प्रदर्शनी भइसकेको उहाँको चित्रहरु फ्रान्स, जापन, भारत कोरिया हल्यान्ड लगायतको देशहरुमा सहभागीता जनाइसक्नुभएको छ। प्रस्तुत छ उहाँसगको नेपाली कलाकारिताको अवस्था र चुनौतीको बिषयमा केन्द्रीत रहेर गरिएको कुराकारी

.अलिकता विगतबाटै शुरु गरौँ कला क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?

मलाई कला सानैदेखि मन पर्थ्यो । जुनबेला चित्रमा रमाउँथेँ, त्यो बेलामा यो एक कला विधा हो भन्ने पनि थाहा थिएन । विद्यार्थी जीवनदेखि नै म चित्रमा रमाउँथेँ । पढाइ सँगसँगै कला पनि हुर्कियो ।

स्कुलमा बेला बेलामा हुने चित्रकला प्रतियोगिताहरूमा सहभागि हुन सँधै अघि बढ्थे । कक्षा सात मै हुँदा स्कुल तथा अन्तर स्कुल प्रतियोगितामा उत्कृष्ट हुन थालेँ । कला विषय लिएर पनि प्रवेशिका परीक्षा पास गरेर कलेज पढ्न सकिन्छ र त्यसका लागि “ललितकला क्याम्पस” छ भन्ने जानकारी स्कुलको शिक्षिका सपना शर्माबाट पाइसकेकी थिएँ । त्यसैले म ढुक्कसँग एस.एल.सी पछि त्यहिँ जाने निधो गरिसकेकी थिएँ । फलस्वरुप दुई वर्षको पद्मकन्या क्याम्पसका अध्ययन पश्चात् ललितकला क्याम्पसमा प्रवेश गर्नु नै मेरो कला क्षेत्रको शुरुआत हो ।

.कन्टेम्पोररी (समकालीन कला) आर्ट भन्नाले के बुझिन्छ र विषेश गरी सर्वसाधारणलाई बुझाउनु पर्दा के भनेर बुझाउनु पर्ला ?

परम्परागत कार्यशैलीबाट भन्दा फरक र आधुनिक शैलीलाई आफ्नै एउटा सोँचाई र छुट्टै शैलीमा कलाको सिर्जना गर्नु नै कन्टेम्पोररी आर्ट हो । यस कलामा कलाकारले कुनै एक सीमित माध्यममा बन्धित हुनु पर्दैन ।

कला भनेको त हामीले आर्ट ग्यालरीमा झुण्ड्यिाइएको पेन्टिङ मात्र हो भन्ठान्छौँ । तर कन्टेम्पोररी आर्टमा ग्यालरी भित्र मात्र सीमित हुनुपर्छ भन्ने होइन । अहिलेको परिवेशमा कलासँग सङ्गीत, फोटोग्राफी, गीत आदिलाई पनि समावेश गरी छुट्टै प्रस्तुति दिन सकिन्छ ।

कलाकारले अभिव्यक्त गर्न खोजेको विषय वस्तु अनुसार माध्यम जुनुसुकै पनि प्रयोग गर्न सकिन्छ । यसै सिलसिलामा सन १९९५ मा एउटा कला कार्यशालामा विदेशी कलाकारहरूसँग हामीले पनि प्रतिस्थापन कला (इन्स्टलेसन आर्ट ) गरेका थियौँ पोखराको लुम्ले स्थित अष्ट्रेलियन क्याम्पमा ।

त्यसपछि लगतै सुन्दरीजलको नदी किनारामा जमिन, नदी, बालुवा, ढुङ्गा, माटो, रङ र रुखका हाँगाहरू र म स्वयंलाई माध्यमका रुपमा प्रयोग गरेकी थिएँ । वरिपरि रहेका हाँगाका टुक्राहरूलाई बारका रुपमा जति सक्यो बढी स्थान ओगट्ने प्रयास गर्दै जमिन, बालुवा, ढङ्गा, नदी आदि स्थानहरूलाई ओगट्दै बृहत स्थान मैले मेरो आफ्नो अधिनमा लिएको उदघोष गर्दै सो स्थानको परिक्रमा गरेकी थिएँ । मैले त्यो बेला यस प्रस्तुतिको विषय “मानविय गुण” राखेकी थिएँ । यस्तो कलालाई अहिले पर्फमेन्स् आर्ट भनिन्छ ।

.अहिले केमा व्यस्त हुनुहुन्छ ?

अहिले म आफ्नो कलाकारिता पनि गरिरहेकी छु र म हाम्रो कला संस्था “आर्ट क्लब नेपाल” का लागि पनि विभिन्न कला कार्यशाला तथा कलासँग संलग्न रही कलाकै विषयमा काम गरिरहेकी छु ।

.महिलालाई कलाकार र गृहणी दुबैलाई समायोजन गरेर लान कत्तिको सहज छ ?

गृहणी बन्न मात्रै पनि त्यति सजिलो कहाँ हुन्छ र ? घर, परिवार भनेको मानव जीवनको अभिन्न अङ्ग नै हो । विहानदेखि बेलुकीसम्मको दैनिकी नै परिवारसँग हुन्छ । त्यस्तै कलाकार भएर गृहणीको पनि भूमिका निभाउन गाह्रो त हुन्छ नै तर सबैको सहयोगले गर्दा त्यति गाह्रो पनि छैन । तर कला सिर्जनाको समय भने अलिकति बाँडिन्छ ।

.विश्वमा नेपाली कलाकारिता कहाँ छ ?

कला भन्ने विषयलाई नै एक सम्मानपूर्ण विधाको रुपमा लिइन्छ । त्यसैले त विश्व मै कलाका पारखीहरूले कलाको सम्मान र सम्बर्द्धन गर्दै आएका छन् । जीवनपर्यन्त पनि स्रष्टाको सिर्जनको कदर भइ रहेको छ । तर नेपालमा कलालाई राम्रो पहिचान गर्न र दिन सकिएको छैन ।

हुन त नेपाल कला र संस्कृतिमा धनी नै मानिन्छ । विश्वमा नेपाली कलालाई चिनाउन राष्ट्रको कला तथा संस्कृति मन्त्रालय लगायत नेपाल ललितकला संस्थाहरूबाट नै पहल गर्नु पर्दछ । हाम्रो परम्परागत कला विश्वभरी नै पहिचान बनाउन लामो समयदेखि सक्षम छ तर आधुनिक तथा समसामायिक कलाले भने त्यति गहिरो छाप छोड्न सकेको छैन । समसामयिक कला विधा आफैँमा बृहत् छ साथै यसका विभिन्न शैली र माध्यमहरू हरेक दिन जस्तो विस्तृत हुँदै अधि बढ्दै छ ।

समसामयिक कलाले उठान गर्ने विषयवस्तु अन्तर्गत भने राजनीतिक, सामजिक र वातावरणिय आदि विषय सम्प्रेषण गरिएका हुन्छन् । अहिलेको परिवेशमा युवा पुस्ताहरू त्यस्ता विषयमा कलाकारिता गर्न सक्षम छन् । हुन त विश्वमा नेपाली कलाकारहरू विभिन्न देशहरूमा आफ्नो सिर्जनाहरूको प्रर्दशनीहरूमा समावेश भई आफ्नो कार्यदक्षता प्रर्दशन गरिरहेका छन् ।

.लामो समयदेखि कला क्षेत्रमा हुनुहुन्छ, यो पेशामा महिला नभएर कलाकारको दृष्टिकोणबाट हेर्दा के कस्ता चुनौतिहरू देखिन्छन् ?

सर्वप्रथम समाजले उठाउने प्रश्न – कलाकार बनेर के गर्छौ ? नै एउटा ठूलो चुनौति हो । जसले यो प्रश्नलाई नाघेर अगाडि बढ्न सक्छ त्यो नै कलाकार बन्न सक्छ ।

अर्को चुनौति, कलाको अध्ययनको सिलसिलामा शुरु हुन्छ । कलाको अध्ययनका लागि काठमाडौँ बाहेक कला शिक्षा अरु क्षेत्रमा नहुनु हो । जो व्यक्ति कलामा समर्पित हुन चाहन्छ उसले आर्थिक भार बोक्नु पर्दछ , सामाजिक सोँचको शिकार हुनु पर्दछ , राजनीतिक पुर्वाग्रहको असरबाट गुज्रनु पर्दछ । कलामा लाग्ने विद्यार्थी जीवनको ठूलो चुनौतीहरु यी यस्तै हुन ।

यसलाई पनि पार गरिसकेपछि कलाकारले आफ्नो सिर्जनामा आफ्नै शैली र पहिचान बनाउनका लागि गर्नुपर्ने खोज,अनुसन्धान अर्को गहन चुनौति हो । जुन चुनौतीलाई पनि पार गरेर कलाकारले आफुलाई कला क्षेत्रमा स्थापित गराउनु पर्ने हुन्छ । यस मानेमा राज्यले यी यस्तै कुराहरू पहिचान गरी कलाकारलाई स्थापित हुने वातावरण सिर्जना गरि सहयोग गर्नुपर्ने हुन्छ । तर एउटा कलाकार स्वयंले नै यी सबै गर्नुपर्ने दशा जो छ हाम्रो देशमा यो नै एउटा ठूलो चुनौति हो ।

.तपाईंको कलामा विशेष महिला र प्रकृतिलाई जोड दिइरहेको देखिन्छ, कलाकार मात्र नभएर महिला भएकै कारण पनि नेपाली महिलाहरूको वास्तविक अवस्थालाई कसरी बुझ्नु भएको छ ?

महिलालाई परापूर्व कालदेखि नै चल्दै आएको परम्परागत रुढिवादमा जकडिएको समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन आएको आभास हुन्छ आजभोलि । तर हिजो कहिले देवीसँग तुलना गरिन्थ्यो भने कहिले बोक्सीको संज्ञा दिइन्थ्यो । हिजो पनि महिला बलात्कृत हुन्थिन् भने आज पनि यो क्रम बढ्दो छ ।

समाजले महिलालाई हेर्ने दृष्टिकोणमा भने नगन्य रुपमा मात्र परिवर्तन देख्न सकिन्छ । न्याय व्यवस्थामा परिमार्जित कानून भएता पनि आम–महिलाको त्यहाँसम्म पहुँच व्यवहारमा पुगेको छैन । यसका मूल कारण राजनीतिक गुट, वर्गीय स्वार्थ र सामाजिक विसङ्गतिहरू हुन् । अहिलेको महिलाको वास्तविक अवस्था स्वकार्यकुशलता तिर उन्मुख हुँदै आइरहेको छ । अहिले पनि महिलाहरू विसङ्गतिहरूसँग लड्दै र भिड्दै पुरुष प्रधान समाजमा आफ्नो अस्तित्व कायम राख्न अग्रसर छन् ।

.कलाकारिताबाट बाँच्न सक्ने परिस्थिति सिर्जना भइसकेको छ त नेपाली समाजमा ?

हुन त कुनै पनि कला विधाबाट सरल तरिकाले बाँच्न संसारभरी नै असंम्भव छ । कलालाई हेर्ने दृष्टिकोण फरक हुन आवश्यक छ । किनकि कला सिर्जना हुने वित्तिकै त्यसको मूल्य पैसामा तोकिन्न । यो लेखनदासको ज्याला नभइ कविले रचेको कविता हो । तर कलाकारिता भन्ने वित्तिकै सबैको एकै प्रकारको गन्तव्य हुँदैन ।

व्यवसायिक कला मार्फत भने जिविकोपार्जन गर्ने प्रशस्त उपायहरू छन् । जस्तै ग्राफिक कला मार्फत विभिन्न डिजाईनहरूको सिर्जना गर्न सकिन्छ । अहिले यसको ठूलो बजार छ । कला शिक्षकबाट पनि जिविकोपार्जन भइरहेको छ ।

सिर्जनात्मक कला स्रष्टाहरूका लागि राज्य, समाज र सञ्चारको ठूलो भूमिका हुन्छ । अमेरिका जस्तो कलाको इतिहास नभएको देशले पनि युरोपसँग कलामा आफुलाई उभ्याउन विभिन्न कलाकारहरूलाई स्थापित गर्न ठूलो योगदान गरेको छ । त्यहाँ राज्यपक्ष र ठूला व्यापारी, व्यावासायिक संगठन र कला समिक्षकहरू नै लागेर पहल गरेका थिए । म आफु नै विद्यार्थी जीवनमा विभन्नि पत्रपत्रिकामा ईलुस्ट्रेसन गर्थेँ भने अझै पनि मागअनुसारको सिर्जना गर्न वाध्य छु । स्वच्छन्द कला साधकका लागि लेखन्दास बन्नु सहज त होईन, वाध्यता हो ।

.नेपाली कलाकारिताको इतिहास र भविष्य हेर्दा नेपाली कलाकारितामा महिलाहरूको उपस्थिति न्यून देखिन्छ, उनीहरूको सङ्ख्यालाई बढाउन के गर्नु पर्ला ( सङ्ख्यात्मक र गुणात्मक रुपमा ) ?

कला क्षेत्रमा मात्र नभई हरेक क्षेत्रमा नै महिलाको उपस्थिति कमै देखिन्छ । महिला भएर भोग्नु र गनुपर्ने कर्तव्यहरूका कारण महिलामा ठूलो जिम्मेवारी हुन्छ । यसका बाबजुद पनि महिलाहरू स्वबलम्बी बनिरहेका छन् ।

कला विधा सिर्जना मात्र नभएर एउटा साधना पनि हो । जसका लागि बढि मिहिनेत, कार्य कुशलताका साथसाथै निरन्तरताको ठूलो भूमिका रहन्छ । कति महिला कलाकारहरू कार्य दक्षता हुँदा हुँदै पनि कलामा निरन्तरता दिन सकिरहेका छैनन् । यसका कारण पनि समाजलाई जान्छ । कारणवश कति महिला कलाकारहरू कला विधालाई निरन्तरता दिन नसकेर अर्कै पेशामा संलग्न हुन पुगेका छन् भने कति कलाकार मात्र शिक्षिकामा सीमित हुन पुगेका छन् ।

कलाको महत्त्व बुद्धिजीवि कला पारखीहरूमा मात्र सीमित नभई सर्वसाधारणलाई पनि बुझाउन जरुरी छ । कुनै पनि देशको गौरव भनेको कला नै हो । यसको महत्त्व र सम्बर्द्धन गर्न राज्यले सकेमा स्वत कलाकारहरूको संख्यात्मक रुपमा वृद्धि हुन्छ ।

.अन्त्यमा नयाँ पुस्ता जो कला क्षेत्रमा आउन चाहन्छन्, उहाँहरूलाई के भन्न चाहनु हुन्छ ?

नयाँ पुस्ता भनेको देशको मेरुदण्ड हो । उनीहरूमा अहिलेको विकसित वैज्ञानिक युगमा हामीभन्दा बढि सञ्जालको प्रभावले नयाँ नयाँ सिर्जना गर्न सक्ने क्षमता अवश्य हुन्छ । आफ्नो कार्य दक्षता, लगनशिलता तथा कलाको निरन्तर साधनाद्वारा आफ्नो अस्तित्व स्थापित गर्नु नै नयाँ पुस्ताको धर्म हो भन्ने कुरा बुझुन भन्ने लाग्छ।

तपाईको प्रतिक्रिया