१ मे २०२१ हङकङ । क्रान्ति सुब्बा ।

अप्रिल २९ तारीख हङकङ स्वास्थ बिभागले प्रस्तुत गरेको दैनिक कोरोना संक्रमित केसमा जम्मा १५ जना आयातित केसमा १३ जना  नेपाली परेका थिए । १३ जना नेपाली मध्ये २ जना कोरोना भाइरसको नयाँ प्रजाती एन५०१वाइ ( N501Y) धारी थिए ।

भारतमा कोभिड दोस्रो लहरले कोरोना संक्रमणको सुनामी ल्याए संगसंगै नेपाल पनि त्यसको प्रभावबाट अछुतो रहेन।अत हङकङमा  केहि दिन देखि लगातार आयातित केसमा नेपाली पनि पर्न थालेका थिए । बिशेषगरि भाइरसको बदलिँदो नश्लबाट हुने संभावित संक्रमणको मामलामा हङकङ निकै सजग भैरहेको स्थिति छ।

हङकङका अधिकारीहरुले अप्रिल २७ तारीख बिहीवारका दिन नै नेपाललाई अतिशय उच्च जोखिमपूर्ण देशको सुचीमा राख्नुपर्ने र शनिबारदेखि नेपालबाट आउने सबै वायुसेवालाई कम्तीमा २ हप्ताको लागि प्रतिबन्ध लगाउने कुरा घोषणा गरेका थिए । र सरकारले अन्ततः नेपालबाट हङकङ आउने सम्पूर्ण बायुसेवालाइ १४ दिनको लागि मे १ तारीखबाट लागु हुने गरि  प्रतिबन्ध लगाएको छ। त्यति मात्र होइन यदि २ हप्ताभित्र नेपाल भ्रमण गरेको रेकर्ड भएमा सो कित्तामा पर्ने सबै यात्रुलाई हङकङ प्रवेश निषेध पनि गरिएको छ।

अप्रिल १४ तारीखबाट भारत , पाकिस्तान र फिलिपिन्सबाट हङकङ आउने हवाईसेवामाथि प्रतिबन्ध लगाइएको थियो जुन प्रतिबन्धको म्याद थपिने भएकोछ।

सात दिनको अवधिभित्र यदि कुनै पनि देशबाट आएको पाँच वा सो भन्दा बढी यात्रुमा कोरोना भाइरसको नयाँ नश्ल N501Y देखिएमा सरकारले तय गरेको वायुसेवा निलम्बन संयन्त्र सक्रिय हुदछ र संबंधित देशको वायुसेवालाई हङकङ आउन प्रतिबन्ध लगाइनेछ।

प्रत्येक दुइ हप्तामा वायुसेवा निलम्बनको अवस्थालाई पुनरावलोकन गरिनेछ। र आवश्यकता अनुसार निलम्बनको म्याद थपिनेछ तर स्वतस्फूर्त यो प्रतिबन्ध खोलिने छैन सरकारी प्रबक्ताले भने।

वायुसेवा निलम्बनको प्रावधानलाई थप कडा गरिएको कुरा पनि जनाइएकोछ । अब उप्रान्त क्वारेन्टाइनको अवस्थामा रहेका हुन वा भर्खरै प्रवेश भएका यात्रुहरु हुन यदि एक हप्ताभित्रको समयावधिमा पोजिटिभ पुष्टि हुनेको संख्या १० पुगेमा सो देशबाट आउने तमाम हवाई जहाज माथि प्रतिबन्ध लगाइनेछ।

तपाईको प्रतिक्रिया