लण्डन । संसारको सबैभन्दा ठूलो परोपकारी कोष स्थापना गरेका जोडी बिल र मेलिन्डा गेट्सको दम्पतीले विवाहको २७ वर्षपछि छुट्टिने निर्णय गरेका छन् । एउटा संयुक्त विज्ञप्तिमा उनीहरूले आफ्नो संस्थाका लागि भने मिलेर काम गर्ने जनाएका छन् । माइक्रोसफ्टका भूतपूर्व सहसंस्थापक तथा पूर्वअध्यक्ष गेट्स विश्वका सबैभन्दा धनी व्यक्तिमध्ये एक हुन् । उक्त जोडीले ‘धेरै विचार गरेर र आफ्नो सम्बन्धमा धेरै परिश्रम खर्चेर विवाह अन्त्य गर्ने निर्णय गरेको’ सामाजिक सञ्जाल ट्वीटरमा उल्लेख गरेका छन् ।

गेट्स दम्पतीले किन गरे सम्बन्ध विच्छेद ?
उनीहरूको पहिलो भेट सन् १९८० को दशकमा भएको थियो जुन बेला मेलिन्डा बिलको फर्ममा आबद्ध भएकी थिइन् । उनीहरूका तीन सन्तान छन् । उनीहरू संयुक्त रूपमा बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेशन सञ्चालन गर्छन् । उक्त संस्थाले सङ्क्रामक रोगको नियन्त्रण र बालबालिकाको खोपलाई प्रोत्साहन गर्ने जस्ता परोपकारी कामका लागि अर्बौं डलर खर्च गरेको छ । वारेन बफेटसहित गेट्स दम्पती ‘गिभिङ प्लेज’मा पनि आबद्ध छन् । जसले अर्बपतिहरूलाई आफ्नो धनको ठूलो हिस्सा असल कामहरूका लागि उपलब्ध गराउन प्रतिबद्धता जनाउन अनुरोध गर्ने गर्छ ।

फोब्र्सका अनुसार बिल गेट्स विश्वकै चौथो धनी व्यक्ति हुन् । उनको सम्पत्ति १२४ अर्ब डलर रहेको छ । सन् १९७० को दशकमा आफू सहसंस्थापक रहेको फर्म माइक्रोसफ्टबाट उनले उक्त सम्पत्ति कमाएका हुन् । माइक्रोसफ्ट विश्वकै सबैभन्दा ठूलो सफ्टवेयर कम्पनी हो । उक्त दम्पतीले आफ्नो सम्बन्धविच्छेदको घोषणा ट्वीटरबाट गरेका थिए । ‘विगत २७ वर्षमा हामीले तीन अद्भुत सन्तानहरू हुर्काएका छौँ र संसारभरिका मानिसहरूलाई स्वास्थ्य र उत्पादनशील जीवन बाँच्न सक्षम तुल्याउने एउटा कोष बनाएका छौँ । हामी हाम्रो उद्देश्यमा एकै ठाउँमा छौँ र उक्त कोषमा मिलेर काम गर्नेछौँ । तर जीवनको अबको चरणमा जोडीका रूपमा आफ्नो प्रगति हुन नसक्ने हाम्रो विश्वास छ’ उनीहरूले भनेका छन् । उक्त जोडीले नयाँ जीवनमा अघि बढ्न लाग्दा आफ्नो परिवारको गोपनीयतालाई सम्मान गर्न भनेको छ ।

उनीहरूको भेट कसरी भयो ?
मेलिन्डा प्रडक्ट म्यानेजरको रूपमा सन् १९८७ मा माइक्रोसफ्टमा आबद्ध भएकी थिइन् । त्यही वर्ष दुवै जना एक व्यावसायिक रात्रिभोजमा सँगै बसेका थिए । पछि उनीहरूले सम्बन्ध अघि बढाए । बिलले नेटफ्लिक्सको एउटा वृत्तचित्रलाई भनेका छन्, ‘हामी एक अर्काको एकदमै ख्याल राख्थ्यौँ । त्यहाँ दुइटा मात्रै सम्भावना थियो या त हामी अलग हुनुपथ्र्यो या हामीले विवाह गर्नुपथ्र्यो ।’ मेलिन्डाले बिललाई आफूले मनले निर्णय गर्नुपर्ने विषयमा पनि एकदमै व्यवस्थित व्यक्तिका रूपमा पाएको उल्लेख गरेकी छन् । उनले विवाह गर्नुका लाभ र हानिबारे ह्वाइट बोर्डमा लेखेको बताइन्छ । दुवै जनाले सन् १९९४ मा हवाईको एउटा टापुमा विवाह गरेका थिए । त्यस बेला आफूले नचाहेका व्यक्तिहरू आउन नसकून भनेर सबै स्थानीय हेलिकप्टरहरूलाई उक्त जोडीले भाडामा लिएका विवरण आएका थिए । गत वर्ष गेट्सले परोपकारी काममा सक्रिय हुन माइक्रोसफ्टको बोर्डबाट अलग हुने बताएका थिए ।–एजेन्सी

तपाईको प्रतिक्रिया