४ मे २०२१ हङकङ । क्रान्ति सुब्बा ।

हङकङमा कोरोना खोपकरण परियोजनालाई सरकारले जतिसुकै उत्साहजनक तरिकाले प्रचारप्रसार गरेता पनि जुन रफ्तारमा जनताले खोप लाउने आशा गरिएको थियो सो अनुसार नभई रहेको स्थिति छ। खोप लगाइसकेपछी दुर्भाग्यवश केहि मानिसको मृत्यु अन्य कारणले भएता पनि भ्याक्सिन लगाएपछि मृत्यु भएको सन्देश जानाले भ्याक्सिन प्रति नागरिकको मोह भंग भएको बुझ्न सकिन्छ ।

यथाशीघ्र ५० प्रतिशत जनसंख्यालाई भ्याक्सिन लगाउन लगाएर जनजीवनलाई सामान्य बनाउने लक्ष्य हङकङ सरकारले लिएको छ। यहि रणनीति अन्तर्गत भ्याक्सिन बबललाई जनसमक्ष ल्याइयो। यो बबल अन्तर्गत भ्याक्सिन लगाएमा महामारी नियन्त्रणका कतिपय मापदण्डबाट छुट पाइने प्रावधान छ।
र अहिले आएर  भ्याक्सिन ग्रहण गर्नेलाई थप प्रोत्साहन दिन स्वास्थविदहरुले दुबै डोज भ्याक्सिन लाउने व्यक्ति यदि अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने अवस्था आएमा हाल प्रचलित अवधि भन्दा कम समय क्वारेन्टाइन बस्न पर्ने प्रावधान ल्याउनु पर्ने कुरा गरेका छ्न।

कोभिड खोपको क्लिनिकल प्रभावलाई अनुगमन गर्ने समितीका उप संयोजक प्रोफेसर आइभन हुङले जसले पुर्ण रूपमा भ्याक्सिन लाउछ उसको क्वारेन्टाइन अवधि घटाएर ७ दिनमा झार्नु पर्दछ भने।

” छोट्याइएको क्वारेन्टाइन अबधिले हाम्रो समाजमा कुनै पनि किसिमको खतरा सिर्जना गर्दैन । कुनै पनि किसिमको खतरा नहोस भन्ने कुरा सुनिश्चित गर्नको लागि क्वारेन्टाइन बस्नुपर्ने मानिसको एन्टिबडी टेस्ट गर्नु पर्दछ।त्यस पछि संबंधित व्यक्तिलाई क्वारेन्टाइन नियम
बाट छुटकारा दिनु पर्दछ ” हुङले भने।

भाइरसको रुपान्तरित नश्ल सामान्य कोभिड स्ट्रेनको तुलनामा अधिक संक्रामक भएता पनि यसको संक्रमण परिणाम उस्तै हुने गर्छ उनले भने।

“भाइरस संक्रमणलाई फैलनबाट रोक्न अहिले सरकारले अपनाउनु पर्ने कदम भनेको भाइरस टेस्टिङलाइ युद्धस्तरमा अगाडि बढाउने हो र भाइरसको म्युटेन्ट स्ट्रेन अर्थात रुपान्तरित स्वरूपको आक्रमणमा परेका भवनहरुलाई तुरुन्त खाली गर्नु हो” हुङले जोड दिदै भने।

कोभिड भ्याक्सिनको दुबै डोज लगाएर हङकङ प्रवेश गर्ने  व्यक्तिको क्वारेन्टाइन अबधि घटाउनको निम्ति हङकङ सरकारले गृहकार्य गरिरहेको कुरा स्वास्थ मन्त्री सोफिया च्यानले आज मंगलबार मे ४ तारीख बताइन।

अहिले चीन , मकाउ र ताइवान बाहेकका बाहिरी देशबाट हङकङ प्रवेश गर्ने प्रत्येकले २१ दिन क्वारेन्टाइन बस्नु पर्दछ भने अष्ट्रेलिया , न्युजिल्यान्ड र सिंगापुरबाट आउनेले १४ दिन क्वारेन्टाइन बस्नुपर्ने नियम छ।

तपाईको प्रतिक्रिया