जेरुसेलम — इजरायल र प्यालेस्टाइनको सीमामा फेरि हिंसा चर्किएको छ । सोमबार राति इजरायलले गरेको हवाई आक्रमणबाट ९ जना बालबालिकासहित कम्तीमा २० जना नागरिक मारिएको गाजाका स्वास्थ्य अधिकारीले बताएका छन् ।

(इजरायली हवाई आक्रमणपछि दक्षिणी गाजापट्टीमा उडेको धूवाँको मुस्लो- तस्बिर – रोयटर्स)

सोमबार राति प्यालेस्टाइनको विद्रोही समूहले हमासले जेरुसेलम नजिकै रकेट प्रहार गरेपछि इजरायलले जवाफी कारबाही गरेको दाबी गरेको छ । गाजामा रहेका हमासका सैन्य अड्डामा इजरायली सेनाले आक्रमण गरेको छ ।

इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले हमासले ‘रेड लाइन’ नाघेर आक्रमण गरेको बताएका छन् । सन् २०१४ को युद्धपछि पहिलो पटक हमासद्वारा रेड लाइन नाघिएको पनि उनले दाबी गरेका छन् ।

सोमबार रातभर हमासले रकेट प्रहार गर्ने र इजरायली सेनाका तर्फबाट हवाई आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । गाजा सहरमा रातभर विस्फोटका ठूला आवाज सुनिएको पनि बताइएको छ । इजरायली सेनाले हमासले १५० भन्दा बढी रकेट प्रहार गरेको आरोप लगाएको छ । केही रकेटलाई भने क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीले निष्क्रिय बनाएको उसले बताएको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केन गाजाबाट इजरायलतर्फ लक्षित गरी भइरहेको रकेट आक्रमण तत्काल रोक्नुपर्ने बताएका छन् । उनले दुवै पक्षलाई तनाव कम गर्ने बाटोमा कदम चाल्न पनि आग्रह गरेका छन् ।

पछिल्ला केही दिनदेखि जेरुसेलममा हिंसा भड्किइरहेको छ । जेरुसेलमस्थित अल अक्सा मस्जिदमा जान प्रतिबन्ध लगाइएपछि प्यालेस्टाइनका नागरिक क्रुद्ध भएका छन् । यो मस्जिदलाई इस्लाममा तेस्रो पवित्र स्थान मानिन्छ । यो यहुदीहरुको पनि पवित्र धार्मिक स्थलमा रुपमा रहेको छ ।

प्यालेस्टाइन रेड क्रेसेन्ट सोसाइटीका अनुसार इजरायली प्रहरीसँगको झडपमा ३ सयभन्दा बढी घाइते भएका छन् । सोमबार ‘जेरुसेलम दिवस’ मनाइरहँदा हिंसा भड्किएको हो । सन् १९६७ को अरब–इजरायल युद्धपछि पूर्वी जेरुसेलममाथि कब्जा गरिएको सम्झनामा सोमबार जेरुसेलम दिवस मनाइएको थियो ।

हमासले अल अक्सा र शेख जराह मस्जिदबाट प्रहरी हटाउन पहिलेदेखि नै इजरायलसँग आग्रह गर्दै आएको थियो । उसले दिएको समयसीमा सकिएपछि रकेट प्रहार गरेको बताएको छ ।

सन् १९६७ को मध्यपूर्वको युद्धपछि इजरायलले पूर्वी जेरुसेलममाथि कब्जा गरेको थियो । त्यसपछि उसले पूरा जेरुसेलमलाई आफ्नो राजधानी दाबी गर्दै आएको छ । तर अन्तर्राष्ट्रिय समुदायले यसलाई मान्दैन । प्यालेस्टाइनले भने पूर्वी जेरुसेलमलाई भविष्यको एक सार्वभौम र स्वतन्त्र मुलुकको राजधानीका रुपमा लिँदै आएको छ ।

यही विषयमा प्यालेस्टाइन र इजरायलबीच विवाद रहँदै आएको छ भने पटक–पटक यसले युद्धको रुप लिएको छ । सन् २०१४ को जुलाईदेखि अगस्टको बीचमा भएको द्वन्द्वमा २२५१ प्यालेस्टाइनी मारिएका थिए । तीमध्ये १४६२ त सर्वसाधारण नै थिए । त्यस्तै इजरायलका ६ सर्वसाधारणसहित ६७ जना सैनिक मारिएका थिए ।

कान्तिपुरबाट

तपाईको प्रतिक्रिया