२०४० सालबाट नेपाली साहित्यमा आएका सर्जक बलराम तिमिल्सीनाका कविताहरुले सधैँ सत्ताको बिरोध र समानताका निम्ति वकालत गरिरहेका हुन्छन प्रस्तुत छ साताको तीन कविता

पूँजीपतीको आत्मा

मजदूरभित्र पस्यो भने
पूँजीपतीको आत्मा
उसले अभिनय गर्न थाल्ने रहेछ
पूँजीपतीको
मजदूरले
पूँजीपतीको अभिनय गर्नु
संसारकै भद्दा अभिनय रहेछ
संसारकै कुरुप दृष्य रहेछ
यसरी भड्किएको मजदूर
मजदूरहरूकै लागि
पूँजीपतीभन्दा विषालु हुने रहेछ ।

मजदूरभित्र पस्यो भने
पूँजीपतिको आत्मा
उसले
मजदूरलाई नै हेप्न थाल्ने रहेछ
श्रमलाई थुक्न थाल्ने रहेछ
पूँजीपतीलाई पूज्न थाल्ने रहेछ
झुपडीभित्र
फाटेको गुन्द्रीमा सुत्दा पनि
अरबपतीको सपना देख्न थाल्ने रहेछ ।

मजदूरभित्र पस्यो भने
पूँजीपतिको आत्मा
उसले
आफैंलाई घृणा गर्न थाल्ने रहेछ
आफ्नालाई घृणा गर्न थाल्ने रहेछ
सार्बजनिक समारोहमा
परिचय गराउनु पर्यो भने
कुर्कुच्चा फुटेकी आमा
थाप्लो कुच्चिएको बाऊ
तिनीहरूलाई मरेको जुनी हुने रहेछ ।

दुखको कुरा छ
पूँजीपतीभित्र
मजदूरको आत्मा पसेको
एउटा पनि घटना घट्दैन
तर
पूँजीपतीको आत्मा
नबोकेको मजदूर भेट्न
दिउसै बत्ती बालेर खोज्नु पर्छ ।

उजेली दनुवार

मेरो नाम उजेली दनुवार
घर सोधेको आहुती बाबु ?
अहँ अहिले घर छैन मेरो
छोरीको घरमा बस्छु ।

बिहे गरेपछि घर पाइन्छ भने
बिहे गरेपछि माया पाइन्छ भने
होला ता नि भनें आहुती बाबु
माया पाउने रहरमा मैले
बिहे त कति गरें गरें
सत्र पटक बिहे गरें मैले
दुई पटक त पुरानै लोग्नेसँग गरें
तर मायाको नाक मुख देखिन मैले ।

एउटा आयो र माया गर्छु भन्यो
होला भनें र पछि लागें
एक दुई दिन होजस्तै पार्यो
तेश्रो दिनदेखि हकार्न थाल्यो
चौथो दिनदेखि लछार्न थाल्यो
हैट त्यस्तो पनि माया हुन्छ भनेर
पाँचौ दिन छोडिदिएँ ।

फेरि अर्को आयो र त्यसै भन्यो
फेरि अर्कोसँग गएँ र त्यस्तै भोगें
त्यसै गरी छोडिदिएँ त्यसलाई पनि ।

दुई पटक त पुरानै लोग्ने आए
अव त्यस्तो गर्दिन भनेर चिप्लो घसे
म सोझी जुनेली दनुवार
पत्याएँ र पछि लागें
मेरो सोझो पनको हुर्मत लिए आहुती बाबु ।

अब त बुढी पनि भएँ
कोही लान्छु भन्ने पनि आउँदैनन्
कसैसँग जान पनि मन छैन
सत्र लोग्ने फेर्दा पनि माया नपाएकी
मायाकी भोकी म उजेली दनुवार
मलाई वाइफाले त भन्दैनौ नि आहुती बाबु ?

सुनेकी छु तिमी कवि हौ रे
गिताङ्गे पनि हौ रे
ठूला ठूला पोस्तक पनि लेख्छौ रे
विन्ति आहुति बाबु
एउटा पोस्तक मेरो पनि लेखिदेऊ न !

म उजेली दनुवार
वर्ष पैसठ्ठी
ठेगाना पिपलमाढी, सिन्धुली
पेसा मायाको खोजी
स्वभाव असाध्य सोझी !

आहुती बाबु !
मेरो कुरा कस्तो लाग्यो तिमीलाई ?
ए साँच्चि आहुती बाबु
तिम्रो पार्टीका आइमाई
म जति आँटिला छन ?

के फरक छ ?

रोम जलिरहँदा
वाँसुरी बजाइरहने निरो
अनि
देशमा मृत्युको हुरी चलिरहँदा
पब्जी खेलिरहने युवक
तास खेलिरहने पुरुष
सिरियलमा मस्त गृहिणी
टिकटकमा मस्त युवती
र,सांसद किनबेचमा ब्यस्त
पार्टीमा के फरक छ ?

मान्छेहरूलाई
ग्याँस च्याम्बरमा थुनेर मार्ने
कुख्यात हिटलर
अनि ,
बिरामीलाई अक्सिजन विना मार्ने
देशको सरकारमा के फरक छ ?

मरे जवाफदेही हुनु पर्दैन भनेर
मृत्यु-पत्रमा ल्याप्चे ठोकाउने
देशको स्वास्थ्य व्यवस्था
अनि
दुखे ऐया भन्न पाइन्न भन्ने
क्रुर कसाहीमा के फरक छ ?

जागिर पाइन्न भनेर होस
या जागिर खोसिन्छ भनेर होस
बढुवा रोकिन्छ भनेर होस
या भिसा रोकिन्छ भनेर होस
अत्याचारलाई अत्याचार भन्न नसक्ने
सत्यलाई सत्य जसरी प्रेम नगर्ने
मौकामा मुख थुनेर बस्ने
फिटिक्कै नबोल्ने
दैलो थुनेरर झ्याल थुनेर
सिरक ओढेर सास रोकेर बस्ने
तथाकथित बुद्धिजीवी ,
भद्र महिला ,सज्जन पुरुष
प्रणायाममा लिप्त युवा
र कुहेको मूर्दामा के फरक छ ?

भन के फरक छ ?

तपाईको प्रतिक्रिया