कोभिड-१९ महामारीका कारण प्रतिबन्ध गरिएको नेपाल-भारत उडान करिब नौ महिनापछि पुनः सञ्चालन गरिने भएको छ । आगामी पुस २ गतेदेखि काठमाडौ-नयाँदिल्ली उडान सञ्चालन गरिने भएको हो ।

काठमाडौ-नयाँदिल्ली गन्तव्यमा दुवै देशले दैनिक दुई उडान भर्नेछन् । दुवै पक्षका सरकारले ‘एयर ट्रान्सपोर्ट बबल संयन्त्र’ को अवधारणाअन्तर्गत काठमाडौं र दिल्लीबीच नियमित निर्धारित उडान पुनः शुरु गर्न अनुमोदन गरिएको नेपालस्थित भारतीय राजदूतावासले जनाएको छ ।

बताइएअनुसार नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्स र भारतको एयर इण्डियाले दैनिक उडान गर्ने छन् ।

नेपाल एयरलाइन्सले बन्दाबन्दीका कारण विसं २०७६ चैत १० (२३ मार्च सन् २०२०) गतेदेखि काठमाडौं–दिल्ली उडान स्थगित गरेको थियो । कोभिड महामारी नियन्त्रणका लागि गत चैत ११ गतेदेखि देशभर लागू गरिएको बन्दाबन्दी र त्यसपछिको निषेधाज्ञाका कारण करिव ६ महिनापछि गत भदौ १६ देखि नियमित अन्तरराष्ट्रिय उडान शुरु भएको थियो । कोरोना सङ्क्रमण दर उच्च रहेकाले भारतका तीनवटै गन्तव्य नयाँ दिल्ली, मुम्बई र बैङ्लोरको उडान प्रतिबन्ध थियो । यही मङ्सिर १० को मन्त्रिपरिषद् बैठकले भारतले प्रस्ताव गरेको ‘एयर बबल मोडल’ लाई स्वीकार गर्ने निर्णय गरेको थियो ।

भारतीय दुतावासले जारी गरेको एयर ट्रान्सपोर्ट बबल अवधारणाअनुरुप नेपाल एयरलाइन्सले उडान सञ्चालनको सम्पूर्ण तयारीका साथ बुकिङ खुला गरिसकेको छ । भारतीय एयरलाइन्सले पनि आजदेखि काठमाडौं उडानका लागि बुकिङ शुरु गरेको जनाएको छ ।

काठमाडौं–दिल्ली हालका लागि आगामी पुस २ गतेदेखि दैनिक दुई उडान गर्ने गरी बुकिङ शुरु भइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । क्यानका उपमहानिर्देशक राजकुमार क्षेत्रीका अनुसार नेपाल एयरलाइन्सले काठमाडौंबाट दिल्ली एक उडान र इण्डियन एयरले दिल्लीबाट काठमाडौं एक उडान भर्नेछन् । यी उडानमा नेपालतर्फ यात्रुले ७२ घण्टे पिसिआर रिपोर्ट पेश गर्नुपर्नेछ भने भारतबाट आउँदा त्यहाँ अनलाइन फाराम भर्नुपर्ने प्रावधान छ ।

भारतसहित नेपालबाट हुने सबै अन्तर्राष्ट्रिय गन्तब्यमा उडान खुला गरिएको प्राधिकरणले जनाएको छ । अहिले बङ्गलादेश, भूटान र थाइल्याण्डले काठमाडौं उडान गरेका छैनन् अरु सबै गन्तब्यमा उडान सञ्चालन भइरहेको छ । नेपालका तीनसहित २९ वायुसेवा प्रदायक कम्पनीले १६ मुलुकका गन्तव्यमा अन्तररष्ट्रिय उडान भर्दै आएका छन् ।

यसैबीच, नेपाल एयरलाइन्सले काठमाडौं-दिल्ली उडानको तयारी तीव्र पारेको बताइएको छ । नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय उडान गन्तब्यको व्यापारिक हिसाबले भारतका गन्तब्य निकै राम्रो मानिन्छ । लामो समय उडान नहुँदा निगमलाई आर्थिकरुपमा निकै घाटा भएको छ । सामान्य अवस्थामा काठमाडौं-दिल्ली दैनिक दुई उडान हुन्थ्यो । कोभिड महामारीकै बीच अहिले दैनिक एक उडान हुन लागेको हो ।

नेपाल एयरलाइन्सको उडान समय काठमाडौंस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट बिहान ११ः२० का लागि उडान तालिका निर्धारण गरिएको छ । बिहान ११ः०० बजेका लागि उडान अनुमति मागेकामा २० मिनेट ढिला गरी भारतीय पक्षबाट उडान अनुमति दिएको नेपाल एयरलाइन्सले जनाएको छ । यो गन्तब्यको उडानमा नेपाल एयरलाइन्सका वाइडबडी ए-३३० र वाइडबडी ए-३२० जहाजले आलोपालो गरेर उडान भर्नेछन् । नेपाल एयरलाइन्सका प्रवक्ता करिस्मा श्रेष्ठका अनुसार यात्रुको मागबमोजिम दुवै जहाजले उडान गर्ने योजना रहेको छ ।

तपाईको प्रतिक्रिया