पेनीभा, चारदामे, बाहुनवादीहरुले आदिवासी याक्थुङ (“लिम्बू”) राष्ट्रको ऐतिहासिक थातथलो याक्थुङ लाजेमा अवस्थित मुकुमलुङलाई “पाथीभारा” तथा सुःरित तेल्लकलाई “सुकेटार” र “सुकेटार” बिमानस्थललाई “रबिन्द्र अधिकारी विमानस्थल” नामाकरण गर्ने बाहुनवादी सरकारको निर्णयले याकथुङहरुको कन्सिरीको रौं ठाडो पार्ने तथा सेलाउदै गरेको रगत फेरी उमाल्ने काम गरेको छ ।

उपनिवेशवादी तथा बाहुनवादीहरु सबैले आदिवासीको ऐतिहासिकभूमि, भूभाग तथा स्रोतहरुमा गर्ने कामै त्यहि हो ।उनीहरुको दाउ भनेको अन्ततः जती सक्दो लुटने नै हो । आदिवासी नामहरु फेरेको यो पहिलो पटक होइन, र अन्तिम पनि होईन ।सन १८५४ को मुलुकी ऐनले हामी आदिवासीलाई मतवाली, र त्यसमा पनि नमासिने र मासिने मतवाली भनेर नाम परिवर्तन गरेको थियो । आदिवासी शेर्पाहरुको पवित्र हिमसिखर च्योमोलुङ्माको नाम उपनिवेशवादीहरुले “माउण्ट एभरेष्ट” तथा बाहुनवादी उपनिशेवादीहरुले “सगरमाथा” भनेर भ्रष्टिकरण गरेकै हो । धेरैजसो आदिवासी नामहरु खस नेपाली भाषामा परिर्वतन गरेको कुरा डा. हर्क गुरुङले बराबर भन्ने गर्नुृहुन्थ्यो, हिमालको नाम फेरेको सन्दर्भमा । धेरैलाई लाग्ने गर्दछ कि नाम फेरेर केहि फरक पर्दैन । शायरीमा पनि भनिन्छ “नाम में क्या रखा है जनाव, कुछ भी बोल दो बस जबान मीठी होना चाहिये” । शेक्सपियरको रोमियो र जुलयिटमा नाममा के छ र, गुलाफको फूलको नाम जे राखे पनि मिठो बासना आउंँछ । मायामा भावनामा बग्दा यस्तो कुरा ठिकै लाग्न सक्छ तर बास्तकिता त्यस्तो हुँदैन । आदिवासी नाम फेर्न हुँदैन, मिल्दैन ।

सन नब्बेको दशकको अन्त्यतिर एउटा कार्यक्रममा एक जना बाहुन सञ्चारकर्मी वक्ताले मलाई बाहुनवाद शब्द प्रयोग गर्न भएन, त्यसको सट्टा सामन्तवाद, ठालुवाद, हैकमवाद आदि जे भन्दा पनि हुन्छ भन्नुभयो । उनलाई मैले भने, बाहुनवादलाई बाहुनवादनै भन्नु पर्दछ, नाम फेर्न मिल्दैन । कल्पनामा नै सहि, यदि नाम फेर्न मिल्छ भने “संविधान” नामलाई “कुलाङ्गार” नाम भनेर “नेपालको संविधान” भन्नुको सट्टा ”नेपालको कुलाङ्गार“ भन्दा हुन्छ भने बाहुनवादको पनि नाम फेरौंला भने । उनले संविधानको नाम फेरेर “कुलाङ्गार” भन्न मिल्दैन भने । मैले पनि त्यसो भए बाहुनवादको नाम पनि फेर्न मिल्दैन भने ।

मुन्धुमलाई वेद वा बाईबल भन्यो भने आनका तान फरक पर्दछ । तोङबालाई जाँड भन्यो भने आकाश जमीनको फरक पर्दछ । माझीको लदीलाई नदी भन्यो भने पनि त्यस्तै फरक पर्दछ । अरु सबै आदिवासी नामहरु पनि त्यस्तै हो । उपनिबेशवादी तथा बाहुनवादीहरुले आदिवासी नामहरु फेर्नुको अर्थ धेरै छ ।

जस्तैः
परिवर्तित नामहरु उपनिबेशवादी तथा बाहुनवादीहरुको क्रुरताको इतिहास तथा प्रमाण हो । आदिवासीलाई उपनिबेश बनाउने साँस्कृतिक हतियार हो । आदिवासीको ऐतिहासिक भूमि, भूभाग तथा स्रोतहरु लुट्ने, खोस्ने, तथा कब्जा गर्ने ब्रह्माश्त्र हो ।आदिवासीको सामुहिक जिवन पद्धतीलाई ध्वस्त पार्ने मिसाईल हो ।आदिवासीको आत्मनिर्णय अपहरण गर्ने सजिलो शैली हो ।आदिवासीको स्वायत्तता तथा प्रथाजनित स्वशासन पद्धतीलाई कमजोर बनाएर निमिट्यान्न पार्ने अचुक हतियार हो आदिवासीको सामुहिकतालाई ध्वस्त तथा तहसनहस पारेर व्यक्तिमा बदल्ने षडयन्त्र हो । पृथ्वी आमा तथा प्रकृतिलाई खरिद ब्रिकी तथा नाफा नोक्सानको बस्तुको रुपमा दुरुपयोग गर्ने आधार हो । आदिवासीलाई आफनै भूमि, तथा स्रोतहरुमा शरणार्थी बनाउने उपाय हो । आदिवासी मातृभाषा माथि प्रहार गर्ने शस्त्र अस्त्र हो ।

नाम फेरेसंगै त्यो संग अन्तरसम्बन्धीत ऐतिहासिक, अध्यात्मिक, सामाजिक, साँस्कृतिक, मनोबैज्ञानिक, भावनात्मक, राजनीतिक, जिविकोपार्जन, तथा पहिचान लगायतका कुराहरु एक पछि अर्को गर्दै विलय गराउने तथा बाहुनवादीहरुले सदीयौं ढलीमली गर्ने नीति, योजना, रणनीति तथा कार्य नीति हो । नेपाल पक्ष रहेको आदिवासीको अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघको घोषणापत्र तथा अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धी नंं १६९ लाई निष्कृय बनाउने तरिका हो । शक्ति संघर्षमा आदिवासीलाई हराउने तिकडम हो । आदिवासीलाई आदिवासीको मानवअधिकार तथा आधारभुत स्वतन्त्रता उपभोग गर्नबाट बञ्चित गर्ने प्रपञ्च हो ।मुकुमलुङ, सुःरित तेल्लक लगायतका सबै आदिवासी नामहरुले निम्न लगायतका धेरै अर्थ राख्दछ । याक्थुङ लगायत हरेक आदिवासी नाम आदिवासीको जिवन्त ईतिहास होे ।

ऐतिहासिक भूमि, भूभाग तथा स्रोतहरु एकापसमा अन्योँन्याश्रितरुपमा अन्तरसम्बन्धित हुन्छन । याकथुङ आदिवासीको सन्दर्भमा मुन्धुममा उल्लिखित कुराहरु हो- मुकुम्लुङ। मुकुमलुङ जस्तो कतिपय नाम भएका स्थानहरु आदिवासीको पबित्र स्थल (स्याक्रेड साइट) हो । पितृ तथा देबताहरु रहने, चिहान रहने पबित्र स्थल हो । पूर्खाहरुको योगदानको प्रतिक हो ।आत्मनिर्णय, स्वायत्तता तथा स्वशासनको आधार हो । प्रथाजनित कानूनको अंश हो । सामुहिक जिवन पद्धती तथा प्रथा जनित जिबिकोपार्जनको प्रतिक हो । कथ्य परम्पराको निरन्तरता हो । विगतलाई सम्झना दिलाउने कारक हो । आदिवासी कथा र कथाभित्रको कथाहरु हो । सिकार खेल्ने, माछा मार्ने, जंगली साग सब्जी, फलफूल, जटिबुटी तथा कन्दमूल बटुल्ने स्थान हो । यात्रा गर्दा मार्गचित्र तथा मार्गदर्शन हो । जैबिक विविधताको भण्डार हो । मातृभाषाको स्रोत हो । प्रकृतिप्रतिको पूर्ण आस्था तथा सम्मान हो । हामी भावनाको प्रवर्द्धक हो । विगत देखि वर्तमानसम्मका सबै जानकारीहरुलाई जिवन्त बनाउने माध्यम हो यो । नयाँ पुस्तालाई शिक्षा तथा उपहार हो । प्रथाजनित ज्ञानको भण्डार हो । सँस्कृतिको बाहक हो । प्रथाजनित वातावरणिय ज्ञानको खानी हो । सामाजिक सम्बन्धको पुल हो । मनोबैज्ञानिक तत्व हो । हस्तक्षेपकारी विकासलाई रोक्ने आधार हो ।विगत, वर्तमान र भविष्य खण्डिकृत नभएर चक्र घुम्दा एकाकार भएजस्तै आदिवासीको विगत नै वर्तमान र भविष्य हो,विगत र वर्तमान नै भविष्य हो, भविष्य नै वर्तमान तथा विगत हो भन्ने सन्देशको पोका पन्तुरा हो । आदिवासी पहिचान हो । अर्को पुस्तालाई जस्ताको तस्तै पुस्तान्तरण गर्नु पर्ने यो पुस्ताको अहम दायित्व हो ।

त्यसो भए अब के गर्ने ?
खस नेपाली वा अन्य गैर आदिवासी भाषामा फेरिएका नामहरु लुतो फाले जस्तै फालेर आदिवासी नामहरु पुनस्थापित गर्ने ।उपनिवेशकरण (कोलोनाईजेशन) र बाहुनवादको सिकार भएका नामहरु विउपनिबेशीकरण (डिकोलोनाईजेशन) तथा आदिवासीकरण गर्ने । आदिवासी नामहरु तथा गैरआदिवासी भाषामा फेरिएका नामहरु सबैको लिष्ट तयार गर्ने । भएका आदिवासी नामहरुलाई निरन्तरता दिने । मुन्धुमलाई शिरमा राखेर हराएका आदिवासी नामहरु खोज अनुसन्धान गरि पुनस्थापित गर्ने । फेरिएका नामहरुको आदिवासी नाम पुनःदाबीगर्ने । उपनिबेशवादी तथा बाहुनवादी तथा तिनका मतियार केहि आदिवासीहरुलाई परास्त गर्न खुद्रामा नभएर थोकमा आन्दोलन गर्न याकथुङ लाजे स्वायत्तताको स्वःघोषणा गरि उपनिबेशवादी तथा बाहुनवादीहरुसंग प्रतिरोध आन्दोलन सघन बनाउने ।

अन्तमा,

त्यसैले, “नाम मे क्या रखा है ” नभनेर “क्या नहि रखा है” भन्नु पर्दछ र पुर्खाले पुस्तान्तरण गरेको नाम र नामसंग अन्तर सम्बन्धीत तथा अन्तर निर्भर सामुहिक जीवन पद्धती तथा आत्म निर्णयको अधिकारको लागि ज्यान समेत पनि दिन परे दिन तयार हुनु पर्दछ । ब्राजीलको शिक्षाविद पाउलो फ्रेरेले ठिकै भनेको हो, “शब्दको नाम देउ, विश्वको नाम देउ” । हामी यस्तो पिंढी हौं जसले पुर्खाको विरासतको शीर उठाउन सक्छ वा संधैको लागि खसाउन सक्छ । शीर उठाउने की खसाउने यो पिंढीको हातमा छ । आउनुहोस हामी सबै एक ढिक्का भएर गुमेका सबै नामहरु जगाउने काम गरौं ।

तपाईको प्रतिक्रिया