शेखर राई । न्युह्याम्पसायर, अमेरिका।
अमेरिकावासी किरात राईहरुको साझा साँस्कृतिक संस्था युनाईटेड किरात राई अर्गनाईजेशन अफ अमेरिका (UKROA) ले ऐतिहारिक रुपमै पहिलो पटक संयुक्त राज्य अमेरिकाको म्यासाचुसेट्स् राज्यको व्रिमफिल्ड टाउनमा स्थापना गरेको साकेला थान तथा सामुहिक साँस्कृतिक चुलाघरलाई दैनिक संचालनार्थ आवश्यक पर्ने आर्थिक व्यवस्थापनको निमित्त मांङ्गभेटी (पितृ/ देउता) परम्पराको थालनी गरेको छ। युक्रा (UKROA) संस्थापक सदस्य तथा प्रथम निर्वाचित अध्यक्ष शिव कुमार राई तथा श्रीमती दुर्गा कुथुमी राईको कान्छा सुपुत्र सागर राई र बुहारी सेन्मी राईको शुभविवाहको सुखद अवसरमा नव दम्पतिले मांङ्गभेटी (पितृ/ देउता) चढाउदै यसको औपचारिक रुपमा प्रारम्भ गरेका हुन्। 
प्रिती भोजको भोलीपल्ट अगष्ट २४, २०२५ आईतवारका दिन किराती रितीरिवाज अनुसार गाजीघरमा (बिवाहघर) आयोजना गरिएको बहुभत्तेर समारोहमा साकेला थान तथा सामुहिक साँस्कृतिक चुलाघर व्यवस्थापन समितीका संयोजक मुक्ति राईलाई नव दम्पतिले अमेरिकी डलर $३०१ हस्तान्तरण गरेका थिए। नव बिवाहित जोडीको तर्फबाट चढाईएको मांङ्गभेटी रकम बुझ्दै संयोजक राईले यो नयाँ परम्परा थालनीको सन्दर्भमा बोल्नुहुदै भन्नुभयो- संस्थाले शुरुवात गरेको यस योजना अन्तर्गत किरात राई सदस्य परिवारहरुले शुभ अवसरहरु जस्तै विवाह, पास्नी, छेवर तथा जन्मदिन/जन्मजयन्ती र पितृहरुको (दिवंगत) वार्षिक तिथीहरुमा स्वेच्छाले मांङ्गभेटी (पितृ/ देउता) दिन सक्ने व्यवस्था गरिएकोछ । उहाँले यो प्रथाले संस्था संचालनको निमित्त आर्थिक टेवा पुग्ने बताउँदै सबैभन्दा ठुलो टेवा चाँहि नयाँ पिढीहरुमा किरात संस्कृति, परम्परा, धर्म र आस्था प्रति बलियो विश्वास र प्रभाव जगाउन सकिने आशा पनि ब्यक्त गर्नुभयो। यो दुईधारे नितीले सांस्कृतिक जागरण सहितको आध्यात्मिक विश्वासको विजारोपण र संस्था संचालनको निम्ति आवश्यक अर्थ व्यवस्थापनको दिर्घकालिन श्रोत पनि सुनिश्चित हुने संयोजक राइले उल्लेख गर्नु भयो।
साथै किरात भाईबन्धु र आफन्तजनहरुबाट विवाह रित अन्तर्गतको हरहिसाव पनि गाजी परिवारलाई बुझाउनु भएको थिय। उक्त समारोहमा उपस्थित युक्रा (UKROA) का अग्रज सदस्यहरु, भाईबन्धुहरु, छोरीचेलीहरु र ईष्टमित्रहरुले राम्रो रितीरिवाजको थालनी गरिएको भन्दै प्रसंशा गरेका थिए। कार्यक्रमको अन्त्यमा किरात राई भाईबन्धुहरु र आफन्तजनहरुबाट विवाह साङचेप रित अन्तर्गत उठेको हरहिसाव पनि गाजी परिवारलाई बुझाईएको थियो।
अमेरिकाको राई अर्गनाइजेसनद्धारा मांङ्गभेटी परम्पराको थालनी





