आफ्ना कविताहरुमा अत्यन्तै कोमल र प्रेमील कविको रुपमा परिचित कवि सञ्जिव राई पचासको दशकबाट निरन्तर लेखीरहेछन् । र शालिन कवि भनेर साहित्यीक जमातमा परिचित उहाँको कविताहरु साच्चीकै शालिन छ । प्रस्तुत छ साताको तीन कविता

एउटा प्रेमपत्र डाँडाबजारकी सुम्निमालाई

फर्किनु त पर्छ नै मैले
छाडेर आफुलाई यतैकतै……
सुनेर
दुनीयाले गाएको तिम्रो सौन्दर्यको गीत
ओ पहाडी बाला !
ल्याएको थिएँ आफुलाई तिमीसित भेट गराउन

सबैभन्दा अग्लो त्यो ध्वजेको मचानमा
तिमीसँगै उभिएर हेरेको हुँ
ब्रम्हमुहुर्तमा जन्मिएको
खेलाऊँ खेलाऊँ लाग्ने त्यो कलकलाउँदो घामको बच्चा
पर परका ती होचा पुड्का पर्वतहरुको काखमा
लुटपुटिँदै खेलिरहेको दिव्य दृश्य

मुटू उनिएको पातको हरियो बुट्टेचोली
र चुल्ठोमा रहरजस्तो रातो गुराँस सिउरिएकी तिमीसित

दुईचार घडी समयभित्र
प्रेमका सदियौँ पलहरू बिताएको हुँ सुम्निमा

दिनभर आकाशमा झुण्डिएर थाकेको
बिचरा त्यो गोलो अनुहार परेको अधबैँसे
साँझको ढोका उघारेर क्षितिज पस्नै लागेको बेला
म तिमीसँगको एकान्तलाभ उठाउँदै थिएँ
अलि परको त्यो मानेडाँडामा

फर्किनु त पर्छ नै मैले
छाडेर आफुलाई
किनेमाको हरकजस्तो सिधै आत्मामा पस्ने
तिम्रो निश्छल र सरल व्यवहारमा
कुनै पर्यटकको उत्सुक आँखाले अझैसम्म नबिटुलाएको
तिम्रो अक्षत कौमार्यमा

छाडेर आफुलाई यतैकतै
फर्किनु त पर्छ नै मैले ।

ईश्वर हिंडने बाटो

उर्लिरहेका थिए
एक हूल आवाजका हिंस्रक लहरहरू
आक्रोशको समूद्रमा

किंकर्तब्यबिमूढ भई टोलाएर हेरिरहेका थिए
चालकहरू,पसलेहरू
छरपस्टिएका सिसाका टुक्राहरुमा प्रतिबिम्बित
दुःखका सग्ला सग्ला अनुहारहरू
बिरूप देखिन्थ्यो
सम्भावनाको ध्वाँसे आकाश
बलिरहेका टायरहरुको ठीक माथी

कुन भोक प्यासले हो
सहरको चोक चोकमा
जिब्रो चट्काउदै थुक निलिरहेका देखिन्थे
बर्दी लगाएका बन्दुकहरू

र,उता
असफलताका थ्री पिस सुटमा ठाँटिएर
बिदेश भ्रमणमा रमाइरहेका थिए सरकार प्रमुख
मग्न थियो
दुनिया हँसाउन उनको जोकर सरकार यता
यिनिहरुप्रति ब्यङग्य लेख्ने फूर्सद
पटक्कै भएन यसपाली मलाई
तिमीसँग रमाएर हिंडिरहनमै जो व्यस्त रहें
ईश्वर हिंड्ने प्रेमको त्यो आदिम बाटो ।

मेरो ईश्वर

कहाँ रहेँ र नास्तिक म अब ?

तस्वीर टाँसेर मूल ढोकैमा
तिमीलेझैँ
पुजा गर्न थालेको छु ईश्वरको

मेरो ईश्वरको ईश्वरत्वमा
तिमीलाई सन्देह हुन सक्ला
कि आफ्ना दस नङ्ग्रा खियाएर
मलाई पेटभरी खान दिने ईश्वर
मेरो रोग र शोक हटाउन
कुनै चमत्कार गर्न मान्दैन
दूखमा परेर पुकारा गर्दा प्रकट हुन्छ कि हुन्न तिम्रो ईश्वर कुन्नी
रुन थाल्छ मैसँग मेरो ईश्वर तर

मेरो उमेरसँगै ढल्किदै ढल्किदै जान्छ मेरो ईश्वर
र आफै पनि मर्छ एकदिन मेरो मृत्यूसँगै
मेरो ईश्वरको यहि नश्वरतालाई नमन गर्छु म
आखिर मसँगै जन्मेको हो मेरो ईश्वर
मेरो बालापनमा मसँगै खेलेको ऊ
मेरो जवानीको साथी र बुढेसकालको सहारा पनि हो

तिमी अचम्ममा नपर्नु तर
तस्विरमा टाँसिएको
मेरो ईश्वरको अनुहार मेरै जस्तो देखेर

तपाईको प्रतिक्रिया