पचासको अन्तिम दशकबाट लेखन प्रारम्भ गरेका कवि हेमन यात्री आफ्नो पुस्तामा चर्चीत कवि मध्ये एक हुन । हालसम्म “पहाड मसितै यात्रा गर्छ” कविता कृति प्रकाशित छ । प्रस्तुत छ साताको तीन कविता

आमाको गीत

हिउँदे बतासको लैबरीमा
थपडी बजाइरहेछन चिउरीका पातहरू
भर्लेनि पाखामा कोरस आलापिरहेछन
एकहुल हलेसोका बथान
आमा रुखबाट गीतका हरफहरू खसाईरहेकी छन

नजिकै बगिरहेको छ छिपछिपे खोला
आमा रुखबाट ओर्लेर कुवा बनाउँछिन
र कुवाको ऐनामा
युद्धमा बेपत्ता छोराको अनुहार देख्छिन

यतिन्जेल आफ्नै अनुहार राम्ररी नदेखेको आमाले
आफैलाई छोराजस्तो देखेर
निकैबेर के के।।।के के सोचिरहिन ।।। ?
कुवामा देखिएको अनुहार आफ्नै आँसुले लतपतिएपछि
आमा झस्किदै पटुकीको फेरो समातेर
छोराको सम्झना पोखिएको आँखाका डील पुछ्छिन
र खोलाको चेप्टेढुङ्गामा बसेर
छोराले लेख्न सिकाएको आफ्नै नाम
लेख्तै–मेटतै गर्छिन

सम्झना बिस्तारै भाग्दै–भाग्दै जान्छ
आमा पारिपटिृ पश्चिम फर्किएको
कटुसको झ्याङमा घडी हेर्छिन्
पात–पातमा पँहेलो घाम झुन्डिएको देखेर
डँडाल्नोभरि हरियो गीतको भारी बोकेर घर फिर्छिन ।

साँझपख घरमुन्तिरको बूढो खरबारीमा
हँसिया बोकेर हिँडेकी आमा
खै ! किन हो,
खरबारीमा बसेर गुनगुनाउन थालिन–
“सरमा–सर सिक्रेटै खानू कैंचिमार बकासको
कैंचिमार बकास खोलेर हेर्दा छ माया क–कसको”
यसरी उमेरको पचपन्न वर्षपछि
पहिलोपटक आमाले रुँदै–रुँदै गाएको सुनेर
अहिले खरबारी आफै रोइरहेको छ ।

बेपत्ताको आत्मा

बाँचेकाहरू सँग त छँदै छैन म
मरेकाहरू सँग पनि छैन

तिमीलाई याद हुनु पर्छ अझै
शरद ऋतुको एकबिहान
मैले बोकेको राजनीति शास्त्र र केही युद्धका किताबहरू देखेर
कलेज जाँदा–जाँदै
बाटामै अपहरित भएको हुँ म

त्यसयता बेठेगान छु आजसम्म
टाढाबाट कुनै प्रेमीले पठाएको चिट्ठी
बाटामै गुमनाम भएजस्तो

यता घरमा म जिउँदै रहेको भ्रम बोकेर
अन्धकारजस्तो बिश्वासमा बाँचिरहेका
मेरा बा–आमा
परदेश गएको छोरालाई झैँ
बल मागिदिरहेछन अझै सुम्नीमा–पारुहाङसँग
र दिर्घायुको कामना गरिरहेकाछन
मन्साउँदै बाटाका सिमे–भूमे

तर हरेक सपनाभरी दुःख दिन आइरहने
मलाई थाहा छ
परदेश गएको छोरा जस्तो
फर्केर आउने छैन म

मरेकाहरू सँग पनि छैन म
बाँचेकाहरू सँग त छदै छैन

यसरी कतिन्जेल बेपत्ता बनूँ
र दुःख दिऊँ सपना भरि आएर ?
अब छुटाइदिनु मेरा लागि
एकमुठी धान
एकमुठी मकै
एकमुठी कोदो
एकमुठी फापर
एकचिण्डो जाँड
एकथान खुकुरी
एकथान भाँडा
एकथान कपडा
खर्चलाई रु एकको सिक्का
र बनाइदिनू म अटने गरिको एउटा घर– घरछेउ मै

त्यसपछि
कहिल्यै दुःख दिन आउने छैन म सपनाभरी

शरद ऋतुको एक बिहान
मैले बोकेको राजनीति शाश्त्र र केही युद्धका किताबहरू देखेर
कलेज जाँदा–जाँदै बाटामै अपहरण गरेपछि
तिमीले जीउँदै गाडेको मेरो खबर
मेरा बा–आमालाई भनिदेऊ
कम्तीमा रात–रातभर मेरो छायाँले लखेट्दै
दुःख दिईरहने छैन उनीहरूलाई

म त्यही हुँ
तिमीले बिर्सीगएको मानिस

धेरैपछि सम्झनाको साँघु तरेर
तिमीले मेरा बारे सोध्यौ–
कसरी ढाँटु म आफूलाई ?
तिमीले बिर्सीहिँडेको मानिस म होइन भनेर

सप्पै–सप्पै बिर्सीहिँडेको तिमीले
खै ! के सम्झ्यौ कुन्नी
दुर देशमा पुगेर ?

सुनकोशीमा बगेको सुनको पानी सम्झ्यौ कि
सम्झ्यौ– गढ्तीरमा बिसौनीले पर्खिबसेको
कि मैले दिएको सम्झनाको रुमाल
आँधीले उडाई लगेको साँझ सम्झ्यौ ?

खै ! के सम्झ्यौ कुन्नी
सप्पै–सप्पै बिर्सन्छु भनेर हिँडेकी तिमीले
फेरि सम्झ्यौ सम्झनाको साँघु तरेर

सप्पै–सप्पै बिर्सीहिँडेको तिमीले
खै ! के सम्झ्यौ कुन्नी

दुर देशमा पुगेर र ?

हामीले हिँडेजस्तो बाटाहरू पो भेट्यौ कि त्यहाँ
वा तिमी जस्तो एक्लो–एक्लो देउरालीलाई देख्यौ
वा मेरै जस्तो सपना भत्किएको मानिस पो भेट्यौ
वा कहिलेकाहीँ मैले गुन्गुनाउने गीतहरू पो सुन्यौ त्यहाँ ?

नत्र खै ! कसरी सम्झ्यौ
सप्पै–सप्पै बिर्सन्छु भनेर हिँडेको तिमीले

जती अक्करको बाटो जस्तो हुन्छ भूलीदिन
सायद सजीलै छ सम्झनलाई
र नै सम्झ्यौ होला तिमीले

बिर्सीएकै भएपनि
कुनै दिन तिमीले छोडिगएको बाटोले भन्ने थियो
कुनै दिन तिमीले छोडिगएको माटोले भन्ने थियो
‘साँझको जूनकिरी जस्तै हुन् सम्झनाहरू
कुनै साँझ जूनकिरीहरू निभेछन भने
सम्झनू– हाम्रा सम्झनाहरू पनि सकिनेछन सबै ।’

तर त्यतिन्जेल मैले सम्झेको मानिस
तिमी नै हुनेछौ ।

तपाईको प्रतिक्रिया