क्रान्ति सुब्बा

” यदि इभले खान मनाही गरिएको फल (एप्पल) नटोकेकि भए संसारमा पाप नै आउदैन थियो , सहि र गलत नै हुदैन थियो र कुनै समाचार पनि बनिन्दैन थियोे ।” – जिमि लाइ ( लाई चि- यीङ)

“एप्पल डेलि” अर्थात  हङकङको एउटा लोकप्रिय चिनियाँ भाषामा प्रकाशित हुने समाचार पत्रीका जसको  प्रकाशन जुन २४ तारीख २०२१ बाट पुर्णतः बन्द भएकोछ। यस पत्रीकाका संस्थापक जिमि लाइले जब १४ महिनाको जेल सजाय पाए अदालतबाट गत अप्रिल महिनामा, हो ! त्यसै दिन एक बेजिङ समर्थक पत्रीका ता कुङ पाउले “राष्ट्रिय सुरक्षा ऐनको छिद्र टाल्न” एप्पल डेलि माथि प्रतिबन्ध लगाइनु पर्छ भनेको थियो ।


बेजिङले हङकङ माथी लागू गरेको विवादास्पद राष्ट्रिय सुरक्षा कानुन  र बेजिङ स्वयंको कडा आलोचना गर्ने उच्च तहको फिगरहरु मध्येका एक हुन यी ७३ वर्षीय मिडिया टाइकुन र यीनले चलाएको २६ वर्ष पुरानो न्युजपेपर। यीनले र यिनी द्वारा संचालित पत्रीकाले यो कानुनलाई ड्राकोनियन अर्थात कठोर भनेको थियो भने संस्थापन पक्षले भने कानुनलाई आवश्यकता भनेको थियो । वास्तवमा यो कानुनले पृथकतावाद,विध्वंसकारी गतिविधि , आतंकवाद र विदेशी शक्तिसंगको घुसपैठलाई अपराध ठहराउदछ । कसुरदारले मुद्दाको प्रकृति हेरेर आजिवन कारावास सम्म सजाय पाउन सक्दछ। राष्ट्रिय सुरक्षा ऐनले हङकङको स्वतन्त्र न्याय प्रणालीलाई संकुचित तुल्याउने तर्क यो ऐन बिरोधिहरुले गर्दै आएकाछ्न।

जब जुन २३ तारीख बुधबारको राष्ट्रिय , अन्तर्राष्ट्रिय पत्र पत्रीकामा हङकङ प्रजातान्त्रिक आन्दोलनको प्रतीक मानिने  एप्पल डेलि बन्द हुने समाचार हेडलाईनको रूपमा छापियो तब यस कदमको आलोचना पनि हुन थाल्यो । “प्रेस स्वतन्त्रताको हकमा   हङकङ कै वर्तमान इतिहासको सबैभन्दा कालो दिन ” एमनेस्टी इन्टरनेसनलले विज्ञप्तिमा भनेकोछ। ” वास्तवमा राज्य पक्षले यस किसिमको कार्वाहीलाई सफल तुल्याउन जसरी राष्ट्रिय सुरक्षा कानुनलाई प्रयोग गरिरहेको छ त्यसले यो कानुन अत्यन्तै दमनकारी प्रकृति हो भन्ने कुरालाई इंगित गरेकोछ। ” विज्ञप्तिमा लेखिएकोछ।

हङकङ जोर्नालिस्ट एसोसिएसनका अध्यक्ष रोन्सन च्यानले प्रेस स्वतन्त्रता माथि अंकुस लागेको भन्दै भने ” चेतावनी एकदम स्पष्ट छ । एप्पल डेलिको हविगतबाट हामीले पाठ सिक्नु पर्छ।”
खुला र स्वतन्त्र समाजको रूपमा चिनिएको बेलायतको पुर्व उपनिवेश अर्ध स्वशासित क्षेत्र हङकङमा रहेका अन्य थुप्रै कम्पनीलाई पनि  विदेशी शक्तिसंग घुसपैठको मुद्दा लाग्न सक्ने  बाटो एप्पल डेलिको नियतिले देखाइ दिएको कुरा मिडिया अधिकारकर्मी समुहले गरेका छ्न।

जुन २७ तारीख आइतबार राती हङकङको अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले बन्द अवस्थामा रहेको एप्पल डेलिका पुर्व सम्पादकलाई हङकङबाट भाग्न आटेको अवस्थामा प्रहरीले राष्ट्रिय सुरक्षा अपराध अन्तर्गत पक्राउ गर्यो। यो पक्राउले फेरि हङकङ शहरको मिडिया जगत उतर्सियो। त्यस पछि प्रो डिमोक्रेसी मिडिया आउट्लेट स्टेन्ड न्युजले पाठकबाट मासिक चन्दा नउठाउने भएकोछ। र कमेन्ट सेक्सन नै प्लेटफर्मबाट हटाएकोछ।

एकातिर आलोचकहरु राज्यको यस कदमले प्रेस स्वतन्त्रताको गला रेटेको  भनेर पैरवी गरि रहेकाछ्न भने अर्को तिर राज्य पक्षले यस कथालाई   आफ्नै बुनोटमा प्रस्तुत  गरिरहेको छ। जुन २२ तारीख मंगलबार हङकङकि कार्यकारी प्रमुख क्यारी लामले राष्ट्रिय सुरक्षालाई नै खतरामा पुर्याउने यस्तो कर्मलाई सुन्दर बनाउने कोशिश नगर्न अनुरोध गरेकी थिइन आलोचकहरुलाई ।

लाम क्याबिनेटको सुरक्षा मन्त्री जोन लिले त गत हप्ता अर्थात जुन १७ तारीख बिहीबार   धम्कीको भाषामा पक्राउ परेका एप्पल डेलिका कर्मचारी तर्फ औल्याउँदै  हङकङका नागरिकलाई सम्बोधन गर्दै यसो भनेका थिए – ” यदि तिमीहरूले यी राष्ट्रिय सुरक्षालाई नै दाउमा हाल्ने षड्यन्त्रमा लागेकाहरुलाई साथ दिन्छौ भने बहुत महंगो मुल्य तिर्नु पर्छ। यी शंकास्पद व्यक्तिहरुसंग तिमीहरूले पुरै सम्बन्ध विच्छेद गर्नु पर्दछ अन्यथा नराम्ररी पछुताउनु पर्ने अवस्था आउनेछ।”

” हङकङ र चीनको बिरोधमा खतरनाक गतिविधि अरु देश अथवा बाहय  तत्वसंग मिलेर पत्रकारिताको नाममा यी अपराधीहरुले गर्ने प्रयास गरेकाछ्न ।” उनले एप्पल डेलिको अपराध औंल्याए । छापा मारिएको न्युज रुमलाइ अपराध स्थलको संज्ञा दिइएको थियो ।

यो पत्रीका बन्द हुनु भन्दा केहि दिन अगाडि हङकङ सरकारले एप्पल डेलि संग संबंधित सम्पूर्ण सम्पत्ति (१८ मिलियन) राष्ट्रिय सुरक्षा कानुन उलंघनको अभियोगमा रोक्का गरिदिएको थियो । फलतः यो पत्रीका आर्थिक अभावका कारण स्वत  बन्द हुने स्थिति आयो।
एप्पल डेलिमा छापिएका ३० थान भन्दा बढी आर्टिकलहरु राष्ट्रिय सुरक्षा कानुन विरुद्ध भएको आरोपमा जुन १७ तारीख बिहीवार पाँच सय प्रहरीको जत्थाले पत्रीकाको कार्यलयमा छापा मारेको थियो ।
त्यस दिन पत्रीकाका पाँच जना उच्च तहका संपादकहरु पक्राउ परेका थिए भने न्युज रुमबाट संचार सामाग्री जस्तै मोबाइल फोन , ल्यापटप  आदि बरामद गरिएको थियो ।

पक्राउ परेको घटनापछि शुक्रबार ५ लाख कपि एप्पल डेलि प्रीन्ट भएकोमा सबै बिक्री भएको थियो । राज्य पक्षले कार्वाही गरेता पनि जनसमर्थन भने पत्रीकाले पाएको थियो ।


गैरकानुनी भेलामा संलग्न भएको आरोपमा जेल सजाय भोगिरहेका मिडिया टाइकुन तथा यस न्युजपेपरका मालिक जिमि लाईप्रती आइलागेको अर्को नयाँ घुस्सी हो यो।चीनको आँखामा बिझेको काँडा एवं बेजिङका कट्टर आलोचक लाईको निजि सम्पत्ति पहिले नै फ्रीज भैसकेकोछ। गत वर्ष (अगस्ट १०, २०२०) २०० प्रहरीले पत्रीकाको यस प्रमुख कार्यलयमा छापा मार्दा लाई स्वयं पनि विदेशी शक्तिसंग घुसपैठ गरेको आरोपमा पक्राउ परेका थिए ।
गत डिसेम्बरबाट  अनेकौं मुद्दामा समातिएका लाई अहिले जेलमा सजाय काटिरहेछ्न। राष्ट्रिय सुरक्षा ऐन अन्तर्गत कसुरदार ठहरिए उनलाई जन्मकैद हुनेछ।

बेजिङमा गत महिना चीनको सरकारी मिडियाले यस्तो अभिव्यक्ति दिएको थियो -” सडेको एप्पलले गत २० वर्ष देखि हङकङलाई महामारीग्रस्त पारयो  अब यिनको प्रलयको दिन झन नजीक नजीक आउदैछ ।”
चीन सरकार पक्षधर पत्रीका द ग्लोबल टाइम्सले हङकङ लिगल एकस्चेन्ज फाउन्डेसनका महासचिव लुइस चेनले बोलेको अभिव्यक्तिलाई हाइलाइट गरेर जुन २० तारीखको अंकमा राखेको थियो । उनको उदगार यस्तो छ ” एप्पल डेलिले के गरेकोछ भन्ने कुरा बडो सुस्पष्ट छ । यो पत्रीकाले राष्ट्रिय सुरक्षा कानुनलाई केहि जस्तो ठानेन र निरन्तर उक्त कानुन उलंघनमा लागी रहयो र अन्तमा पत्रकारिताको मुल्य मान्यता र आचारसंहितालाई समेत लत्यायो।”

त्यसो त मुल भुभाग चीनका केही चिनियाँको आँखामा एप्पल डेलि पत्रीका भनेको चिनियाँ अस्मितामा देखिएको दरार हो र लामो समय देखि यो समाचार पत्रीका विवादास्पद रहदै आएको छ बिशेष गरि हङकङ र मुल भुभाग चीनको चिनियाँ बीच फुट ल्याउने कुरामा ।

एप्पल डेलिले एक देश दुई व्यवस्था कायम हुनु पर्छ भन्ने कुरालाई उचालेर लेख्थ्यो भने अन्य मुल धारका पत्रीकाले यो हङकङ चिनियाँ भुभाग भएकाले एउटै प्रणाली हुनु पर्छ भन्थ्यो। हङकङको समाजलाई दुई धारमा बिभाजन गर्नमा यो समाचार पत्रले उल्लेख्य भुमिका खेल्यो। चीन र हङकङ सरकार विरोधी सामाग्री खुलेआम प्रकाशन गर्न थालेपछि यसका रिपोर्टरलाई चीन जान मनाही गरियो। सन २००८ को बेजिङ ओलम्पिकको रिपोर्टिङ गर्नबाट बन्चित गरियो।

सन २०१२ सालमा यो पत्रीकाले एउटा यस्तो फुल पेजको विज्ञापन छापेको थियो जसमा मुल भुभाग चीनलाई सलह किराको रूपमा प्रस्तुत गरिएको थियो जुन सलह किरा हङकङमा पसेर यहाको सबै स्रोतहरु ढुट्टो पारिदिएको अर्थमा त्यसको डिजाइन भएको थियो ।

” अभिव्यक्ति र प्रेस स्वतन्त्रतासहितको कति जिवन्त समाज थियोे हाम्रो भन्ने कुरा एप्पल डेलिले देखाएको थियो । तर भोलि उप्रान्त हामीसंग एप्पल डेलि हुने छैन ।” पुर्व प्रजातन्त्र समर्थक विधायक एमिली लाउले खिन्न हुदै भनिन।

”  यदि चीन सरकारले कुनै पनि कार्वाही गर्ने निर्णय गर्‍यो भने उसले  यति द्रुत गतिमा र कहिलेकाही  अति नृशंस  शैलीमा गर्दो रहेछ भन्ने कुरा यो घटनाले पुष्टि गर्दछ।” लाउले थपिन।

“यो घटनाद्वारा असलमा शक्ति चाहिँ कसको हातमा छ र कस्तो किसिमको क्रियाकलाप त्यो शक्तिले पचाउन सक्दैन भन्ने कुरा स्पष्टसाथ प्रमाणित गरिदियो।” भन्छिन युनिभर्सिटी अफ सिड्नीकि चाइनिज मिडिया स्ट्डिजकि लेक्चरर डाक्टर जोएस निप ।

एप्पल डेलिका संस्थापक जिमि लाई १२ वर्षको किशोर उमेरमा फिसिङ बोटमा लुकेर चीनबाट हङकङ छिरेका थिए र हङकङमा आएर बाल मजदुरको रूपमा काम थालेका ऊनी अन्ततः जियोर्डानो कम्पनीको मालिक सम्म बने।
सन १९८९ मा जब प्रजातन्त्र समर्थकको प्रदर्शनीलाई चीनिया कम्युनिस्ट पार्टीले बेजिङको तियानमेन स्क्वायरमा खुनी दमन गर्‍यो त्यसपछि जिमि लाई टेक्स्टाइल अर्थात् लत्ताकपडाका एक महसुर व्यापारी प्रकाशन व्यवसाय तर्फ पनि लागे। सन १९९५ मा एप्पल डेलि खडा गरि प्रजातन्त्रको समर्थनमा यस पत्रीका लाई एकातिर  प्रयोग गरे भने अर्कोतिर चाइनाको कम्युनिस्ट पार्टीलाई आक्रमण गर्ने प्लेटफर्म पनि  पत्रीकालाई बनाइ रहे । धनाढ्य यिनको परिवार चीनमा कम्युनिस्टको शासन आएपछि बिल्लिवाठ भयो । सायद त्यसैदिनबाट उनको बाल मनोविज्ञानमा कम्युनिस्ट पार्टी प्रति घृणा पलायो। र चरम स्वतन्त्र भुमि हङकङबाट चीनको अधिनायकवादसंग टक्कर लिन थाले।

सन २००० को शुरुआत ताका चीनको बढ्दो आर्थिक प्रभाव विश्वमा नै बढेपछि ठुला कम्पनीले व्यापारमा असर पर्छ भनेर कम्युनिस्ट पार्टीको खुलेर आलोचना गर्न छोडे तर लाईले छोडेनन। हङकङको मेजर कर्पोरेसन जस्तै क्याथे प्यासिफिक र सिके हचिसनले त पछि एपल डेलिमा बिज्ञापन छपाउन छोड्यो ।

इतर विचार प्रति असहिष्णु राष्ट्रपति सि जिङपिङ्को उदयलाई पनि यो समाचार पत्रले टेरेन। हङकङको स्वशासनको पक्षमा यो पत्रीकाले वकालत गरिरहदा चीनले यथाशीघ्र हङकङलाई आफ्नो नियन्त्रणमा लिने निति लिइरहयो।

अम्ब्रेला मुभमेन्ट भनेर चिनिने सन २०१४ सालको विशाल प्रोटेस्ट जसले हङकङको राजधानी सेन्ट्रललाई महिनौंसम्म ठप्प पारेको थियो त्यस आन्दोलनका एउटा मुल पात्र जिमि लाई नै थिए । यसो भनौं हङकङको शासन पद्धतिबारे चीनले अपनाउन खोजेको जुनसुकै मोडालिटीको विरोध गर्ने प्रतिपक्षको रूपमा यो पत्रीका निडर उभियो।

जब सन २०१९ मा सुपुर्दगी प्रस्तावित ऐन सदनको फ्लोरमा ल्याइयो यसको विरोधमा जनसागर सडकमा उर्लियो। यस उथलपुथलमा एप्पल डेलिले मुखपृष्ठबाट नै पाठकलाई उक्त बिशाल जुलुसमा भाग लिन आव्हान गर्‍यो र सरकार बिरोधि पोस्टर जुलुसमा सहभागी हुनेहरूको लागि छाप्यो ।

सुपुर्दगी ऐनको नाममा दशकौंपछि जन आक्रोशको आगो यसरी दन्कियो कि हङकङमा जसले जसले सडक देखि सदन सम्मलाई ठप्प पार्यो । बागी जमातले १२ दिन सम्म हङकङको एउटा युनिभर्सिटीलाई कब्जामा लियो। हङकङ अन्तर्राष्ट्रिय विमान स्थल दुई चोटि अबरुद्ध गरायो।

आफनै शहर जलेको वेजिङले टुलुटुलु हेरेको निकै समय भैसकेको थियो । यो समस्याको निकासको लागि केही गर्नै पर्ने दबाब त स्वत परेकै थियो । संजोग कस्तो परयो भने महामारीका कारण आन्दोलनकारीहरु सडकमा जान नसकी रहेको छेको पारेर जुन महिनाको २०२० मा अन्ततः चीनले राष्ट्रिय सुरक्षा ऐन पारित गरयो।

राष्ट्रिय सुरक्षा ऐन लागु भएको एक वर्षको अवधिमा अधिकांस प्रजातन्त्र समर्थक राजनीतिकर्मीहरु अहिले जेलमा छ्न कि त निर्वासित छ्न। प्रजातन्त्र समर्थक क्याम्पको अन्तिम किल्लाको रूपमा रहेको एप्पल डेलिलाई पनि अन्ततः समाप्त गरियो।

जब लाईले १९८९ को तियानमेन स्क्वायर नरसंहारको आदेश दिने चिनियाँ उच्च अधिकारी लि पेङलाई ” कछुवाको बच्चा ” भनेर अपमान गरे तब चीन उनिसंग नराम्ररी चिढियो। त्यसपछि त बेजिङले मुल भुमि चीनमा संचालित उनको गार्मेन्ट कम्पनी जोर्डानो संचालन हुन नदिने धम्की दियो। अब लत्ताकपडा र मिडिया दुइमा एक चुन्नु पर्ने भो।सन १९९६ मा उनले जोर्डानोको आफ्नो शेयर बेचेर उनी समाचारको व्यापार तर्फ मोडिए।

हङकङमा उनको प्रकाशनले पाठक माझ छुट्टै छाप छोड्न सफल थियो ।शहरका नाम चलेका सेलेब्रीटीका निजि जिवनबारेका चाख लाग्दा सनसनीपुर्ण  कुराहरू , राजनीतिक स्क्याण्डलहरु आकर्षक ढंगले यस समाचार पत्रले राख्दथियो ।
स्क्याण्डलका अलावा स्थानीय भ्रष्टाचार , सामाजिक असमानता साथै स्थानीय राजनीतिमा पनि समेत यो पत्रीका संलग्न भयो । पाठकहरुलाइ राजनीतिक प्रदर्शनीमा सडकमा उत्रन आव्हान गर्‍यो । प्रदर्शनकारीको निम्ति पोस्टर समेत छाप्यो।

तर हङकङको राजनीतिक पर्यावरण सदा एकनासको रहेन।चीनको रवैया हङकङप्रति केहि समय यता कडा हुन थालेपछि जिमि लाई र उनको अखबारी साम्राज्यको दिन गन्ती शुरु भयो । चीनले राष्ट्रिय सुरक्षा ऐन हङकङमाथि लागू  हुनासाथ अब जिमि लाई पहिलो तारो हुने होहल्ला हङकङमा चलेको थियो ।
त्यसो त जिमि लाइलाइ पनि  आफ्नो अखबारको हविगत के हुन्छ भन्ने कुराको हेक्का थियो । उनले गत वर्षको मे महिनामा टाइम पत्रीकामा लेखेका थिए ” मलाई थाहा थियो एक दिन चिनियाँ कम्युनिस्ट पार्टी हङकङले उपभोग गरेको फ्री प्रेसबाट मात्र होइन यहाँको फ्री पिपुलबाट पनि आजित हुनेछ।” एप्पल डेलिमा काम गर्ने सम्पुर्ण पत्रकारहरुलाइ थाहा  थियोे उनिहरु जानी जानी आगोसंग खेल्दै छ्न भन्ने कुरा। त्यही भएर कतिपय पत्रकारले जेल जानू भन्दा काम छोड्नु बेस भनी केही महिना अगाडि काम छोडेका थिए भने सोमबारको दिन करिब ५० जना स्टाफले राजीनामा दिएका थिए । र अन्तमा ज्यान जोगाउनको लागि प्रेस नै बन्द गर्ने स्थिति आयो नै। साथै एक वर्ष अघिबाट संचालित अंग्रेजी वेबसाईट पनि बन्द भयो।

” तिनीहरुले एकजनालाई पनि बाँकी राख्दैनन् ” जिमि लाईका टप सल्लाहकार मार्क साइमनले भने।

अन्तत: हङकङमा चीनले लागू गरेको राष्ट्रिय सुरक्षा ऐन मार्फत  प्रजातन्त्रको पक्षमा चर्को आवाज निकाल्ने, पैसा तिरेर ग्राहक बनेका ६ लाख सब्स्क्राइबर भएको एउटा ठूलो अखबारलाई एक वर्ष लगाएर भए पनि सुलि चढाएर छाड्यो चीनले। नेक्स्ट मिडियाद्वारा प्रकाशित एप्पल डेलिले जुन २४ तारीख बिहिवार अन्तिम दस लाख कपि प्रकाशन गरेर दम तोड्यो।

” मेरो विचारमा यो एउटा युगको अन्त्य हो। त्यसैले एक कपि पत्रीका किन्न म यहाँ आएकोछु। हङकङले एउटा जाबो पत्रीका लाई पनि देख्न सकेन । खै ! किन हो म बुझ्न सक्दिन।” भन्छ्न एप्पल डेलिका एक समर्थक सान चाङ , वर्ष २७।

“चीनको आन्तरिक मामिलामा दखल पुरयाउदै चलखेल गर्ने विदेशी शक्ति र पृथकतावादीहरुको एउटा युग समाप्त भएकोछ।” – ग्लोबल टाइम्स ।

तपाईको प्रतिक्रिया