आफना रचनाहरुमा शुसिला निनाम स्पष्ट छीन अनि प्रेमील।,पछिल्लो पुस्तामाँझ धारिलो तरबार जस्तो कविता लेखीरहेकी यी कवि एक बलशाली कवि हुन। प्रस्तुत छ साताको तीन कविता

प्रतिशोध

ग्रेटवाल जस्तो सामाजिक पर्खाल
भताभुङ्ग पार्दिन मन छ
धरहरा जस्तो घमण्ड
भत्काइदिन मन छ

बीच सडकमा
तिम्रो चिरहरण गरेर
विर्य लुट्न मन छ
त्यही विर्यबाट
अराजक छोरीहरु जन्माएर
निरन्तर अराजकता मच्चाउन मन छ

विर्य लुटिएको उजुरी दिन
तिमी प्रहरी चौकी गएको हेर्न मन छ
न्याय माग्दै अदालत गएको हेर्न मन छ
जसरी बलात्कृत भएर
अर्ध बेहोस दिदिबहिनीहरु गैरहेका छ्न न्याय माग्न

छापा, रेडियो, टेलिभिजन ,अनलाइन , फेसबुक, न्युज स्क्रोल मा
तिम्रो विर्य लुटिएको समाचार पढ्न, हेर्न मन छ
विक्षिप्त तिम्रो तस्बिर यत्रतत्र हेर्न मन छ
जसरी बलात्कार पछि
हत्या गरिएकी बालिका निर्मला पन्तको
तस्बिर छरिएको थियो ।

पुरुषत्व जोगाउन नसकेकोमा
तिमिलाइ दुनियाँले घृणा गरेको हेर्न मन छ
जसरी अस्मिता जोगाउन नसकेर
बलात्कृत दिदिबहिनीहरुलाई
यो समाजले घृणा गरीरहेको छ ।

म भित्र प्रतिशोध झ्याँगिरहेको छ
जब बाउबाट छोरीको बलात्कार हुन्छ
दाजुबाट बैनीको बलात्कार हुन्छ
गर्भ मै हत्या हुन्छ छोरीहरुको
जन्मेको छोरीहरु सुरक्षित छैनन्
हरेक दिन बालिका बलात्कारको
समाचार पढ्नु पर्छ ।
अब अस्तित्व रक्षाको लागि प्रतिरोध हैन प्रतिशोध थाल्नु छ ।

प्रतीक्षा

तिमी आउने छौ
कुनै दिन
मृदुल मुस्कान लिएर
यी आँखाहरु लालायित छन
त्यो मुस्कान हेर्न
ढिलो न गर्नु तिमी
सागर भेट्न नदिहरु नअल्मली गए झैँ आउनु
म तिमीलाई कुरिरहेको हुनेछु

तिमी ढिलो आयौ भने
सबै सबै ढिलो हुनेछ
बिनायोको धुन ब्युझाउँनु ढिलो हुनेछ
मुर्चुङ्गाको मुर्छना खोज्न ढिलो हुनेछ
संग्रहालयमा सिमित एलम्बर बाजा
निकालेर केटाकेटीको
हातमा पुर्याउन ढिलो हुनेछ
कोकुको चरीबाजा खोज्न ढिलो हुनेछ
उधौली उभौलीमा
ढोल झ्याम्टासंगै साकेला नाच्न ढिलो हुनेछ
कोकु कोप्पाबाट मिथक सुन्न ढिलो हुनेछ
भग्नावशेष गढिहरु खोज्न ढिलो हुनेछ

ढिलो हुनेछ वावु रोप्न
ढिलो हुनेछ मुन्दुम बुझ्न
ढिलो हुनेछ तिमिलाइ मेरो चुल्ठोमा लिमचिङ्बुङ् सिउरिन
मलाई तिम्रो कानमा
कवैबुङ सिउरिन
ढिलो हुनेछ एउटा इतिहास बनाउन
जस्को अभिभारा हाम्रो काधमा छ
त्यसैले तिमी समय मै आउनु
म कुरिरहेको हुनेछु ।

जुकाहरु

हामीले धेरै थरी जुका
पालेका छौ
शरीरमा टासिएर रगत चुस्ने
आन्द्रामा बसेर रगत चुस्ने
फरक खाल्को अर्को जुका छ
जो शरीरमा टासिदैन
आन्द्रामा बस्दैन
तर
हाम्रो रगत चुसिरहन्छ
हाम्रो मुखमा आउने भात
त्यसले अगाडि नै खाइसकेको हुन्छ ।

यस्तो जुकाहरु
उता सिंहदरबार देखि
यता स्याल दरबार सम्म
सधै सलबलाइ रहन्छ
कहिले ढाँडिदैन
कहिले अघाउँदैन
सधै चुसीरहेको छ, चुसीरहन्छ
हाम्रो रगत
यी जुकाहरुले ।

तपाईको प्रतिक्रिया