काठमाडौं । विश्वचर्चित पेगासेस प्रकरणमा नेपाल पनि मुछिएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाए अनुसार इजरायली सफ्टवेयर पेगासेसमार्फत दिल्लीस्थित नेपालसहितका कूटनीतिज्ञको जासुसी गरिएको पाइएको छ ।

दिल्लीस्थित नेपाली राजदूत निलाम्बर आचार्यसहित इरान, अफगानिस्तान, चीन र साउदी अरेबियाका राजदूतको जासुसी गरिएको फ्रान्सेली अखबार द मोन्डे र भारतीय अखबार द हिन्दूले समाचार प्रकाशित गरेको छ । विश्वका सरकारहरुले आफ्ना आलोचक पत्रकार, राजनीतिज्ञ र कूटनीतिज्ञको मोबाइल ह्याक गरी गोप्य जासूसी गरेको खुलासा सोमबार भएको थियो । १७ वटा अन्तर्राष्ट्रिय मिडियाको रिर्पोटिङले यस्तो खुलासा गरेको थियो ।

यो सूची सार्वजनिक हुने वित्तिकै सफ्टवेयर पेगासेस निर्माता कम्पनी एनएसओ ग्रुपले यसलाई आफूविरुद्ध भएको अन्तर्राष्ट्रिय षड्यन्त्र भनेको छ । पेगासेसको माध्यमबाट एसएमएस, ह्वाट्सएप, आई म्यासेज पठाउने गरिन्छ र क्लिक गर्न भनिन्छ । सो क्लिक गर्दा स्पाइवेयर एक्टिभ हुनेगर्छ । उक्त सफ्वटेयर एकपटक एक्टिभ हुने वित्तिकै एसएमएस, इमेल, ह्वाट्सएप, च्याट, कन्ट्याक्ट बुक, जीपीएस डेटा, फोटो र भिडिओ लाइब्रेरी र क्यालेन्डरमा सीधै पहुँच स्थापित हुने बिज्ञको भनाइ छ ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार भारतमा सन् २०१७ देखि २०२१ सम्म यसरी जासूसी गरिएको प्रमाण भेटिएको प्रतिवेदनमा जनाइएको छ । वासिङ्टन पोस्ट, द प्रिन्ट, द गार्जियनजस्ता अखबारले पनि कूटनीतिज्ञसहित ठूला आइएनजीओलाई पनि जासुसीको घेरामा राखेको जनाएका छन् । भारतले आफूसँग तनावपूर्ण सम्बन्ध रहेको पाकिस्तानका प्रधानमन्त्रीको पनि गोप्य जासुसी गरेको द हिन्दूले जनाएको छ । द मोन्डे अखबारका अनुसार सन् २०१७ मा मोदीको इजरायल भ्रमणपछि पेगासेस सफ्टवेयर प्रयोगमा आएको थियो ।

एसियादेखि अमेरिकासम्मै सरकारले पेगासेसको माध्यमबाट रिपोर्टरको जासूसी गरेको जनाइएको छ । संसारका केही देशको सूची पनि सामेल छ जहाँ सरकारले पत्रकारलाई निगरानीमा राखेको छ । सूचीको पहिलो स्थानमा अजरबैजान छ, जहाँ ४८ जना पत्रकार सरकारी निगरानीमा रहेको उल्लेख छ । भारतमा त्यस्ता ३८ जना पत्रकार रहेको दाबी गरिएको छ ।

तपाईको प्रतिक्रिया