कथा

आमा भन्नुहुन्छ —”तैंले अहिल्यै जिन्दगी बुझेको छैनस।”

सायद त्यति नबुझेको हुँला । जति आमाले बुझ्नुभएको छ । तर नबुझेकी चाहिँ छैन । आमालाई यो बताउन जरुरी छ कि, जिन्दगी बुझ्दछु । एक्लोपनको गहिराइ त झन कति कति बुझ्दछु । उमेरले हैन मान्छेलाई जिन्दगीले परिपक्व बनाउछ । यो पनि बुझेकी छु । सम्बन्धको गहिराइ थोरै थोरै बुझ्दछु । सबैभन्दा धेरै त एक्लोपनको छटपटी बुझेकी छु । के म यति सरल विषय पनि नबुझुँला त ? एक्लोपन भन्ने विषय मेरा लागि सबैभन्दा कठिन र सबैभन्दा मन नपर्ने विषय । तर कलेजको हरेक वार्षिकोत्वको खुल्ला निबन्ध लेखन प्रतियोगितामा यही विषयमा लेख्ने गर्छु ।

केही महिना अघिसम्म साह्रै गम्भीर रिलेशनसिपमा थिएँ । तर उसका लागि सम्बन्ध नामको डोरी मात्र डोरी थियो । जहाँ जोसँग पनि बाँटिन सक्ने डोरी । गल्ती उसको हैन । सबैको सोंच सबैसँग कहाँ मिल्छ र ? ठीकै भयो चुँडियो त्यो डोरी । किन की गहिराइ नै थिएन त्यो सम्बन्धमा । अझ भनुँ प्रेमको डोरी मजबुत थिएन । मैले पो जबरजस्ती गहिराइ खोजेको थिएँ । केही दिन खुब रोएँ । तर अचेल आँसु झर्दैन । उमेर छ, वैंश छ । केही गर्ने जोश छ । अब केही वर्ष पढाइमा ध्यान दिन्छु । आमाको रङ्गहिन जिन्दगी रङग्याउने कोशिस गर्नेछु ।

मेरी आमा एउटा एनजिओमा काम गर्नुहुन्छ । कमाइ ठीक ठाक छ । पुर्ख्यौली सम्पत्ति छ धेरै थोरै । माटाको पुर्ख्यौली घर छ । काकाहरुले छुट्टिदा दया गरेर दिनुभएको त्यो घरको चोटा कोठा बिहान बिहानै लिपेर चिल्लो पार्नुहुन्छ । हामीलाई आमा छोरी कम र दिदी बहिनी ज्यादा भन्दछन। भर्खर पैंतिस पुग्नुभयो । चौध वर्षको हुँदा म जन्मिएँ रे । अठारको हुँदा बा कायरले आत्महत्या गरे रे । बा मरेपछि सुरु भएको आमाको संघर्ष अझै जारी छ ।
सुत्ने बेला एउटै कथा सुनाउनुहुन्छ । कसरी बाले एक्लैे छाडेर गए । अनि कसरी स्कुल पुरा गर्नुभयो । अनि कसरी कलेज हुँदै जागिरे जीवन तय गर्नुभयो ।

मेरी आमा कसैलाई प्रेम गर्नुहुन्छ । त्यो मान्छेको नाम हो विजय । तर अब केही दिनमा मेरी आमालाई भगाउने तयारी गरिरहेको छ । ऊ आमासँगै काम गर्छ दश वर्षदेखि । मान्छे ठीक ठाक छ । हेर्दा छिः भनिहाल्ने खालको छैन । राती राती आमा फोनमा कुरा गर्नुहुन्छ । निदाए जस्तो गरिदिन्छु । अचम्म, पौने एक घण्टा कुरा गर्दा पनि कहिल्यै भन्नुहुन्न ‘म हजुरलाई माया गर्छु ।’ एउटै कुरा भन्नुहुन्छ ‘सुत्नुहुन्न ? फोन राख्नु र सुत्नु ।’
फोन राखेपछि झुकेर मेरो निधारमा च्वाक्क म्वाइ खाएर भन्नुहुन्छ ‘नानी तँ कहिले ठुलो हुन्छस?’
आमालाई कसरी भन्नु कि, म ठुलो भइसकेँ आमा ।

एकदिन यसै कुरै कुरामा भनिदिएँ —आमा म त केही वर्षपछि बिहे गरेर जान्छु । हजुर एक्लै हुन्छ । कोही खोज्दै गर्नु ।

आमाले आँखा चिम्लेर थप्पड हान्नुभयो । एक डेढ घण्टा त गाला सुन्निएर रातो भइरह्यो । फेरि फेरि दोर्होयाएर आमासँग त्यस्तो कुरा गर्ने हिम्मत पनि आएन । तर आमा यसरी एक्लै छटपटाएको, उमेरमै रङ्गहिन भएर बाँचेको देख्न सक्दिन ।

पहाड जस्तो जिन्दगी चढेर छोरीलाई माथि उठाउने हिम्मत छ आमासँग । तर आफ्नो जिन्दगीको बारेमा सोंचेर एउटा निर्णय लिन सक्ने क्षमता छैन । आमा त्यै फूलमा पर्नुहुन्छ जो फुल्ने हिम्मत त गर्छ । तर भमराको नजिक गएर साउती मार्दै भन्न सक्दैन— ‘अनुमति बिना रस चुस्ने कोशिस नगर । मलाई फुलिरहनुछ । र मेरो सौन्दर्य अनि बैँस जोगाएर राख्ने भमराको लागि तिमी जस्ता हजार भमरासँग लडनुछ ।’
म त भन्छु, फूललाई पनि प्रतिक्षा रहन्छ मायालु भमरा आओस र चुमोस प्रेमले । थोरै थोरै गरेर पुरै बैँस रित्याइओस । बदलामा लेखिदेओस प्रेम र खुसीको अमिट दस्तावेज ।

फिल्डमा जाँदा विजयसँग कतै एकान्तमा झोला बिसाएर गफिन आमालाई पनि त मन लाग्दो हो । त्यो गण्डकी पारिको खुल्ला चौरमा बसेर भन्न मन लाग्दो हो —’विजय हजुर हुनुहुन्छ र पो यो प्रकृति, मौसम प्यारो छ।’ त कहिले रातीमा साउती मार्दै तातो तातो स्वास छाडेर भन्न मन लाग्दो हो –’धन्यवाद मेरो जिन्दगीमा सामेल हुनुभएकोमा।’

एकरात साथीकोमा गएको थिएँ । साथीको दिदीको बिहे थियो । आउन अबेर भयो । राती नौ बजेतिर फर्कदा आमालाई बार्दलीमा भक्कानिएर रोएको पाएँ । राती आमा सुतेपछि मोबाइलमा एउटा म्यासेज देखेँ विजयको । लेखिएको थियो,

‘अब त केही सोंच्ने बेला भएको छ । बाले अब यसपालि पनि बिहे नगरे घर बस्न दिनुहुन्न । मलाई केटी खोजिदेऊ ।’

मैले जवाफ पठाएँ,

‘हजुर मसँग बिहे गर्नुहुन्छ ? म तयार छु ।’

तत्काल फोन आयो । आमा ब्युँझनुभयो । र फोन उठाउनु भयो । के के कुरा भयो म जान्दिन । तर फोन राखिसकेपछि आमाले मलाई गाली गर्दै भन्नुभयो —’बाठो हुन्छस् ? के म्यासेज लेखेर पठाको तैंले ? के हो त्यो बिहे भनेको ? कसरी हुन्छ बिहे ? कोसँग हुन्छ ? अनि कतिखेर गरिन्छ बिहे ?

मैले भनेँ —”सारा दुनियाँलाई थाहा छ त हजुर र विजय अंकल बीच कति गहिरो सम्बन्ध छ भनेर । यो भनिराख्नु पर्ने कुरा हो र ? अनि त्यो अंकलले हजुर छँदाछँदै कसरी भन्न सकेको त केटी खोज्न भनेर ।”

विवाद अरु लम्ब्याउनु भएन । तर त्यसदिनबाट विजयको कुरा आउनासाथ आमा भन्नुहुन्छ —’तैंले अहिल्यै जिन्दगी बुझेको छैनस।’

सम्बन्धका तीता टर्रा नमिठा मेल अमेल त भन्न सक्दिन । तर सम्बन्धको आवश्यकतालाई नकार्न कहाँ सक्छु ? उमेरमै बैँस त्यसै ओइलाएर मर्दै मर्दै बाँचेको देख्न कसरी सक्छु ? मेरो हरेक पीडा हाँसो आँसुमा आमा मेरो साथ रहनुहुन्छ । म कसैसँग गहिरो प्रेममा परुँ । र जोसँग मेरो सम्बन्ध गाँसिन्छ ऊसँग विचार भावना सबै मिलोस भनेर आमा प्रार्थना गर्नुहुन्छ । त म यो कामना किन नगरुँ कि, आमाको जिन्दगीमा पनि साँचो प्रेम होस। ठान्नेहरु ठान्लान मायाकी आमाले आफ्नो यौवन लोग्नेको नाममा साँचेर बाँच्न सकिन । या यसो पनि भन्लान छोरीको बिहे गर्ने बेलामा तरुनी भएर आफै पोइला गइ । भन्नेको मुखमा बुजो लाउन सकिन्न क्यारे ।

केही महिना अघिको कुरा हो । काकाको घरमा हामी आमा छोरीलाई खान बोलाइएको थियो । खास कुरा गर्न परे काका यसै गर्नुहुन्थ्यो । खाना खाने बाहनामा मनको कुरा राख्नुहुन्थ्यो । आमा र मलाई संस्कार र रीतिरिवाजका थुप्रा कुरा सुनाउनुहुन्थ्यो । कहिले काँही त चेतावनी पनि दिनुहुन्थ्यो कि, म आमाकी छोरी हैन बाले पालेको संस्कारी छोरी बनुँ । मलाई काकासँग सोध्न मन थियो —’बाले मलाई पाल्नुभएको भए कस्ती हुन्थेँ हुँला काका ?’ तर कहिल्यै सोध्ने हिम्मत भएन ।

आठ बजेतिर काकाको घरमा पुग्यौं । काका पर्नुभयो लाहुरे । गाउँभरिको सुब्दार बा । घरको भित्तादेखि लिएर आँगन, पिंढी सबै एकदमै ब्यवस्थित ढंगले सिंगारिएको । ब्यवस्थित गरी फूलहरु रोपिएका । खानाको टेबल भान्छा सबै उस्तै ब्यवस्थित । अब्यवस्थित त हाम्रो भान्छा पनि हुँदैन । आमा दिनहुँ चुल्हो लिप्नुहुन्छ । साह्रै आकर्षक ढंगले सामानहरु सजाएर राख्नुभएको छ । तर काकाको भान्छाको अगाडि हाम्रो माटाको घरको भान्छा तुलना हुन सक्दैनथ्यो ।

काकाले लाहुरे रम गिलासमा खन्याउनुभयो । काकी, आमा र काकाले पिउदै गफ गर्न थाल्नुभयो । कुरा घुम्दै फिर्दै विजयसम्म पुग्यो । आमाको अनुहारको रङ उड्यो । शिर निहुराएर काकाको कुरा सुनी बस्नुभयो । कुरा खास नयाँ थिएन । कुरा त्यै पुरानै हो । गाउँभरि मायाकी आमा र विजयको प्रेमको खुब चर्चा छ । अब बुढी भइस थपक्क छोरीको बिहे गरिदे । र नातिनातिना खेलाएर बस ।

हैन मान्छेलाई यति धेरै चासो किन ? कसैको निजी जिन्दगीमा कसले के गर्दैछ भनेर किन यति निगरानी गर्नुपरेको ? हाम्रो घरमा भरे खाने चामल छ छैन पत्तो नहुनेहरु पनि मेरी आमा र विजयको सम्बन्ध पत्तो कसरी लगाउछन ? मेरी आमाले त भन्नुभएकै छ वहाँहरु बीच त्यस्तो सम्बन्ध छैन भनेर । ठीक छ प्रेम गर्नुहुन्छ । यो कुरा मलाई राम्रोसँग थाहा छ । तर यो गाउँ अनि काकाहरुले भन्नुभए जस्तो गलत भएकै के छ ? घर बिगारेर छोरीको भविष्य डामाडोल पारेर विजयको पछि लाग्नु भएको छैन । फिजिकल भइहाल्नु भएको छैन । र भइहाल्यो भने पनि मेरो नजरमा त त्यो गलत छैन ।

मैले भनेँ —’काका त्यसो हो भने आमा र विजय अंकलको बिहे गरिदिनुस।’

काकाको रमले रात्तिएका आँखा अझ राता भए । आमाको आँखा पनि उस्तै । मलाई खाउँला झैं गरेर हेर्दै भन्नुभयो —’चुप लाग ।’

काका रिसाउदै बोल्नुभयो —’यस्तै हुन्छ बिना बाउ हुर्किएको छोरी ।’

अब जवाफ दिने पालो मेरो थियो । भनेँ – ‘काका हजुरको दाइ मलाई पाल्न सक्ने भए झुण्डेर मर्ने थिएन । मेरो र मेरी आमाको बारेमा सोंचेको भए एउटी ठकुर्नी केटीले धोका दिएको निहुँमा आत्महत्या गर्ने थिएन । यस्तो काँतर बा ज्युँदो रहेको भए पनि मलाई पाल्नु त मेरै आमाले पर्थ्यो ।’

आमा चिच्याउनुभयो —’ चुप लाग ।’

तर म खुब तातिएको थिएँ । बोल्दै रहेँ — ‘मलाई बासँग खुब धेरै गुनासो छ । मेरी आमा हुँदा हुँदै त्यो ठकुर्नीसँग जोडिने हिम्मत कहाँबाट आयो । ठीक छ, आमा र बा बीच राम्रो तालमेल थिएन होला । तर सम्बन्ध पुरै तोडेर, मेरी आमालाई त्यागेर ठकुर्नीलाई अंगाल्न सक्नुपर्थ्यो नि । घरकी श्रीमती छाडेर प्रेम गर्ने हिम्मत गर्नेले ठकुर्नीका लागि केही गर्ने हिम्मत त गर्नुपर्थ्यो नि ।’

आमाले मेरो ढाडमा हान्नुभयो । र हातमा समाएर घरमा ल्याउनु भयो । घरमा आएर भनेँ — ‘हजुर बिहे गर्नुस विजयसँग । दिनरात रोएर, बैँस खेर फालेर हुने वाला केही पनि छैन । जिन्दगीमा अरुलाई पनि नरुवाउनु आफु पनि खुसी रहनु । दुःखी रहेर, सँधै टाउको समाएर बसेर केही हुने वाला छैन ।’

आमा गर्लम्म अंगालो हालेर रुँदै बोल्नुभयो —’यस्तो कुरा नगर नानी । तँ भएर मात्र बाँचेको हुँ । नत्र म पनि तेरै बा जस्तो झुण्डेर मर्थेँ । तँ छस मलाई यति भए पुग्छ । तँ माया गर कसैलाई । ऊसँग तेरो साह्रै गहिरो प्रेम होस । यति भए मलाई पुग्छ । तँ जति माथि उडछस उड । म थाम्छु तँलाई । तर मेरो र विजयको कुरा नगर । मलाई यत्तिकै मर्न मञ्जुर छ ।’

‘यस्तो कुरा नगर्नु आमा । यस्तो चालले त हजुर अघि पनि बढनुहुन्न । उल्टो आफुलाई गलाउने र दुखाउने काम मात्र हुन्छ । एकचोटी विजयसँग कुरा गरेर हेर्नु । उहाँले के भन्नुहुन्छ उहाँको मनसाय बुझौं । ठीक छ उहाँलाई हजुर मन पर्दैन भने म हजुरलाई कहिल्यै बिहे गर्ने दबाब दिन्न ।’

भोलिपल्ट विजयसँग भेटेर भनेँ —’हजुर मेरी आमासँग बिहे गर्नुहुन्न ?’

ठाडो प्रश्न सुनेर विजय हाँस्यो मात्रै । मैले भनेँ—’मेरी आमाको बारेमा हजुरको के विचार छ ?’

‘तिम्रो आमालाई म मन पर्दैन त ।’
‘आमा मान्नुभयो भने ?’
‘बिहे गर्छु ।’
चौपट्ट खुसी भएँ । घर आएर आमासँग भनेँ—’हामी केही दिनका लागि पोखरा जाऔं ।’

आमाले स्वकृतिमा टाउको हल्लाउनु भयो । तर जब विजयलाई पनि लिएर जाऔं भने आमाले महाभारत सिर्जना गर्नुभयो ।
आमासँग भनेँ—’आमा हजुर आफ्ना लागि बाँच्ने हो । मेरो बारेमा सोचेर बस्नु जरुरी छैन । बिहे गर्नुस । दुइचार महिना या वर्ष मान्छेहरु कुरा काटलान। पछि यही गाउँलेले हजुर र विजयको प्रेमलाई उदाहरणको रुपमा पेश गरेर भन्नेछन ‘माया गर्ने भए विजय र ममताले जस्तो नछुटने र नदुख्ने माया गर’ भनेर ।

विजयले फकाओस अनि मेरी आमाले इन्कार गरोस यस्तो पनि हुन्छ ? हामी पोखरा जाने भयौं । आमाले स्विकृति जनाउनु भएको त्यो रात हामी पटक्क निदाएनौ । आमाले भन्नुभयो —’माया तँ जान्ने भइस । तर तैंले अहिल्यै जिन्दगी बुझेको छैनस । जिन्दगीमा धेरै उतारचढावहरु आउन बाँकी नै छ । यसका लागि तँ अब तयार हुनुपर्छ । बिहे गरेर विजयसँग जान्छु । तँलाई सँगै लैजान सक्दिन ।’

आमाले यसो भनिरहँदा मन अमिलो भयो । एक मन त लाग्यो —’आमासँग टाढिएर बाँच्न सक्दिन । बरु आमालाई बिहे गर्नदेखि रोकुँ । मन त हो । आमाको जिन्दगी प्रेमले रङ्याउने सोंच एकाएक धरासयी भएर गए । तर म यति स्वार्थी बन्न सक्दिनथेँ ।’
सुस्तरी भनेँ —’आमा हजुरको जिन्दगी प्रेमले रङ्गिनुपर्छ । हजुर खुसी रहनुभयो भने पो अरुलाई खुसी पार्न सक्नुहुन्छ ।’

त्यसो भनेर बिछ्यौनामा पल्टिएँ । आमा झ्यालैनेर बसेर विजयसँग कुरा गर्दै भन्नुभयो —’मलाई मायाको साह्रै चिन्ता छ विजय । म यसलाई छोडेर गएको दिन यो हावा कता कता जान्छे होला । साह्रै चञ्चल छे । यो नगर त्यो नगर भनेर सम्झाइरहनुपर्छ । कतै गहिरो खाल्डोमा गएर खस्छे कि भन्ने डर लाग्छ ।’

मेरा आँखाबाट टुर्लुक्क आँसु खसे । आमाहरु यस्ता किन हुन्छन ? आफू रोएरै जीवन काटन तयार । तर छोराछोरीलाई हँसाउन पाए हुन्थ्यो भनेर सोंच्छन् । आमाहरु यति त्यागी किन हुन्छन ? छोराछोरीसँग अलग्गिन नसक्ने गरी किन जोडिन्छन ?
मनमा भनेँ –’आमा हजुरलाई आफुबाट अलग गर्न सक्दिन । तर अलग हुनैपर्छ ।’

पर्सिपल्ट पोखरा पुग्यौं । सिमसिम पानी, पोखराको प्रकृति र मेरी आमाको आँखामा देखिएको सन्तुष्टिले मलाई साह्रै तृप्त बनायो । विजयले प्रकृति र प्रेमको निर्झर वर्षातमा निथ्रुक्क रुझाइदियो । थोरै लाज धेरै ईर्ष्याको आँखाले हेरिरहेँ । आमा र विजयको प्रेम महशुस गर्दा मात्रै पनि हुरुक्क हुन्थ्यो मन । मेरो जिन्दगीमा कोही आओस। ऊ र म पनि प्रेमको निश्चल झरीमा मनभरि रुझौं । र माछापुच्छ्रे मुस्कान छरेर सेतीमा ‘डाइभ’ हान्न सकौं प्रेमको ।

हप्तादिनको पोखरा बसाइपछि घर फर्कियौं । गाउँले छिमेकी काका कसैलाई पनि हामीसँगै विजय पनि पोखरा गएको कुरा पत्तो भएन । आमा भर्खर झरीमा निथ्रुक्क भिजेको पहाड जस्तै साह्रै सुन्दर देखिनु भएको थियो । यो त विजयको प्रेमको असर थियो । आमाको सन्तुष्टि देखेर साह्रै पुलकित भएँ । पतझड आमाको जिन्दगीमा हरियाली बसन्त देख्ने म कम भाग्यमानी हुँला र ?

अचेल गाउँ सुनसान छ । कारण, आमा र विजयको चर्चा छैन । तर एकदिन आमा र विजय भागेको दिन यो गाउँ अनि काकाहरु उर्लनेछन साउनको काली बनेर । त्यतिबेला पहाड बनेर भन्नेछु —’ काका बाउ बिना पालिएकी यो केटीको दम देख्नुभयो ? बाले पालेको भए ममा यति हिम्मत आउँथ्यो होला र ?’

हो, काकाहरुको स्वाभिमानमा चोट पुग्ला । तर ती दुइलाई मिलाउनु नै छ । श्रीमान मरेकी युवती पलपल रुखिदै बस्नुपर्छ भन्ने के छ ? मेरी आमाको पनि मन छ । फूल बनेर मुस्कुराउने चाह छ । अब कसैले तँ तेरो छातीमा फुलेको सयपत्री हेर्दै चित्त बुझा भनेर आमाको निर्णय बदल्न खोज्ला । तर म त्यसो हुन दिने छैन । भन्नेछु — ‘आमा हजुर बगान हुनुहुन्छ । अब विजय माली बनेर आओस र हजुरको जिन्दगीमा एउटा सुन्दर गुराँस रोपोस । तब हजुर पूर्ण देखिनु हुनेछ ।’

कसैले ठानुन, माया पागल भइ । ठूला ठूला आदर्शका कुरा गरी । ठान्नेहरु ठानी रहुन। कसैलाई रुवाउनु पनि छैन । र रोइ रोइ बाँच्नु पनि छैन । मलाई हाँस्नुछ, आमालाई हँसाउनु छ । मलाई यो पनि थाहा छ, अब म सक्षम हुनुपर्छ । र परिपक्व भएर देखाउनुपर्छ । ताकि आमाको ध्यान विजय र आफ्नो भविष्य भन्दा ज्यादा मतिर नमोडियोस । आमाको खुसीको ख्याल गर्नु मेरो कर्तव्य हो । यतिञ्जेल म भनेर पुरै जिन्दगी समपर्ण गर्न सक्ने आमाका लागि यति त गर्नसक्छु । यो समाज आफन्तले के भन्छन भनेर किन डराऊँ म ? आमाको खुसीको कुरा छ यहाँ । डराएर भाग्न कहाँ सक्छु ?

प्रेम त आमालाई उस्तै गर्छु । आमासँगको बिछोडपछि जिन्दगीको उडान कता मोडिएला ? गहिरो खोंचमा खस्ने पो हो कि ? आमाको काँध टेकेर हिंडने बानी लागेको मान्छे कुन चाहिँ अग्लो शिखरबाट खस्ने पो हो कि ? तर यो डरैडरको यात्रा त्यागेर परिपक्वताको नयाँ यात्रा सुरु गर्नुछ । र आमालाई चढाउनुछ प्रेमको उच्च सिंहासनमा ।

तपाईको प्रतिक्रिया