पत्रकारितामा सकृय कवि पवित्रा सुनार गीत कविता लेखनमा पनि उत्तिकै सकृय नाम हो । करिब दुइ दशकदेखि साहित्यमा सकृय सुनारको २०७३ सालमा ‘ युगको आवाज ’ कविताकृति प्रकाशित छ । प्रस्तुत छ हङकङ खबरमा साताको तीन कविता

मेरो देश !

मैे मात्र तिमीलाई मुटुमा लुकाएर के गर्नु ?
तिम्रो छातिमा हुल्ली खेल्नेहरुको लस्कर छ
तिम्रो पीडामा थप्पड हान्नेहरुको लस्कर छ
तिम्रो अखण्डतालाई धुजा पार्नेहरुको लस्कर छ
मेरो देश !
सीनाको बजारमा तिम्रो मोलतोल गर्नेहरु
यहाँ निर्लज्ज देशभक्तिको पंक्तिमा उभिएको देख्दा
मेरो देश म पनि तिमी जस्तै दुखेको छु
मेरो देश पनि तिमीसंगै रोएको छ

मेरो देश !
तैपनि थकित छैनन मेरो संघर्षका पाइलाहरु
विचलित छैनन तिमीलाई अखण्ड राख्ने सपनाहरु
बरु चन्द्र– सूर्य जस्तै अदम्य छन मेरा आस्थाहरु
झनै बलियो बन्दैछन सिंङ्गो नेपालका सपनाहरु !

क्यानभासका चित्रहरु

भूगोलको अर्को क्षितिजमा पनि
जव तिम्रै यादहरुले चिर्थोन थाल्छन
मलाई समयहरु निष्ठुरी लाग्दैछन
यी सुन्दर नौला वस्तीहरु
मेरै आँखामा फिका लाग्दैछन
लालकिरणसंगै उदयमान विहानीहरु
रातहरुझैं चकमन्न लाग्दैछन
मनमा फेरी प्रश्न उभिरहेछ
कुनै दिन आफैले भनेकी थिएँ
मान्छेको रंगहरु भूगोलको दूरीसंगै
आफै मेटिएर जानेछन ऐनाबाट
हो मान्छे !
मलाई यतिखेर आफ्नै मान्यताहरु
गलत सावित भएझै लाग्दैछन
जव यो भूगोलको अर्को कुनामा
तिम्रै स्मृतिको रङग गाढा बनिरहयो
भ्रमित सपनाहरु झनै बलियो बनिरहे
थाहा छैन यी रंगहरु कसले कोरयो ?
जुन क्यानभासको चित्रजस्तै भ्रमित छन
जसको निश्चित आकृति छैन ।

यो क्यानभासको चित्र देख्नेहरु
आ– आफ्नै आंकलन गर्नेछन्
भ्रमित रंगहरुले आँखा छोपिएपछि
यहाँ दिनहरु रात बने
रातहरु पनि दिन बने
मलाई माफ गर !
मस्तिष्क र मनको युद्धमा
होमिंदा– होमिंदै यतिखेर
मस्ष्तिकले आत्मसमर्पण गरेको छ
कोही सत्य ठानिरहेको संरचना विरुद्ध
मन बलियो आवाज लिएर उठदैछ
भो मस्तिष्क तिमी भएरै
जिउन कठिन छ मलाई
मात्र भौतिक शरिर लिएर यहाँ
बरु तिमीले दिने एक हिस्सा अस्तित्व
मनलाई स्वीकार्य छ
स्वीकार्य छैनन मनको प्रतिबन्धहरु
तिम्रै स्नेहमा जीवन खोज्दैछ
हो मनले त्यहाँ जीवन ठान्दैछ
तिम्रै काखमा शान्तिको श्वास फेर्नुछ
एउटा ठूलो युद्धपछिको विश्राम जस्तै
एउटा मिठो शान्तिको आभाष जस्तै ।।

अमृत पिलाउनेछु

राजमार्ग भएर हुइँकिरहेछ
म चढेको मकालु बस
घरी विस्तारै घरी तिव्र गतिमा
मकालु बसको गति भन्दा
तिव्र छन तिम्रो यादको हुरी
कहिले राजमार्ग मुनिकै
नारायणी नदीमा बगिरहे झैं
कहिले क्षितिजबाट हेरिरहे झैं
देखिरहेको हुन्छु तिम्रो छाँया

थाहा छ !
कति मान्छेहरुले छाँया हेरेरै काटेका हुन्छन्
जिन्दगीको राजमार्ग,,,,,
सम्झौता गरेका हुन्छन नियतिसंग
यो पनि थाहा छ,
नियति र नियत झेल्नुमा
पुरापुर कठिन हुन्छ
यो अस्तित्व भित्र धेरै कुरा छन
एकले अर्कालाई खाएरै
अस्तित्व चक्र चलेको हुन्छ
विज्ञान त्यही भन्छ
यो पनि सही मानें
तर मलाई
हार र जीतको होडमा
अरुको खुट्टा तानेको
ईष्र्याको भोक मेटाउन
मान्छेले मान्छे खाएको कुरा
पटक्कै मन पर्दैन

यहाँ हर अस्तित्वहरु
अर्कै अस्तित्वमा विलिन हुन्छन
जसरी धेरै खोलाहरु आफ्नो अस्तित्व
नारायणी नदीभित्रै मिसिएर सकिए !

ए मनुष्य !
तिमीलाई थाहा छ ?
यहाँ हर जन्म मृत्युका लागि हुन
म अनि तिमी पनि ,
आऊ एकछिन मेरो सामु
म तिमीलाई
एक अँजुली अमृत पिलाउनेछु
एक थुंगा प्रेमको फूल थमाउनेछु
हेर त हाँसिरहेको संसार
क्या सुन्दर हुन्छ ।

तपाईको प्रतिक्रिया