२७ जुलाई २०२१ हङकङ । क्रान्ति सुब्बा ।

हङकङ सरकारले आज जुलाई २७ तारीख यही बिहीबार जुलाई २९ तारीखबाट उमेरले ७० वा सो भन्दा माथिका नागरिकले बिना बुकिङ सिधै हङकङमा संचालित २४ वटा खोप केन्द्र मध्ये कुनै एकमा गएर कोभिड खोप लाउन सक्नेछ्न भन्ने कुराको घोषणा गरेकोछ।

दैनिक ४,६०० वटा वाक इन टिकट वितरण गरिने भएकोछ। तुन चुङ र एयरपोर्ट खोप केन्द्रको दैनिक कोटा १०० रहनेछ भने बाकी २२ वटा केन्द्रले दैनिक २०० का दरले कोटा प्राप्त गर्नेछ्न। १९ वटा खोप केन्द्रले जर्मनमा बनिएको बायोएन्टेक/फोसान कम्पनीको कोमिनार्टी भ्याक्सिन उपलब्ध गराउदछ भने बाकी ५ वटा केन्द्रले बेजिङ निर्मित साइनोभ्याक भ्याक्सिन वितरण गर्दछ।

टिकट वितरण प्रत्येक बिहान ७:४५ बाट हुनेछ र जो पहिला आउँछ उसैले पाँउदछ। ज्येष्ठ नागरिकले आफ्नो आइडि कार्ड देखाएर टिकट लिन सक्दछ्न । ज्येष्ठ नागरिकको आइडीको कपि लगेर उनको सुसारे वा परिवारको सदस्यले उनको लागि टिकट लिइ दिन सक्नेछन ।

प्रति ज्येष्ठ नागरिकले दुई जना सुसारे आफ्नो साथमा लान सक्दछ र संगै जाने सुसारेले पनि त्यही समयमा खोप लाउन सक्दछ।

सरकारको प्रवक्ताले यस्तै प्रबन्ध ६० वर्ष माथीको उमेर समुहको लागि भविस्यमा गर्न सकिने कुरा बताए ।

हङकङमा ज्येष्ठ नागरिकको खोप दर न्यून रहेको र यो समुदाय संक्रमणको दृष्टिले संवेदनशील रहेका कारण यथाशीघ्र खोप दिएर सुरक्षित तुल्याउने उदेश्य अनुरुप सरकारले यो घोषणा गरेको हो।

ज्येष्ठ नागरिकलाई खोपबारे स्पष्ट जानकारी दिन खोप केन्द्रमा अतिरिक्त स्टाफ राख्नु पर्ने सुझाव एक संचालकले दिएका छ्न।
प्रत्येक खोप सेन्टरले दिनको २०० जना बिना बुकिङ आएका नागरिकलाई खोप दिन सक्दछ जुन कोटा ज्येष्ठ नागरिकलाई यथेष्ट हुने कुरा हङकङ पेसेन्टस भोइसेसका अध्यक्ष आलेक्स लाम चि- याउले हिजो जुलाई २६ तारीख बताएका थिए ।

सरकारले सेप्टेम्बर पश्चात् हङकङमा संचालित २९ वटा खोप केन्द्रहरु सबै बन्द गर्ने लक्ष्य लिएका कारण उक्त समय अगावै अधिकतम नागरिकलाई खोप दिने योजना अनुरुप ज्येष्ठ नागरिकलाई यो सुविधा उपलब्ध गराइएको हो।

जर्मन उत्पादित बायोएन्टेक भ्याक्सिन सेप्टेम्बर पछि उपलब्ध नहुने र खोप सेन्टरहरु पनि बन्द हुने कुराले यो खोप लाउन चाहने धेरै नागरिकलाई चिन्तित तुल्याएकोछ। र यो खोप उपलब्ध गराउन माग पनि राखेकाछ्न।

यस मामलामा चुङ क्वान ओ खोप सेन्टरका संचालक तथा  टाउन हेल्थ इन्टरनेशनल मेडिकल ग्रुपका कर्मचारी ल्यङ क्वक लिङ्का अनुसार अहिले कै रफ्तारमा जनमानसले खोप प्रती रुचि देखाए भने खोप केन्द्र संचालन अवधिलाई बढाउन सकिन्छ ।

हङकङमा एउटै पनि स्थानीय केस फेला नपरेको ५० दिन भैसकेको छ। हङकङको कुल संक्रमित संख्या ११,९७९ रहेको छ भने मृत्यु संख्या २१२ रहेकोछ ।

तपाईको प्रतिक्रिया