२८ जुलाई, हङकङ । टोपबहादुर याक्खा ।

जुलाई महिनाको १०३ औं हङकङ साहित्य साझा श्रृंखला भानु जयन्ती र गुरु पुर्णिामालाई स्मरण गर्दै  सम्पन्न भयो । 


साहित्य श्रृंखलाका संयोजक रमण गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चन्द्र मादेन ‘आन्छन’, सुनिता गिरी, बलबहादुर थापा, नरेन्द्र गुरुङ, डोम राना, सन्ध्या क्षेत्री, पूर्णिमा शाह, नारायण भण्डारी, नविन सुहाङ, लालबहादुर गुरुङ, रोशन याक्सो, दाजु गुरुङ, गीता अधिकारी, अरुण शर्मा, बबतिा राई, निशा बस्नेत लगायतले २०८ औं भानु जयन्तिको अवसरमा भानु विशेष तथा गुरु पूर्णिमाको अवसरमा गुरुहरु प्रति समर्पित सृजनाहरु वाचन गरेका थिए भने कार्यक्रममा वाचित सृजनासंगै समग्र कार्यक्रमबारे आदिवासी जनजाति साहित्य समूह हङकङका अध्यक्ष तथा साहित्यकार भूपेन्द्र चेम्जोङले समीक्षा गरेका थिए । 

श्रृंखलाका सह–संयोजक गीता अधिकारीद्धारा संचालन गरिएको कार्यक्रममा श्रृंखलाका संयोजक समेत रहेका चित्रकार तथा साहित्यिकार रमण गुरुङद्धारा बनाइएको आदिकवि भानुभक्त आचार्यको चित्र समेत सम्मान स्वरुप राखिएको थियो ।
जोर्डनस्थित नयाँ पेजको कार्यालयमा आयोजित कार्यक्रममा श्रृंखला परिवारकै बाल कवि सुनिस्का याख्खाको जन्मदिनको अवसरमा श्रृंखला परिवारद्धारा केक काटेर शुभकामना तथा आशिर्वाद समेत दिइएको थियो ।
नेपाली वाङ्मयको संरक्षण तथा सम्बर्द्धनका लागि हङकङ साहित्यिक साझा श्रृंखलाले विगत ९ वर्षयता प्रत्येक महिनाको अन्तिम आइतबार हङकङबासी नेपाली साहित्यिक सर्जकहरु भेला भई साहित्यिक विचार–विमर्श, सृजना वाचन, पुस्तक प्रकाशन, समीक्षा संगै विभिन्न साहित्यिक व्यक्तित्वहरुलाई सम्मान समेत गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया