आफ्ना कविताहरुमा सधैँ बिद्रोह बोकीरहनु तर पनि प्रेमलाई कवितामा जोगाइरहनु कवि बिक्रम सुब्बा कविताहरुको प्रमुख बिशेषता हो । तीसको दशकमा नेपाली साहित्यमा आएका यी कवि आफ्ना पुस्तामाझ प्रखर र शक्तीशाली कवि मध्ये एक हुन। प्रस्तुत छ साताको तीन कविता

सगरमाथा नाङ्गै देखिन्छ

कुनै छलकपटको चिसो योजना थाल्न हो कि
या कुनै झूप्रोको छातीमा सर्दी हाल्न हो ?
शान्तिको कुनै ओस्याइलो गीत गाउन हो कि
या कुनै गुराँसको कलकलाउँदो थुङ्गा अँठ्याउन हो ?
आफ्ना केही सुकिला भारदार हिमाल लस्करै राखेर
सगरमाथा कुनै गोप्य वार्ता गरिरहेको देखिन्छ
पहाडैपहाडको घुइँचो घारीमा
सबैभन्दा माथि उदाङ्गै देखिन्छ
जताबाट हेरे पनि सगरमाथा नाङ्गै देखिन्छ ।
प्राय कुनै आरोहण दलको
पाइतलाले शिरमा टेकेको देखिन्छ
कहिले कुनै अह्राइएका चित्रकारले
बादलको थोत्रे बक्खु पनि फाटिसकेको
गौरवको बिचरो चुचुरो ह्वाङ्गै देखिन्छ
जताबाट हेरे पनि सगरमाथा नाङ्गै देखिन्छ ।
बुद्धको खप्परबाट सापटी लिएर दुइटा आँखा
स्तुपहरुमा टाँसेर गुम्बाहरु हेरिरहेछन्
बिदेशीको भरौटे भएका सपुतहरु
स्वदेशी डोकोमा विदेशी झन्डा बोकिरहेछन
नेपाली चुचुराको सिउँदोमाथि फर्फराउन
ढुक्कै विदेशी झन्डा उक्लिरहेकाछन
झोक्रिएर बसेको सिङ्गो हिमालय
विवश र उदाङ्गै देखिन्छ
जताबाट हेरे पनि सगरमाथा नाङ्गै देखिन्छ ।

पानी
मुहानमा पानी
चुपचाप उम्रदो रैछ
छुनमुनाउँदै बामे सर्दै
पानी जब जवान भएर हिँडन थाल्छ
रातभरि दिनभरि हिँडदो रैछ
बेगवान हिडदो पानीले छोएपछि
जमेका पानी पनि
फटाफट दौडिन थाल्दा रैछन
सक्रिय पानीहरु जब खेतमा पुग्छन
थोपा थोपा पानी
अन्नका दाना दाना फल्दा रैछन
र, मानिस पसेपछि
अन्न मानिस नै बन्दारैछन
जहाँ जहाँ पानि
त्यहीँ त्यहीँ सभ्यताको खानी ।

प्रेमपत्र
मानिसलाई कैद गर्ने
फैसला लेखिरहेछ न्यायधीस
चाकडीका पर्दाहरु थिचेर हार्मोनियमका , सङ्गीतकार
कुनै नवाबको गीतमा सङ्गीत भरिरहेछ
गीतकार, भ्यात्ते कुर्सी बकस दिनेको नाममा
गीत लेखिदिँदै छ
बिलमा मन्त्रीको दाम लेखिरहेछ व्यापारी
गायक, ठुलो जागिर दिनेको गीत गाईरहेछ
प्रोफेसर , बिषालु शोधपत्र लेखाइरहेछ
एउटा म छु एकान्त कुनामा
तिमीलाई प्रेमपत्र लेखीरहेछु !
नेता, केटीहरुलाई वेश्यालय पठाईरहेछ
पिता, छोराहरुलाई दर्बान हुन कतै पठाइरहेछ
सरकार , युवक किन्ने बेच्ने
सम्झौता नवीकरण गर्न प्रतिनिधी पडाईरहेछ
छोरा, अस्पतालमा पुर्याएकै दिन
आमा स्वर्गे भएको खबर घरतिर पठाइरहेछ
एउटा म छु एकान्त कुनामा
तिमीलाई प्रेमपत्र पठाइरहेछु !
सपना, एउटा नौलो मानिस पर्खिरहेछ
छोरीको यौवन बलात्कार पर्खिरहेछ
सबै किसिमका नदिमा
एकैचोटि आउने बाढी देशले पर्खिरहेछ
मसानघाट , प्रजातन्त्रको लास पर्खिरहेछ
एउटा म छु एकान्त कुनामा
तिम्रो प्रेमपत्र पर्खिरहेछु !
पुरस्कृत भ्रष्टचारी प्रशंसा पत्र चुमिरहेछ
सम्मानित तस्कर अभिनन्दन पत्र चुमिरहेछ
हाकिमको पाउ चुमिरहेछ जागिरे
चुमिरहेछ बन्दुकले मानिसको छाती
म छु एउटा , एकान्त कुनामा
तिम्रो प्रेमपत्र चुमिरहेछु !
धूतताको बाइबल पढिरहेछ पादरी
मौलवी, जल्लादहरुसँगै कुरान पढिरहेछ
सुनको धम्मपद पढिरहेछ लामा
ब्राह्मण, पढिरहेछ षड्यन्त्रको गीता
एउटा म छु , एकान्त कुनामा
तिम्रो प्रेमपत्र कोरीरहेछु ।

तपाईको प्रतिक्रिया