नेपाली साहित्यको क्षेत्रमा पारिजात एक कालजयी अनि आफ्नो समयकी एक चर्चीत र शक्तीशाली साहित्यकार हुन् । उनको आफ्नो जीवनकालमा बिद्रोही साँस्कृतिक समुह राल्फाको नेतृत्व गरि परिवर्तनको निम्ति एक ससक्त आन्दोलनमा उनको महत्वपुर्ण योगदान रहेको छ । जीवनको हरेक परिवेश र परिस्थीतिहरमा सधैँ उत्साहपुर्ण मुस्कुराएर बाँच्न सक्नु पारिजातको एक महत्वपुर्ण पक्ष हो प्रस्तुत छ साताको तीन कवितामा उनका तीन कविता

छल

धरती र आकाशको किरिया खाएर म भन्छु
मानवतालाई बिश्वासघात गर्नेका निम्ति
म स्वयंवरका नवरात्रीमा पनि
चाल मारेर भाग्छु ।

कसैको सम्पुर्ण हुन खोज्ने
स्वप्नका कुरालाई समेत चटक्क चुँडी
कहिले नदेखेकालाई
म वरमाला पहिराउन पुग्छु ।

धरती र आकाशको किरिया खाएर
साँच्चै म मानवतालाई नै छल्छु
अझ छल्नै परे मृत्युका छायाँमा
कसैको अबोध अनुहारलाई
झुठो प्रेम गरेर छल्छु ।

मेरा जलनहरु चिताले जलाउन नसके
तप्त हृदय स्वीकार गर्ने कोही सहृदय नभएर
कसैले थाहै नपाई
ग्रीष्मका घाममा डढेको बालकको
आँत जलाएर बल्छु
म मानवतालाई छल्छु ।

छल्नै परे मेरा व्यथाका आशु
जोबन फुट्न खोज्ने किशोरीहरुका आँखामा
बिसाएर जान्छु
अन्तिम श्वासका भरमा पनि
ठुहुरोको भोको पेट चिमोटेर जान्छु ।

धरती र आकाशको किरिया खाएर भन्छु
मानवतालाई विश्वासघात गर्नेका निम्ति
स्वयंवरको नवरात्रीमा पनि
चाल मारेर भाग्छु
म मानवतालाई नै छल्छु ।

बाँधिएको आकाश र उदेश्यहीन म

निरुद्देश्य सलबलाउँछन बतासमा सल्लाका पात
पहिलो कस्मिक किरणमा फस्टाएर
मुख बाउँदै फुलेको छ निरुद्देश्य
खोक्रो रुखका आडमा सुनगाभा
उल्काले शिकार खेलिरहने
यो निरुद्देश्य आफैमा बाँधिएको छ आकाश ।

त्यसै त्यसै आत्महत्या गरिरहन्छन मेरा आकांक्षा
राहुका ग्रासबाट उम्केर पनि
अर्थ्याउन सकिएन यस अन्योलमा
क्रमशः साँधुरिँदै गएको जीवन
मेरो बिरोध दाँत र नङ्ग्रा फुकालेर
लाज पचाउँदै फर्केपछि
म त मात्र बाँकी रहेछु
एक प्रतिक्रिया
न केही खोज्नु न केही पाउनुको एक अभिव्यञ्जना
न मर्नु न जिउनुको
आफ्नै मुटुको न्यानोदेखि वञ्चित
न्याय नपाएको आफ्नै मस्तिष्कदेखि
एक होइन असंख्य उन्त्रचालित निष्प्राण जीवनमाझ
बेमोल कत्तिपल्ट साबित भइसकेको छु
पुरिएको छु टाउकोसम्म
आफ्नै स्मृतिले नभ्याउने गरि ।

श्रमको प्रतिदान काँधमा अभिभारा बोक्नेहरु
अमुर्त बनेर हेनुपर्छ एकपल्ट
इतिहासका बाछामा पिल्सिनलाई
लाश बनेर हेर्नुपर्छ एकपल्ट
सम्मानको बोझ छातीमा खप्नलाई
यही जीवन होइन मृत्युको पुजा चलिरहन्छ
तर निरुद्देश्य जिउन नै चाहन्छन
पथभ्रान्त मानिसका मोडेल ।
कुन दिन मेरो अस्तित्वको बोझ खस्न आयो
कुन उदेश्यले सुख भोग गरेका थिए मेरा जन्मदाताहरुले
म त यहाँ निरुद्देश्य पो जन्मेको रहेछु
म त यहाँ निरुद्देश्य पो हुर्केको रहेछु

आँखाको निश्चल पुतलीमा

के तपाईले थाहा पाउनु भो भन्दै
रुख, बिजुलीको लट्ठा र लेटर बक्सलाई
समेत मान्छे ठानेर
मान्छे नै मानेर
घच्घच्याउँदै हिँडिरहेछ
एउटा सन्तुलित सत्य बोकेको
असन्तुसलित मान्छे ,
उसले केवल मान्छेलाई घच्घच्याउँदै छैन
उसले भित्तालाई समात्दै छ
माइलस्टोनलाई पनि तान्दै छ र सोध्दैछ
के तपाईले थाहा पाउनु भो ?
नेपाल भर्खरै मरयो नि !
ट्रकले कुल्चिएर मरेको
रोडा बोक्ने बालकको मृत्युमा
उदास छाप्रोमा पर्खिरहेको
उसको एक मात्र अन्धो बाबुको
आँखाको निश्छल पुतलीमा
नेपाल भर्खरै मरयो ।

तपाईको प्रतिक्रिया