हङकङमा बसेर कविता लेख्ने कवि जुनु दिव्य राना एक क्रान्तिकारी कवि हुन । उनका कविताहरुले महिलामाथि गरिने बिभेद र अन्यायको बिरोधमा चर्को रुपमा बिरोध गरेको हुन्छ बिशेषगरि स्त्री र पुरुषबीचको मनोदशालाई गहिरोगरि उनका सृजनाहरुले बोलीरहेको हुन्छन। अझ स्पष्ट भन्नुपर्दा कुनै किसिमको लेभल नलगाई आफ्नो कुराहरु कविता मार्फत राख्न सक्नु आफैमा हिम्मत हो जुन उनको कविताहरुमा पाइन्छ । प्रस्तुत छ साताको तीन कविता

सहवास यातना
हरेक पटकको सहवासमा
एकोहोरो घर्षणको पीडा
लाग्छ!

जसरी दलक्षिन ढुंगा
अर्को ढुंगा संगको घर्षणले आगोको सृष्टि गर्छ

त्यसै – त्यसै
मेरो शरीरमा आगोको झिल्का पर्दैछ !

बिना तरलता
भाव कामुकता विहिन सहवासका ती क्षणहरु !
एक गहिरो कटाई
एक धारिलो छुराले रेटिएर
चर्चरी झरेका
रगतका सूक्ष्म थोपाहरु
चिटचिट चर्‍याउँदै फाटेर
बर्षौं बाँझो र खडेरीले सुख्खा पारेको खेतको ध्वाँजा फाटे समान “योनी” बग्छ !

म यहीँ पिडाले चिच्याएको हुन्छु
खप्न नसकी
खस्रो र सुख्खा घर्षण
तर बिडम्बना !

पिडाको स्पन्दन उसको निमित्त
कामुकताको चरमोत्सर्गको अनुभुति बन्छ अत:
मर्द पुरुषार्थ दाँज्न प्रयत्नशील रहन्छ !
कुनै रणभुमीमा उभिएको योद्धा समान आफुलाई मान्छ !

हरेक पटकको सहवास
उसको लागी चरमसुखको प्राप्ति बन्छ
मेरो लागि
एक मृत्युकाल काटे समान बन्छ


हर रात एक मरण मर्छु
चर्‍याएको “योनी”
“बलात्कृत मस्तिष्क” लिएर
म फेरि अर्को रात मर्ने मनोस्थिती तयार पार्न बाध्य हुन्छु

म सोच्न बाध्य बन्दैछु !
के चरमसुख र आनन्दको अनुभुती लोग्नेको पेवा हो ?
उसको सुखको निम्ति
सैयौं रात पिडा खप्ने
अर्धाङ्गिनीलाई सुख भोग्ने अधिकार छैन ?
चरमसुखको अनुभुति गर्ने हक छैन ?

प्रकृतिको नियममा
कहाँ लेख्या छ कि स्वास्नी मान्छेले
सुखको अनुभुती गर्न मिल्दैन !

भाव पछिको कामुकताले सृजना गर्ने
तरलताको भोग गर्न
प्रकृतिले कहाँ रोकेको छ र ?

ए लोग्ने!
वस!
अब त्यो दोहोरो पिडा थप सहन्न
चाहन्न अब उप्रान्त

आलो रगतका टाटा बोकेर बाँच्न चाहन्न
कि तिमी अर्धाङ्गिनिको अर्थ बुझ !
होइन भने
तिम्रो सुखको निम्ति
म मेरो सन्तुष्टिको बली चढाएर
आफ्नै मस्तिष्क निरन्तर “बलात्कार” गराउँन चाहन्न !

तिम्रो अंश

यौवनयुक्त हिमशृंखला ‘स्तन’
नागिनमय नितम्ब
कमल झैं फक्रीएको रुपमा
‘मसिनो’ कम्मरको लचक
सुन्तलाको केस्रा झैं रसिलो गुलाबी ओठ
कौमार्य भंग
नभएको’योनि’ को खोजी

देह
वासनाको अतृप्त
तिम्रो चाहानाले भरिएको मस्तिष्कलाई
यी चर्चरी चिरिएका
‘देह’ छुन घिन किन ?

एक पत्र मानव छाला
एक पत्र मासुको आकार
एक पत्र नशाहरुको प्रकार
आँधी पछिको कम्पन सहित बग्ने भेल झैं
बग्ने रगतका मुलहरु बगाएर
पिडा र दुखाइको
चरम सिमा नाँघेपछि अत:
तिमी संसार कै भाग्यमानी व्यक्ति
तिम्रो प्रतिअंश रुपि अर्को अंश जन्मिन्छ

आखिर किन….. !
शारीरिक कुरुपता मात्रै किन देख्छौ ?
किन देख्दैनौं तिमी
तिम्रो अर्को सृष्टिको लागी
मरेर बाचेको अर्ध ‘शरीर’ ?

कसम,
ति पिडाहरु
आगोले जिउँदो जलाए सरह भन्दा बढी हुन्छन
तर
तिम्रो एक प्रेमिल स्पर्शले
सारा का सारा दुखाइहरु
मिनेट मै भुल्न सक्छे !

उ हो तिम्रो अपुर्ण अस्तित्वको
पुरक !

बुझ्ने भएको छु

बुझ्न सक्ने भएको छु
कि आफ्नै मृत्युमा
मलामीको निश्चित संख्या भन्न असर्मथ छु !

म मरेको दिन
रात होला कि दिन खै
उज्यालो होला कि औंशिको अँध्यारो

कि झमझम झरी हो
कि चर्को घाँम लाग्ने हो
या उदेक लाग्दो दिन हुने हो
रहर नलाग्ने मृत्यु
चाहाना नहुने मृत्यु
सोच्न नसक्ने मृत्यु
तर ,
भोग्नै पर्ने त्यो एक काल त्यो !

मृत्यु !

म जाँन्दिन म कसरी मर्ने छु
मारिने छु वा रोगले मार्ने हो
जान्दिनँ !

म भन्दिनँ मलाई मलामीको भिड चाहिन्छ
म भन्दिनँ ,
मेरो लाशलाई जलाईदिनु या पुरिदिनु
म यति त बुझ्ने भएको छु
आखिर
माटोले बनेको यो देह
समाहित त माटो मै हुने हो !

हरेकको मरण जस्तै

यो मरण पनिअर्थपूर्ण हुनेछ
मैले लेखेका अक्षर मेरो अभावले रुनेछन ।
मैले खेलेका शब्दहरु
मैले हसाँएका अक्षरहरु
मेरो क्रोध बनेका अक्षरहरु
मेरो भावना अलंकार बनेर
मेरो प्रतिनिधित्व गरिदिने अक्षरहरु
मेरो मृत्युमा
शून्य समान बन्नेछन !

म यति बुझ्न सक्ने भएको छु !
अरु त,
फगत भ्रम समान हुन ।

र आफ्नाको आँसु क्षणिक वेदना हो
परिचितको जिज्ञासा,
कि कसरी मर्‍यो उ
म कसरी मरौंला भन्ने कौतुहुलता मात्रै हो त्यो !

म यति बुझ्ने भएको छु ….

तपाईको प्रतिक्रिया