नेपाली साहित्यको कविता बिधामा बिशेष पहिचानको मुद्दालाई आफ्नो कविता लेखनको केन्द्रमा राखेर लेखीरहने कवि मातृका नेम्वाङ इतर अभियानसँग जोडीएका कवि हुन उनका कविताहरुले मुन्धुमी मिथहरु अत्यन्तै ससक्तरुपमा आएको हुन्छ। प्रस्तुत छ साताको तीनको कविता

युगको विनिर्माण

शताब्दीऔं भैसक्यो इतिहास ढलेको
ओढेर आफ्नै सभ्यताको खोल
कतिन्जेल सुतिरहन्छौ
ओ आदिम भुईंमान्छे हो
उठ अब , गिज्याइरहेको छ
इतिहासको पानाहरूले…..

हिँडनु छ पुर्खाहरूले हिँडन सिकाएको बाटो
खोज्नु छ पुर्खाहरूको मेटिएको इतिहास
उभ्याउनु छ अस्तित्वको पूर्ण धरहरा
कोर्नु छ युगको नयाँ इतिहास,

उहिले उहिले
यो पृथ्वीको सृष्टि गर्न पोरोक्मी याम्फामी माङ्ग
यही फक्ताङलुङको काखमा उत्रिए
मानवलोकको सृष्टि गरे
त्यसैले सबैभन्दा जेठो मानव सभ्यताको
एक टुक्रा अवशेष भयौं
यो ब्रह्माण्डकै सबैभन्दा जेठो मानिस भयौं

साक्षी छ ,
यो मुन्धुमी जो सम्पूर्ण दर्शनभन्दा कैयौं गुणा जेठो हो
आज पनि फेदाङमा , साम्बाहरू
यही मुन्धुम फलाक्छन
जीवन जगतलाई सार्थक तुल्याउँछन
हाक्पारे र पालाम ,
यही माटोको आदिम गीत हो,
च्याब्रुङ यहि माटोको आदिम धुन हो

यो विशाल फक्ताङलुङ

हाम्रो अस्तित्वको धरोहर हो,

मानव जन्म नै यहि प्रकृतिबाट भएको थियो
यो भूमिको राजा भयौं

धेरै बर्ष पहिले अचानक
एउटा मानिस आइपुग्यो तिम्रो दरबारमा
तिम्रो विरूद्ध घोषणा गर्यो भयानक युद्ध
तिमीले उसको प्रतिकार गरिरह्यौ
ऊ कैयौं पटक पराजित भैरह्यो

अन्ततः उसले आत्मसमर्पण गर्यो
तिमीलाई एउटा उपहार – लालमोहर छाडी गयो
त्यो नै थियो तिम्रो इतिहासको सबैभन्दा कालो दिन
त्यही दिन तिम्रो सभ्यता अस्तित्वहीन भयो
त्यही दिन फक्ताङलुङको माङ्गेन्ना ढल्यो
त्यही दिन तिम्रो दरबार ढल्यो
त्यही दिन तिम्रो भाषा लिपि संस्कृति जलाइयो
त्यही दिन तिम्रो चोत्लुङ ढल्यो
र त तिमी जुगौजुगदेखि सुतिरहेछौ,

ठीक यतिबेला
देशमा युद्धको आगो बलिरहेको छ
शताब्दीऔंदेखि गुमनाम अनुहारहरू
अस्तित्वको पूर्ण दावीसहित
खोजिरहेछन आफ्नो सकली अनुहार
र भनिरहेछन – म पनि हुँ यो देशको नागरिक
तर सिंहदरबारले प्रतिउत्तरमा भनिरहेछ
विद्रोही , विखण्डनकारी , आतङ्ककारी
गरिरहेछ बीभत्स नरसंहार आदिम भुईं मानिसहरूको,

आऊ नाम्सामी सेक्मुरी फूल लिएर हातमा
रक्षा गर तिम्रो जिजीविषाहरूको
आउ सिरिजङ्गाहाङ अमूर्त लोकमा ज्ञानको ज्योति बालिदेऊ

ता कि नरसंहार होइन
यहाँ विचारको युद्ध लडियोस

आऊ लेप्मुहाङ यो क्रूरू युद्धको महासागरबाट
तिम्रो सन्ततिहरूको उद्दार गरिदेऊ
आउ हिलिहाङ यो महायुद्ध परास्त गरेर
पुनः यौटा शत्तिशाली दरबार उभ्याइदेऊ ।

पकन्दी

बज्यै भन्नुहुन्थ्यो …
कोरी – कोरी साल संवत बितेपछि
खोला त उकालो फर्किन्छ
स्याब्बास हाङ्गबीरे
आज थुप्रो बर्षकालपछि
मलाई सम्झियौ र फोन गर्यौं
तिमीलाई सम्झना छ है यो खोलानाला , देउराली , फक्तालुड ,मुकुमलुंड सबै सबैको

खै मैले त सोचेथें ,
सात समुन्द्र पर ….. बिरानो मानिसहरुसंग
पैंठेजोरी खेल्दाखेल्दै उत्तै सोघामुरिक भयौकी
कि त , त्यत्तैको मेजमानी खान्कीले
यहाँको याङबेन र किनिमाको स्वाद पो भूल्यौ की
मैले त सोचेथें-
बारमासे वाईन र ह्विस्कीको चुस्कीमा
यहाँको निखुर कोदोको तोङबा र तीनपाने पो भुल्यौ की ,
कि त,त्यहाँको रंगीचंगी फेशन पहिरनले
ताघा-मेख्ली र सिलाम साक्मा पो भुल्यौ की
खै आज पश्चिमबाट घाम उदायो क्या हौ
थुप्रो बर्षकाल पछि मलाई सम्झ्यौ
तिमीलाई स्वागत छ है मेरो स्पन्दनबाट

तर हाङबीरे ..
तिमी त पर …. को देशमा पराई पो भईसकेछौ
पत्थरबाट अभ्रक बने जस्तो
बादल मडारिएर बर्सात भए जस्तो …..
आफ्नै बिरासत भुलेर
अर्कै ग्रहको एलियन जस्तो ….
म निखुर याक्थुड लयमा बोलुङना हौ भन्छु
तिमी अघि ठुटे अंग्रेज़ी मिसाइ पठाउछौ ,
म तिमीलाई यो जगतभरीको माया मुन्धुम सुनाउछु
तिमी नसुने नसुने जस्तो गर्छौं
म तिमीलाई हाक्पारे र पालामको लय सुनाउछु
तिमी पश्चिमे र्याप र फ्याउरे गीत सुनाउछौ ,
म च्याब्रुङ को तालमा नाच्नुपर्छ है भन्छु
तिमी चैं बेली डान्स र काभ्रे डान्स दिनुपर्छ भन्छौ ,
एसोरी त हाम्रो गफ सुनेर
घरको कुल देवता रिसाउला जस्तो छ,

मेरो दौतरी हाङबीरे भन्छ कि !

हौ हांगबीरे …..
सेक्मूरी फूल जस्तो हाम्रो बैंश र
तम्बर भन्दा लामो हाम्रो जीवनी
सर्लक्कै बिर्सेछौ क्या हौ …..
हाम्रो जुगको पुरानो मेमोरी टेप
मथिंगलमा घुसाएर एकचोटी सम्झि हेर त !
आहा ……
उभिएर देउरालीको डाँडामाथि बिरहको सुसेली खेल्दा फक्ताङ्लुङबाट सरररर बतास आउथ्यो ! !
हाट बजार मेलापातमा पकन्दी खेल्दा
तरुनीहरुले हामीलाई नै खोज्दै आउथे …
आहा …
सोल्टिनीहरुको पैकारी जाँडको सुरमा
हामीले पालाम गाउँदा
सिंगो रात एकै मिलिकमा छयांगै हुन्थ्यो
तिम्रो मीठो पालामको लयमा लठ्ठै नहुने को थ्यो र ?
राम्री राम्री तरुनी जति सबै तिनै मात्र हुने
ए हाङबीरे ….
पर … भारापे माईलीसँग ३ दिन ३ रात धान नाचेको चैँ
बिर्से नभन ल,

तिमी पनि अजीबको मुला
ढाकरभरी नुनको भारी बोकेर
बाटोभरी पकन्दी लगाईहाल्थ्यौ …..
त्यसपछि बटुवा तिनै साथी
सड़क तिनै साथी
देउराली भन्ज्याड !

तिनै साथी बाटो छेउमा बाँसको बोट त देख्नै नहुने
तिमी आफ्नो नाम र ठेगाना लेखीहाल्थ्यौ
तिम्रो तरुनीहरुको चिट्ठी मात्रै जोख्यो भने ५ धार्नी पुग्थ्योहोला ….

त्यति मात्र कहाँ होर
पर्बते बोल्नु नजानेर गीता मीसले
तिम्रो कट्टु भिज्नेगरी गोदेको मेरो आँखै अघि छ
म त लाहुरे हुँ भनेर भैंसीको पुच्छरमा झुण्डिन्दा भैंसीले टाउकोमा मुतेको हिजो जस्तै लाग्छ ….
तरुनीहरु अघि हिरोको एक्टिंग गर्दा
तिम्रो पाइन्ट फाटेको बिर्सेउ कि क्या हौ
छ्या ! लु छोडिदिऊ हौ यस्ता झ्याऊ कुराहरु …..
तिमीलाई द्वापर युगको कथा जस्तो लाग्न सक्छ ! !

तर हाङबीरे …
अचेल गाउँबस्तीमा च्याब्रुङ बज्दैन
बस्तीहरुमा उहिले जस्तो हाट बजार लाग्दैन
उजाड उजाड इक्साखाम्बेक देखेर
तागेराफूङ रोईरहेछ ! ! मेरो बिन्ती छ हाङबीरे
त्यो उत्तरआधुनिक कंक्रीटको शहर त्यागेर
हाम्रै अर्गानिक बस्तीमा आऊ
पुन: आफ्नै सभ्यतामा बाचौं
पुन: आफ्नै बिरासतमा रमाऔं
फेरि एकचोटी देउराली डाँडामा उभिएर
धीत मरीन्जेल पकन्दी खेलौं ….
र पुनश्च इक्साखाम्बेक को शीर उठाऔं !

सुपरसोनिक समाजवाद

बिस्तारामा डंग्रङग ढलेको छ
यौटा निर्धो शरीर
घरी आन्द्राभुंडी निक्लेला गरी खोक्छ
घरी दम फूलेर खलाँति जस्तो फूक्छ
असरल्ल छरिएका छन
सामर्थ्यहीन दबाईका खाली शिशीहरु ,
छेवैमा बसेर थालमा जोर विजोर अक्षता
लडाउदै जोखाना हेर्दैछ फेदाङबा
आयुको नापतौलमा
शीरमा पानी छर्किन्दै मन्त्र फलाकिरहेछ
मानौ सिलाम -साक्मा मुन्धुमले हार्नेछ- मृत्यु

गुथेर शीरमा अस्तित्वको पगरी
कसेर कम्मरमा स्वाभिमानको पटुकी
भीरेर काँधमा समाजबादको इन्द्रधनुष
उमारेर मष्तिष्कमा ज्ञानको पुन्जहरू
जीवनभर हिँडेको हो मास्टर
फक्तांलुङ उकालो ओरालो ।
अचेल मास्टरको बैंश ढल्क्यो
मास्टरको कपाल फुल्यो
शरीर जीर्ण बन्यो
फक्ताङलुङभरि फुल्ने जीवनको घाम
अब काँध काँधतिर पुगेको छ
सिन्दुरे रङ्गमा उसको जिन्दगीको किरण

कलम समाउने उसका औंलाहरु
अचेल थर्थर कॉप्छन ज्ञान
विज्ञान र शिक्षाका आवाज बोल्ने
उसको ओंठ मात्र बर्बराउँछ
जीवन र जगत हेर्ने उसका आँखाहरु टिल्पिलाउछन
बिरासत थाम्ने उसका पाइतालाहरु लर्खराईरहेछ
हो , अचेल मास्टर मिराक निरिह भएका छ

मास्टर मिराकले पढेको थियो
मार्क्सवाद , लेनिनवाद , माओवाद
बुद्ध , गान्धी , मण्डेला , र फाल्गुनन्द
र पढेथ्यो सबै सबै क्रान्तिका ईतिहास
त्यसपछि
जब पढ्यो मास्टर मिराकले
आफ्नो देश ,
आफ्नो इतिहास
आफ्नो सभ्यता ! ! श्री ५ पृथ्बीनारायण
श्री ३ जंगबहादुर ,
लालमोहर र मुलुकी ऐन १ ९ १०
झट्ट हेरे , आफ्नु अनुहार ऐनामा
जोखे समानताको तुलोमा आफ्नु ओजन
र निस्के आफ्नु अनुहारको खोजीमा
सरकारी अड्डा अफिस , प्रशासन न्यायालय
तर कतै भेटेन आफ्नो जस्तो अनुहार ।

आदीबासी गाउँमा
गोरुको छालाबाट च्याब्रुड बनाएको
मुद्दामा पुच्छारे कान्छा र खौसेबुङ्गे
जेल चलान भएको खबर
अख़बारको हेड लाईनमा छ
ठीक यतिखेरै माष्टरले पढाईरहेको स्कुलमा
मातृभाषा पठनपाठन प्रशासनले रोकेको छ
अखबार पढीसकेपछि
जुरुक्क उठ्छ मास्टर
र पुग्छ सरकारी कार्यालय
भन्छ ” महाशय-न्यायको निम्ति आएको हूँ ”
जवाफ आउछः
चुप साले बढ्ता बोल्लास
उडाईदिन्छु तेरो खोपडी,

त्यहीं दिन मास्टरले
पढाईरहेको स्कुलमा राजीनामा पत्र लेख्यो
हो त्यहि दिन
शीरमा रातो पट्टी बाँध्यो
लेख्यो रातो ब्यानरमा राष्ट्रिय समानता र मुक्तिको नारा
घोषणा गर्यो ‘ सुपरसोनिक समाजबाद
र भूमिगत भयो मास्टर मिराक

क्रान्तिको बाटो सधैं शान्ति हुँदैन
शासक र सत्ताले आफ्नो टाउकोको मुल्य तोकेपछि
हिडेको हो मास्टर बंकरको बाटो
र छिरेको हो बारुदको पाठशाला
माष्टर सिर्फ मास्टर नभएर अब
एक छापामार लडाकुमा रुपान्तरित भयो
अचानक एक दिन शासक सित लड्दा लड्दै
बज्रियो दुस्मनको गोली
मास्टर मिराकको दाँया खुट्टामा
बग्यो ह्वाल्ह्वाल्ती रगत ..
त्यही लत्पतिएको रगत र कुल्चेको माटो
उठायो मुठ्ठीमा र लेख्यो माटोमा
गणतन्त्र र समाजवाद -जिन्दावाद !

अचेल देशमा गणतन्त्र भित्रिएको छ
गणतन्त्रका सुविधा भोगिरहेका छन नेताहरु
गणतन्त्रको आधुनिक गीत गाइरहेछन युवाहरु
गणतन्त्रको आधुनिक पाठ पढीरहेछन बिद्यार्थीहरु
गणतन्त्र नेपालको राष्ट्रगान गाईरहेछन जनता

अफसोच माष्टर मिराक
दाँया खुट्टामा गोलीको छर्रा बोकेर
गणतन्त्रको खाटमाथि लम्पसार छ
एक क्रान्तिकारी जिउँदो ईतिहास
धेरै नै थोक छ गणतन्त्रमा
तर उसँग छ त केवल विगतका भयानक युद्धकथाहरु
विवश प्यारालाईसिस वर्तमान
र एउटा साश्वत मृत्यु
हो त्यहि मृत्युको भिख मागीरहेछ मास्टर मिराक ।

तपाईको प्रतिक्रिया