क्रान्ति सुब्बा

३१ वर्षका म्याथिउ चोइ नाम-साङ नाम गरेका आफुलाइ सफ्टवेयर इन्जिनियर (कम्प्युटर टेक्निसियन) भन्ने व्यक्ति जो ट्याक्सी चालकको  हत्याको आरोपमा   १६ तारीख अक्टोबर  शनिबार बिहान क्वुन तङको म्याजिस्ट्रेट अदालतमा उपस्थित भएका थिए । उनको मुद्दा अक्टोबर २९ तारीख  सम्मको लागि स्थगन भएको छ।

अदालतमा उनी शान्त मुद्रामा देखिन्थे । उनले जमानतमा छुटनको लागि पनि कुनै निवेदन दिएनन। त्यसपछि उनलाई सिउ लामको साइकाट्रीक सेन्टरमा थुनामा राखिने भएको छ।

सर्वप्रथम चोइ विगतमा मानसिक समस्याबाट पीडित भएको नभएको पत्ता लगाउनको लागि उनको दुई किसिमको रिपोर्ट लिने अनुमति अभियोजन पक्षले मागेको थियो ।

सादा पोशाकधारी प्रहरी घटनास्थलमा । संदिग्ध अपराधीको फोटो हाइलाइटमा

चोइ पक्षको  प्रतिवादी अधिवक्ताले उनी युनिभर्सिटीबाट स्नातक गरेका व्यक्ति हुन, उनी आदेश र निर्देशन बुझ्न सक्षम छ्न र उनमा कुनै पनि किसिमको मानसिक विकार भएको  अहिलेसम्म पत्ता लागेको छैन भनेका थिए ।

न्यायाधीश मे चुङ मुङ-सनले  वादीको अनुरोधलाई स्विकार्दै अक्टोबर २९ सम्मको लागि केस स्थगन गरेको हो। मुद्दाको बहसमा कठघरामा उभिएर बयान दिन मानसिक रूपमा फिट छ्न कि छैनन जाँच्नको लागि चोइको मानसिक अवस्थाको रिपोर्ट आवश्यक भएको हो।

चोइले अक्टोबर १२ तारीख एक ४८ वर्षका वाइ थरीका ट्याक्सी चालकलाई साइ वान होको इस्टर्न स्ट्रीट र कुइन्स रोडको जोर्नीमा हत्या गरेका थिए ।

घटना विवरण

१२ अक्टोबर, मंगलबार २०२१, समय बिहान करिब ५ बजे एक ४८ वर्षका नाइट शिफ्ट ट्याक्सी चालक  एकजना  विदेशी यात्रु बोकेर हङकङको साइ यिङ पुनमा पर्ने कुइन्स रोड वेस्टमा दौडिरहेका थिए  । यतिकैमा कुनै कारणले ट्याक्सी ड्राइभर र यात्रु बीच भनाभन भयो।

ट्याक्सी चालकको परिचय प्लेट

त्यसपछि उक्त यात्रुले छुरी निकालेर  एक्कासी  चालकको घाँटीमा प्रहार गरयो । परिणामस्वरूप उ चोटग्रस्त भयो। चालक ज्यान जोगाउन ट्याक्सीबाट निस्केर कुइन्स रोड वेस्ट तिर दौडिन थाले । उक्त यात्रुले बाहिर निस्केर  चालकलाई आक्रमक तरिकाले पछ्याउँन थाल्यो। 
ट्याक्सी चालक २० मिटर जति पर गएर ढलेपछी ती संदिग्ध हत्यारा डेस भक्स रोड वेस्ट तिर  दगुरेर भागे। कहि समयको अन्तरालमा बाटो हिडने मानिसले प्रहरीलाई खबर  गरेको थियो ।

प्रहरी आइपुग्दा ती चालक भुइँमा बेहोस भएर लडिरहेका थिए । उनलाई तुरुन्त कुइन मेरि अस्पतालमा लगिएको थियोे जहाँ उपचार क्रममा  उनको मृत्यु बिहान ६ :१७ बजे  भयो। प्रहरीले यो केसलाई हत्याको कोटिमा राख्यो र शंकास्पद हत्याराको  खोजिमा लाग्यो।

प्रहरीले  अनुसन्धानको लागि  घटनास्थल एरियालाई सिल गर्‍यो । ट्याक्सीभित्र   रगतको आहाल र  धब्बाहरु  देखिन्थ्यो। दृश्य बडो भयानक थियो । रगताम्मे भएको मास्क,एउटा  टोपी , एउटा इटा र छुरी  घटनास्थलमा फेला परेको थियो । घटनास्थल पछाडिको गल्ली पनि रगतले पोतिएको थियो । बिहान ८ बजे तिर प्रहरीले नजिकैको सिटिङ एरिया र शौचालय पनि सिल गरेको थियो ।

प्रहरीले    उक्त शंकास्पद हत्यारा हिंसात्मक गतिविधिमा सामेल भएको  र मानसिक रोगी  भएको रेकर्ड पत्ता लगायो। त्यसपछि प्रहरीले उक्त व्यक्तिलाई अति नै खतरनाक व्यक्तिको रूपमा वर्गीकरण गरि वान्टेडको सुचिमा राख्यो ।

प्रहरीले बताए अनुसार दस वर्ष भन्दा बढी समय  ट्याक्सी चलाएको अनुभव संगालेका मृतकको घाँटीको दायाँ एओर्टा भन्ने रक्त नलीमा ७ सेन्टिमिटर लामो र २ सेन्टिमिटर गहिरो चोट लागेको थियो जसका कारण धेरै मात्रामा रगत बग्दा उनको मृत्यु भएको हुन सक्ने शंका गरिएको थियो । तथापि मृत्युको वास्तविक कारण अटोप्सीको परिणामबाट मात्र थाहा हुने बताइएको थियो ।

मृतकको कुनै चिज ट्याक्सीबाट हराएको थिएन ।चालकका निजि चिजबिज ट्याक्सी मै यथावत देखिन्थे । ट्याक्सीमा भिडियो रेकर्ड गर्ने उपकरण पनि थियो ।
प्रहरीले घटना कै दिन हत्याराको तस्वीर पनि सार्वजनिक गरेको थियो । ७० केजी वजन भएका मध्यम आकारको जिउडाल वाला , गोरो छाला भएका करिब ३० वर्ष उमेरका ,करिब १.८ मिटर उचाई र कालो छोटो कपाल भएका ती व्यक्ति मिस्कट जातिका हुन सक्ने अनुमान गरिएको थियो ।
घटना भएको बेला उनले छोटोे बाहुला भएको कालो  सर्ट, अध्यारो रंगको हाफ पेन्ट,स्पोर्टस जुत्ता  लगाएका थिए । उनले हतियार पनि बोकेको हुन सक्ने शंका गरिएको थियो । प्रहरीले घटनास्थल पछाडि  इस्टर्न स्ट्रीट नजिकैको मुइ फङ स्ट्रीट भन्ने गल्लीमा रहेकोे सार्वजनिक शौचालय नजीक अरु प्रमाण जस्तै: रगत लतपतिएको कोट,मास्क र तावल भेटेका थिए ।

घटना भएको दिउसो परिवार जन मृतकलाई खानेकुरा चढाउदै
हङकङका पुर्व कार्यकारी प्रमुख सि वाइ ल्यङले सुराकीलाई तीन लाख इनाम दिने घोषणा यसरी गरेका थिए ।

उक्त शंकास्पद व्यक्ति नजिकैको होटेलमा पसेर निस्किएको देखिएको थियो । प्रहरीले उक्त होटेलको  छप्परमा एउटा ब्याकप्याक झोला फेला पारेको थियो जसभित्र रगतको दाग भएको मास्क र करिब २५ सेन्टिमिटर लामो किचेन नाइफ पनि थियो   जुन हत्यासंग संबंधित हुन सक्ने बिश्वास गरिएको थियो ।

प्रहरीले सार्वजनिक रूपमा सूचना जारी गरेर कसैले उक्त शंकास्पद व्यक्तिलाई देखेमा खबर गर्न भनेको थियो । मृतकको ठुलदिदीको भनाइ अनुसार मृतकले जिवित रहेको बेला  आफ्नो परिवारको साह्रै ख्याल गर्दथे र उनकै कमाईमा परिवार बाँचेका थिए । उनको एउटा ९ वर्षको छोरा , १३ र १८ वर्षका दुई छोरी थिए । उनको जेठी छोरी भर्खरै चाइनिज युनिभर्सिटी अफ हङकङमा भर्ना भएकी थिइन।

१३ अक्टोबर  २०२१ बुधबार

प्रहरीले खोज अनुसन्धानको क्रममा शंकास्पद हत्यारा म्याथिउ चोइ बेलायती आमा र हङकङ निवासी चाइनिज पिता मार्फत अफ्रीकामा जन्मिएको तथ्य पत्ता लगायो।

हत्याको अभियोगमा पक्राउ परेको स्थितिमा चोइ

टाइफुन कम्पोसा नम्बर ८ ले हङकङको दैनिकीलाई असहज बनाइदिएको दिन थियो । बुधबार दिउँसो लन्च टाइममा लाम्मा द्विप निवासी   ट्रेसी नाम गरेकी एक विदेशी महिला मान लुन  स्टोर अगाडि बसेर  उक्त संदिग्ध पुरुषसंग बियर पिउन थाल्छिन।
शुरुमा त उनले ती व्यक्ति को हुन भनेर ठम्याउन सकिनन। बियरको चुस्कीको साथमा निकै रोमान्टिक गफगाफ  पनि चल्यो उनीहरु बिच । ती पुरुष ” प्रेमिल र भद्र रूपमा ” प्रस्तुत भएका थिए  भन्छिन ट्रेसी ।

कुराको सिलसिलामा उनले आफ्नो भाइ पर्ने मान्छे यही द्विपमा दुई बच्चा सहित बस्ने कुरा उनले गरेका थिए ।

बियर खादाखाँदै आँधीबेहरी संगै मुसलधारे बर्षा शुरु भएपछि उनिहरु छुट्टीए।

साँझपख करिब ६:३० बजे तिर  फेरि ट्रेसी तेहि दोकानमा जाँदा  ती पुरुष पनि दोकान बाहिरको टेबुलमा  आएर बसेका   थिए । तर ती पुरुष पानीले निथ्रुक्कै हुनेगरी भिजेका थिए ।
” मैले त्यसपछि उनको अवस्थाबारे चासो देखाउदै  भने महासय ! तपाईं कस्तो मान्छे ! तपाई दिन भरी यही हुनुहुन्छ र पुरै भिजेको लुगामा हुनुहुन्छ … कस्तो अचम्म के? ” उनले साउथ चाइना मर्निङ पोस्टलाइ भनिन।

त्यसबेला उनले आफू बिहानबाट टाइफुनका कारण फसिएको बताए। ट्रेसीले उनलाई फेरि सेवा चल्न थाली सकेको छ भन्दै टाइम टेबल पनि दिए । भाइलाई कल गर्नु भन्दा भाइको फोन नम्बर छैन भन्दै टारे।

उसले परिवारसंग साइ यीङ पुनमा बस्छु भनेपछि ट्रेसी झसङ्ग भइन। ट्रेसिको दिमाग घुम्न थाल्यो। उनले अनुमान लाउन थालिन। ” अचानक मेरो दिमागमा बिहान समाचारमा केहि पढेको याद आयो । त्यसबेला मैले सोचेँ ओ माइ गड..के त्यो मान्छे उ नै हो त?” उनले भनिन।
त्यसपछि शौचालय जाने बहानामा उनी हतारहतार आफ्नो घर गइन । उनको घर एक मिनेट मै पुगिने त्यो दोकान कै पल्लो पट्टी थियो । त्यसपछि आफ्नो कम्प्युटर खोलेर अनलाइनमा फोटो हेरिन र उनलाई थाहा भो कि यो मानिस त्यही हत्यारा रहेछ भन्ने कुरा ।

लाम्मा द्विपको कार्गो बन्दरगाह तिर चोइलाइ म्यारिन पुलिसले लाँदै

त्यसपछि ट्रेसीले प्रहरीलाई खबर गरिन बेलुकी ७:१६ बजे  र तल गएर त्यो मानीसलाई रोक्नको लागि अर्को बियर किनेर दिइन। बियर खाँदै ४५ मिनेट जति गफमा भुलाएपछी प्रहरी देखा परेको थियो । र अन्ततः प्रहरी आएर उनलाई समातेर लग्यो ।

“मलाई डर लागेको थिएन । हामीले रमाइलोसंग गफगाफ गरेका थियौं । त्यसबेलाको सम्पूर्ण दृश्य देखेर मलाई दुख लागेको थियो ” उनले हङकङ फ्री प्रेसलाई  भनिन।

“प्रहरीहरु एकदम नम्र र शान्त देखिन्थे । चोइले पनि भाग्ने चेष्टा गरेन।उनको आइडी हेर्नको लागि मागे। पाँच मिनेट पछि भुइँमा घुडा टेक्न लगाए र त्यसपछि उनलाई हतकडी लगाए। त्यसपछि पो दंगा प्रहरीहरु शिल्ड बोकेर देखा परे।” ट्रेसिले थपिन।


सूचना प्रदान गर्ने महिलालाई  हङकङ डलर ३ लाख इनाम दिने घोषणा हङकङका पुर्व कार्यकारी प्रमुख सि वाइ ल्यङले गरेका थिए । संदिग्ध अपराधीले वेस्टर्न डिस्ट्रीकमा घटना घटाएपछी लुगा फेरेर फेरि ( पानीजहाज) मा चढी सोही दिन  लाम्मा द्विप तर्फ लागेको विश्वास गरिएको थियो ।

प्रहरीले युङ शु वान फेरि पियर एरियालाई घेराउ गरेर १३ अक्टोबर  बेलुकी ८:३६ बजे संदिग्ध व्यक्तिलाई लाम्मा आइल्याण्ड फेमिली वाकको गोरेटोमा पर्ने मान लुन स्टोरबाट  गिरफ्तार गर्‍यो । पक्राउ गरेको बेला उनले कुनै प्रतिरोध जनाएनन। गिरफ्तारीको बेला उनले रातो टिसर्ट लगाएका थिए ।

दंगा प्रहरी

प्रहरीले यस द्विप निवासी फुल टाइम शिक्षिका ट्रेसीबाट केहि समय अघि हत्यारा संग मिल्दोजुल्दो व्यक्ति स्टोर बाहिर बसेर बियर खाइरहेको रिपोर्ट प्राप्त गरेको थियो । र त्यो स्टोर ताइ वान सान चुन नजिक रहेको बताइएको थियो । तर उक्त स्टोर प्रहरी पुग्दा बन्द भैसकेको थियो ।

प्रहरी अधिकारीहरुले चोइलाइ पक्राउ गरेपछि म्यारिन पुलिस बोटमा हालेर छ्यङ चाउ पुलिस स्टेसन तर्फ लगेको थियो । उनलाई त्यहीँबाट म्यारिन प्रहरीले थुनामा राख्नको लागि साइ वान हो स्थित रिजनल हेडक्वार्टरमा लगेको थियो । पक्राउ परेको बेला उनको शरीरमा कुनै हतियार थिएन र उनको शरीरमा कुनै किसिमको घाचोट थिएन । गुप्तचरले नजिकैको घाँसमा फालिएको कालो प्लास्टिक झोलाभित्र छुरी हान्दा छेक्ने भेस्ट र ९ सेन्टिमिटर लामो पकेट छुरी फेला पारेको थियो ।

यी शंकास्पद हत्याराको म्याथिउ चोइ (Matthew Choi) नामको आफनै युट्युव च्यानल २०१४ सालमा खोलेको   पत्ता लागेको छ जसमा थुप्रै  भिडियोहरु अपलोड भएको देखिन्छ । उनले आफुलाइ हेरिओट वाट युनिभर्सिटी स्कटल्याण्ड युकेबाट स्नातक गरेको र एक सफ्टवेयर डिभलपर भएको  भनेका छ्न  भिडियोमा।

भिडियोमा उनी न्युजिल्यान्डबाट  आएका र अफ्रिकामा काम गरेको कुरा गरेका छ्न। अफ्रिकामा रहँदा यिनलाई स्थानीय चाइनिज अपराधिक गिरोहले खेदो गरेका थिए । साउथ अफ्रिकाको ब्रीजस्टोन कम्पनी सन २०१६ मा छोडेपछि भिटुके ( V2K- voice to skull) माइक्रोवेभ टेक्नोलोजीद्वारा उनिमाथि आक्रमण गरिएको   कुरा आफ्नो भिडियोमा गरेका छ्न। यो यस्तो टेक्नोलोजी हो जसले तपाईंको दिमाग वा मानसिकतामा आक्रमण गर्दछ र तपाईमा स्किजोफेर्निया, हलुसिनेसन, साइकोसिस  जस्ता  मानसिक रोगको लक्षण देखा पर्छ उनले दुई वर्ष अगाडि दिएको युट्युब वार्तामा भनेका छ्न। उनी तार्गेटेड इन्डिभिजुअलको सुचीमा परेका पीडित थिए । माइन्ड कन्ट्रोल गर्ने गिरोहले  उनलाई तीन वर्ष सम्म माइक्रोवेभबाट आक्रमण गरेर हैरान पारेको कुरा उनले गरेका छ्न । अन्ततः शत्रु लागेपछि उनको परिवार , पेशा , साथीभाइ आदि सबै डामाडोल भएपछि ऊनी हङकङ तिर भाग्न बाध्य भएको बताएका छ्न।

शंकास्पद हत्यारालाई बोटमा चढाउदै

अफ्रिकामा जन्मेका चोइ हङकङ आफ्नो अंकलसंग विङ फङ मेन्सन, १०७ सेकेन्ड स्ट्रीट, साइ यीङ पुनमा विगत ३,४ वर्ष देखि बस्तथे र उनको मातापिता हङकङमा थिएनन।
सन २०१९ साल अक्टोबरमा उनी आक्रमक हतियार ( २८ सिएम लामो किचेन नाएफ)  बोकेकोमा पक्राउ परेका थिए । त्यो वर्षको डिसेम्बरमा कसैलाई हानी गर्ने मनसायले उक्त हतियार बोकेको नभएकोले उनको रिहाई भएको थिए । त्यसबेला उनले मिडियालाई  आफू चाइनिज – ब्रीटिस मुलको , ब्रीटिस नेशनल स्टाटस भएको र हङकङ आइडी समेत भएको कुरा भनेका थिए । र कामको कारण केहि समयको लागि मात्र हङकङ बसेको कुरा गरेका थिए ।

१४ अक्टोबर २०२१

प्रहरी सुत्रले जनाए अनुसार संदिग्ध अपराधीले उक्त अपराध स्वतन्त्र ढंगले घटाएको हो। अपराधी र मृतक बीच कुनै चिनजान नभएको कुरा थाहा भएको छ। प्रहरीले उनको मानसिक पृष्ठभुमि पनि अध्ययन गरि रहेछ । कतै उनलाई अपराध घटाउन कसैले उकासेको पो थियो कि अध्ययन भैरहेछ। या त उनको साथमा मतियारको रूपमा अरु सह अपराधी पो सक्रिय थिए कि जसले उनलाई यो अपराध घटाउन उत्प्रेरित गरयो भन्ने विषयमा पनि अध्ययन भैरहेछ। अपराधीलाई समात्न जनसाधारणले विभिन्न किसिमको सूचना प्रदान गरेर सहयोग गरेकोमा प्रहरी बिभागले जनसमुदायलाई धन्यवाद दिएको थियो ।

१५ अक्टोबर २०२१

करिब ९ बजे तिर मृतकका आफन्तहरु शब पहिचान गरि सनाखत गर्नका लागि वेस्टर्न डिस्ट्रीक्ट स्थित भिक्टोरिया पब्लिक शब गृहमा गएका थिए । शोकाकुल परिवार जन एक घन्टा बसेर फर्किएका थिए ।

ट्याक्सीमा जडित ड्यास भिडियो  क्यामेराको फुटेज हेर्दा ट्याक्सी भित्र पसेको दस सेकेन्ड पछि हत्याराले चालक माथि छुरी प्रहार गरेको देखाएको छ। त्यसपछि पीडित आफ्नो घाँटीको चोटमा हात राखेर ट्याक्सी बाहिर अत्तलिदै निस्किएको छ। आक्रमणको प्रकृति हेर्दा   अपराधीले मान्छेको हत्या गर्ने पुर्व योजना नबनाएको भान हुन्छ। यो एउटा अकस्मात गरिएको जथाभावी आक्रमण जस्तो देखिएको छ।

सिसिटिभी अनुसार वारदात भएको रात होटेलबाट निस्के पछी उक्त संदिग्ध व्यक्तिले ट्याक्सी मगाउन चाहेको थियो । तर स्टाफले यस्तो राती ट्याक्सी पाउन मुस्किल छ भनेपछि उनी त्यहाँबाट हिडेका थिए ।  सडकमा गएर उनले एउटा ट्याक्सीलाई रोके र भित्र छिरे। त्यस पछी केहि क्षणमा नै यो घातक हत्याको घटना भयो।

अक्टोबर १५ तारीख प्रहरीले म्याथिउ चोइ विरुद्ध हत्याको अभियोगमा मुद्दा दर्ता गरयो। अक्टोबर १६ तारीख बिहान उनलाई क्वुन तङको मेजिस्ट्रेट अदालतमा दाखिला गरिने भएको थियो ।

१९ अक्टोबर २०२१ मंगलबार

मृतक ट्याक्सी ड्राइभरको परिवारको नाममा सहयोग संकलन

मृतक ट्याक्सी चालक -जसको नाम हो वाइ किम-हुङ – को परिवारको सहयोगार्थ उनी पहिला पढेको स्कुल द अलुम्नाइ एसोसिएसन अफ द शेक लेइ क्याथोलिक सेकन्डरी स्कुलले चन्दा उठाउने अभियान चालेको छ।

हत्या भएको ट्याक्सी र चालकको तस्वीर

एसोसिएसनले १८ अक्टोबर आइतबार दिएको जानकारी अनुसार तीन शुइ वाइ निवासी वाइ किम- हुङ सन १९८७ मा उक्त स्कुलमा भर्ना भएका थिए ।
वाइ एक जिम्मेवार पिता र पति साथै उनैको कमाईको भरमा परिवारको गुजारा चलेको थियो तर उनको रिक्तताले अहिले परिवार दुख र अभावमा जानुपरेको छ। त्यसैले यो दुर्भाग्यपूर्ण अवस्थामा सहयोग उठाउनु परेको एसोसिएसनले बताएको छ।

इच्छुकले यही अक्टोबर ३१ भित्र गुगल फारम भरेर सहयोग गर्न सक्छ भनिएको छ। र सम्पूर्ण रकम सोझै  वाइ परिवारमा जाने जनाइएको छ।

२५ अक्टोबर २०२१

ट्याक्सी चालकको नाममा करिब हङकङ डलर ४ लाख संकलित

हङकङ ट्याक्सी एन्ड पब्लिक लाइट बस एसोसिएसनले जनाए अनुसार मृतक ट्याक्सी चालक वाइ किम- हुङ को परिवारको लागि हङकङ डलर ४ लाख भन्दा बढी सहयोग उठेको छ।

उक्त संकलित रकम अक्टोबर २६ तारीख मंगलबार चालकको परिवारलाई हस्तान्तरण गर्ने कुरा एसोसिएसनले भनेको थियो ।

डिसेम्बर सम्मको लागि मुद्दा स्थगन

२९ अक्टोबर २०२१


हिरासतमा रहेका म्याथिउ चोइको मुद्दालाई पुन अदालतले डिसेम्बर सम्मको लागि स्थगन गरेको छ।
बादी पक्षले मानसिक रूपमा चोइ सुनवाइको लागि तयार भएको जनाएको थियो तर प्रहरीलाई अनुसन्धान गर्न थप समय चाहिने भएकोले मुद्दा २४ डिसेम्बर सम्मको लागि स्थगन भएको हो।

कठघरामा उभिएका चोइ शान्त मुद्रामा देखिन्थे । यस पटक पनि उनले जमानतको लागि निवेदन दिएनन। तर उनको वकिलले चोइलाइ सिउ लाम साइकाट्रीक सेन्टरबाट नर्मल बन्दी गृहमा सार्न अदालतलाई अनुरोध गरेका थिए जसले गर्दा आफ्नो परिवारलाई भेटघाट सजिलो होस।
तर न्यायाधीश डानियल ताङले यो सामान्य बन्दी गृहमा सार्ने दायित्व अदालतको कार्य क्षेत्र भित्र पर्दैन । यो काम करेक्सनल सर्भिशेष डिपार्टमेन्टको हो भनेका थिए ।

तपाईको प्रतिक्रिया