नेपाली कवितामा पछिल्लो पुस्तामा आशालाग्दो रुपमा लेखीरहेकी एक आशालाग्दो कवि हुन सेन्छे  एवाई राई । आफ्नो कवितामा राईले असमानता, अन्याय ,सुक्ष्म विद्रोह र नश्लको बिषयमा जिकीर गरिरहेको हुन्छ । प्रस्तुत छ साताको तीन कविता

मालिकको जुत्ता

मालिकको जुत्ता पोतिरहदा
मेरो मनमा अनेक कुरा खेलिन्छन
र म एकैछिन सोचमग्न हुन्छु

किन मान्छेको सोचाई
जुत्ताको जत्ती पनि स्तरीय हुँदैन ?

मेरो मालिकको जस्तो दामी जुत्ता
अरु कसैले पनि लाउन पाउँदैन
मालिकले जस्तो टिलिक्क टल्काएर
अरु कसैले पनि लाउन जान्दैन
सधैं टिलिक्क टल्कने जुत्तालाई
एक दिन
मैले त्यसैगरी टल्काउन नसक्दा

म माथी कोर्रा मार्छन मालिक साहब

तै पनि
म सहिरहन्छु
मालिकको हिलाम्मे जुत्तालाई कहिले घिन मानिन
जुत्तालाई हातले समाएर
काखमा अड्याउँदै
केस्रा केस्रा बनाएर सफा गरिरहेँ

मालिकले टेकेर ल्याएको सर्वसाधारणको रगत
मालिकले टेकेर ल्याएको मजदुरको पसीना
मालिकले टेकेर ल्याएको तरुनीको यौवन
र मालिकले सधैं टेकिरहेको आफ्नै मर्यादा
मैले कालो पालिसले छोपिदिएपछी
एक टक मुसुक्क मुस्कुराउछन मालिक

म अबुझ बन्छु
सोधिन मालिक किन मुस्कुराउनु भो ?
र,
मालिक लाई किन मन पर्दैन
आफ्नै जुत्तामा टाँसिएको छिरबिरे दाग

जुत्ता फुकालेपछी
त्यस भन्दा धेरै टाढा सरेर बस्नुहुन्छ
ताकी नसोधोस कसैले
जुत्तामा केको दाग लाग्यो मालिक ?
कसैलाई थाहा हुदैन मालिकको जुत्ताको छिरबिरे दाग

ओहो
कत्ती इमानी मालिकको जुत्ता

आफू फोहोरी भएर पनि
मेरो मालिकलाई जोगाइरहन्छ
र त आज सम्म बाँचिरहेछ मालिकको
इमान, इज्जत र प्रतिष्ठा

मालिकको जुत्ता टल्काउदा टल्काउदै
अब त जुत्ता नै ठम्याउन नसक्नेगरी
मेरो आँखा कुनै ओडार झैं पर गाडिसके
मैले झारेको जुत्ताको दाग
मै माथी टासिएर
हात खुट्टा खक्रक पारिसके आफुलाई नै बिर्सने गरि
चाउरिएछ मेरो अनुहार

तर,
मालिक त अझै पनि उस्तै झर झर जवानै देख्छु

आहा !
मालिक जस्तै टल्कने जुत्ता
मालिक सङ्ग सङ्गै महलभित्र पस्न पाउँछ
जहाँ त्यो जुत्ता टल्काउने
म कहिले पस्न पाइन र पाउँदिन

तर,
अब साबधान रहनुहोस मालिक साहब
मलाई बर्षौ पछि आज
हजुरको जुत्ताको छिरबिरे दागको झटारोले
हजुरकै अनुहारमा हान्ने ठूलो इच्छा जागेर आएको छ ।

रङ्गहिन

खै किन हो
ती रङ्गहरु रङ्गिन लागेन मलाई
या भनौं रङ्गहरुको उत्सव पटक्कै मन परेन
बरु बदलामा
ती रङ्गहरुले मलाई बिरङ्ग पो बनाईदियो

महसुस गर्छु
किन माहौल मरुभूमि झैं लागिरहेछ
किन उत्सव फिक्का लागिरहेछ
किन सबै रङ्गहरु रङ्गहिन देखिरहेछु

सायद
प्रमाणित गर्न अर्धचेत मेरा आँखाहरु दगुर्दा दगुर्दै
यस्तो परिदृष्य सामुन्ने ठोकिएर रोकिन पुग्छ
जुन दृश्य सामु म
ठिङ्ग उभिएर चिच्याउन सिवाय कुनै बिकल्प नै रहदैन
चिच्याएँ चिच्याइरहे
तर मेरो चिच्याहटबाट
न त त्यो आतङककारी बन्दुक नै रोकिन्छ
न त त्यो कुर गोलि नै छेकिन्छ
बरु मेरो चिच्याहटले
म आफैलाई लखेटिरह्यो

देखिरहेछु
तरक ताङ्साङ नै लछारपछार हुने गरि
इक्सा-खाम्बेक उथलपुथल भैरहेछ

हेर्दा हेर्दै
कति बुवा आमाहरु
कति छोराछोरीहरु
कति आफन्त इष्टमित्र
रात्ताम्मे रगतमा परिणत भैरहेछन

अझ घातक त
तिनै बुवा-आमाको एउटै रचना
जो सुन्दर संसार संरचना गर्न
जन्मनुअघि नै
त्यो बारुदको धुवाँ संगसंगै
एकाएक बिलिन भैरहेका निर्दोष शिशुहरु


त्यो निर्दोष आत्माले
मलाई अनगिन्ती निमोटेपछी
आक्रोशित मुद्रामा यसरी खडा हुन्छु कि
सधैं,
विश्व शान्ती र मानव एकताको झन्डा फर्फराउदै
नारा लाउने मेरा हातहरुले
ती आतंककारी बन्दुक विरुद्ध
तोङ-लि र फेजा फर्फराउन बाध्य भएकोछु

एकातिर मानिसहरु हर्ष उल्लासका साथ
रङ्गिचङ्गी रङ्गहरुले गङ्गिरहदा
अर्को तिर शिरीयाली नागरिकहरु
आफ्नो रगतको रङ्गहरुले रङ्गिरहदा
ती थरी थरी रङ्गहरु सामुन्ने
मेरो फगत नजर रमिते हुन विवश भैरहदा
यस्तै यस्तै मात्र न भन्न सक्दो हुँ ।

बुबा

बुबा तिमी सहिद भएदेखी
आमाको रङ्ग बिरङ्ग भएकोछ
भोकमा डुबेकाछन कैयौं मानिसहरु
शोकमा डुबेकोछ गाउँघर

बज्न छाडेका छन च्याभ्रुङ्ग भाकाहरु
बिनायो र मुर्चुङ्गाले भाका नटिपेपछी
हाक्पारे, ख्याली,सेल्लो र हियारिछाम गाउन बिर्सीएपछि
झुकेको छ कारबारी बुबाको शिर
बिलिन हुनै लागेको छ आदिम सभ्यता
लोप हुनै लागेको छ हाम्रो भाषा लिपि

अब मात्र झुक्न बाँकी रह्यो नालिफुङ्वाँका शिरहरु
के हजुरको अनुपस्थितीसगैँ
हाम्रो सँस्कार सँस्कृती, परम्पराको उपस्थिती रहदैन त ?
अँ,,,,हँ,,,
इतिहासले तिमीलाई बिउताउँनेछ

हिडेका थियौ कुरिती र कुसँस्कारलाई हटाउन
असभ्यलाई सभ्यतातर्फ बढाउन
अनेकतालाई एकतामा बाँध्न

हिजो तिम्रो बोलिमाथी गोली चलाउनेहरु
आज आफै माथि गोली चलाउन बाध्य छन
भाषा, लिपि र सभ्यताको कुरा गर्दा
तिम्रो कुरा माथी छुरा चलाउनेहरु
आज आफ्नै मुटुमा छुरा चलाउन बाध्य छन
र तिमीलाई हत्या गर्ने हत्याराहरु
आज आत्माहत्या गर्न बाध्य भएका छन

म सानो छँदा
मेरो हात समाएर तिमीले नै लेख्न सिकाएका थियौ
अ आ र क ख
हो म स्मरण गर्छु
त्यो अक्षर लेखिनुको कारण
आफ्नो भाषा लिपिको संरक्षण गर्नु रैछ
अनि ,
छाती फुलाएर म किराँती हुँ भनी गर्व गर्नु रैछ

हिजो तिमीलाई नबुझ्नेहरुले
आज तिम्रो सिद्धान्त र महत्वलाई बुझेकोछ
सजाईएको तिम्रो तस्बिरमा
फुलमालाका गुच्छा पहिर्याउदै
सदा सदाको लागि अजर र अमर मानेको छ
अरुलाई बुझाउन सकिन्छ है भन्ने तिम्रो शब्दहरुले
आज सार्थकता पाएको छ
बुबा,
म हजुरका यी वाक्यहरुलाई जीवनभर सम्झरहने छु ।

तपाईको प्रतिक्रिया